३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गण्डकी सरकार धरमर

राजमोले साथ दिने भएपछि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव ल्याउँदै
लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना बढेको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

गण्डकी सरकार धरमर

सरकार फेरबदलका लागि निर्णायक रहेको राजमोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेलगत्तै कांग्रेस, माओवादी केन्द्र र जसपाले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । राजमोका सांसदले केन्द्रबाट कुनै निर्देशन नआएको भन्दै निर्णय नदिँदा नयाँ सरकार निर्माणका लागि तीन दल अघि बढ्न सकेका थिएनन् । राजमो अध्यक्ष चित्रबहादुर केसीले बुधबार अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टीहरू अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् ।

प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ । तर सकभर सबैको हस्ताक्षर भए राम्रो हुने भन्दै सांसदलाई बोलाइएको छ । ‘भोलि (बिहीबार) मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने गरी छलफल चलाएका छौं । सांसदलाई बोलाएका छौं,’ कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले भने । त्यसअघि सर्वदलीय बैठक बस्ने तयारीमा दलहरू छन् । केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएकाले उनीविरुद्ध आउने अविश्वास प्रस्तावको समर्थन गर्ने बताए ।

गण्डकीमा मुख्यमन्त्री कांग्रेसलाई दिने तयारी छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार छलफल भएर टुंगिएको जनाइएको छ ।

माओवादी केन्द्र संसदीय दल नेता हरिबहादुर चुमानले भने, ‘कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छौं ।’ कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली हुन् ।

६० सदस्यीय प्रदेशसभामा तीन जना राजमोका छन् । अविश्वास प्रस्तावमा समर्थन गरे पनि सरकारमा नजाने राजमोले जनाएको छ । ‘दलहरूसँग छलफल गरिन्छ तर मुख्यमन्त्री, मन्त्री को बन्ने हाम्रो सरोकारको विषय होइन,’ राजमो संसदीय दलका नेता कृष्ण थापाले भने, ‘अहिलेको सरकारलाई समर्थन दिए पनि प्रतिपक्षकै सिटमा बसेका थियौं । अब पनि त्यही हुन्छ ।’ राजमो निर्णायक रहेकाले उसलाई सरकारमा ल्याउन मुख्यमन्त्री गुरुङले निकै कसरत गर्दै आएका थिए ।

माओवादी केन्द्र चैत २५ मा सत्ताबाट बाहिरिएपछि सरकार गिराउने र जोगाउने खेल सुरु भएको हो । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङले अहिलेकै सरकारलाई समर्थन गरिरहेको भए पनि विपक्षीले उनी आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

वाग्मती प्रदेशसभा बैठक आह्वान

मकवानपुर– प्रतिपक्षी दलहरूले अवरोध गर्दै आएको वाग्मती प्रदेशसभाको बैठक बिहीबार बस्दै छ । सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै लगातार संसद् अवरुद्ध गरिरहेको छ । माओवादीको मागमा कांग्रेस, विवेकशील साझा तथा अन्य दलको समेत सहमति छ ।

प्रकाशित : वैशाख २, २०७८ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?