गण्डकी सरकार धरमर- समाचार - कान्तिपुर समाचार

गण्डकी सरकार धरमर

राजमोले साथ दिने भएपछि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव ल्याउँदै
लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना बढेको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।


सरकार फेरबदलका लागि निर्णायक रहेको राजमोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेलगत्तै कांग्रेस, माओवादी केन्द्र र जसपाले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । राजमोका सांसदले केन्द्रबाट कुनै निर्देशन नआएको भन्दै निर्णय नदिँदा नयाँ सरकार निर्माणका लागि तीन दल अघि बढ्न सकेका थिएनन् । राजमो अध्यक्ष चित्रबहादुर केसीले बुधबार अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टीहरू अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् ।

प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ । तर सकभर सबैको हस्ताक्षर भए राम्रो हुने भन्दै सांसदलाई बोलाइएको छ । ‘भोलि (बिहीबार) मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने गरी छलफल चलाएका छौं । सांसदलाई बोलाएका छौं,’ कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले भने । त्यसअघि सर्वदलीय बैठक बस्ने तयारीमा दलहरू छन् । केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएकाले उनीविरुद्ध आउने अविश्वास प्रस्तावको समर्थन गर्ने बताए ।

गण्डकीमा मुख्यमन्त्री कांग्रेसलाई दिने तयारी छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार छलफल भएर टुंगिएको जनाइएको छ ।

माओवादी केन्द्र संसदीय दल नेता हरिबहादुर चुमानले भने, ‘कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छौं ।’ कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली हुन् ।

६० सदस्यीय प्रदेशसभामा तीन जना राजमोका छन् । अविश्वास प्रस्तावमा समर्थन गरे पनि सरकारमा नजाने राजमोले जनाएको छ । ‘दलहरूसँग छलफल गरिन्छ तर मुख्यमन्त्री, मन्त्री को बन्ने हाम्रो सरोकारको विषय होइन,’ राजमो संसदीय दलका नेता कृष्ण थापाले भने, ‘अहिलेको सरकारलाई समर्थन दिए पनि प्रतिपक्षकै सिटमा बसेका थियौं । अब पनि त्यही हुन्छ ।’ राजमो निर्णायक रहेकाले उसलाई सरकारमा ल्याउन मुख्यमन्त्री गुरुङले निकै कसरत गर्दै आएका थिए ।

माओवादी केन्द्र चैत २५ मा सत्ताबाट बाहिरिएपछि सरकार गिराउने र जोगाउने खेल सुरु भएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङले अहिलेकै सरकारलाई समर्थन गरिरहेको भए पनि विपक्षीले उनी आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

वाग्मती प्रदेशसभा बैठक आह्वान

मकवानपुर– प्रतिपक्षी दलहरूले अवरोध गर्दै आएको वाग्मती प्रदेशसभाको बैठक बिहीबार बस्दै छ । सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै लगातार संसद् अवरुद्ध गरिरहेको छ । माओवादीको मागमा कांग्रेस, विवेकशील साझा तथा अन्य दलको समेत सहमति छ ।

प्रकाशित : वैशाख २, २०७८ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ । मुलुकमै पहिलो पटक कोरोनाको डबल म्युटेन्ट भेरएन्ट भेटिएको हो ।

ललितपुरबाट संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ भेरिएन्टको अवस्थाका बारेमा जानकारी दिँदै निर्देशक पौडेलले भने, ‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरियन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ । पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ ।’

एउटै भाइरस परिवर्तन भएर दुई प्रकारको स्वरूप देखिनुलाई डबल म्युटेन्ट भेरिएन्ट भएको भनिन्छ ।तीव्र गतिले फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिको जोखिममा पछिल्लो समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए । तिनै बालबालिकाबाट अभिभावक र समुदायमा संक्रमण सार्न सक्ने जोखिम पनि देखिएको छ ।

निर्देशक पौडेलका अनुसार एसजिन नेगेटिभ भएका १० र एसजिन पोजिटिभ भएका ५ वटा नमुनाको जिनोम सिक्वेन्सिङका लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त प्रयोगशालामा पठाइएको बताए । तीमध्ये २१ देखि ५९ वर्ष उमेर समूहका ९ जनामा यूके भेरिएन्ट (बी.१.१.७) देखिएको पौडेलले जनाकारी दिए । ती ९ जनामध्ये कास्कीका २ जना, काठमाडौंका ४ जना, भक्तपुरमा २ जना र नुवाकोटका १ जना छन् । त्यस्तै दार्चुलाबाट संकलन गरिएको एउटा नमुनामा भने ‘भेरिएन्ट अफ नन कन्सर्न’ देखिएको उनले बताए ।

नयाँ भेरिएन्ट देखिएका संक्रमितको विवरणका अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको पनि निर्देशक पौडेलले बताए । उनका अनुसार हङकङ पठाइएका नमुनामा अहिलेसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) को भेरिएन्ट भने पाइएको छैन ।

काठमाडौंमा संकलित ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट पाइएको पनि निर्देशक पौडेलले जानकारी दिएका छन् । यूके भेरिएन्ट देखिनेमा ४ वर्षमुनिका २ जना, ५–९ वर्षका १ जना, १०–१४ वर्षका ३ र १६–१९ वर्षका ४ जना छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको जनाए । उनका अनुसार सोही अवधिमा एन्टिजेन विधिबाट गरिएको ४ सय ५१ परीक्षणमा २३ जना संक्रमित देखिएका छन् । पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणबाट २४ घण्टामा ६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : वैशाख १, २०७८ २३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×