कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यभार सम्हालेको ९ महिनापछि राजदूत पाण्डेले राष्ट्रपति सीसमक्ष बुझाए ओहदाको प्रमाणपत्र

लक्ष्मी लम्साल

बेइजिङ — कार्यभार सम्हालेको ९ महिनापछि बुधबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्। बेइजिङको थ्यानमनस्थित ग्रेट हल अफ द पिपुल्समा आयोजित एक समारोहका बीच पाण्डेले राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।

कार्यभार सम्हालेको ९ महिनापछि राजदूत पाण्डेले राष्ट्रपति सीसमक्ष बुझाए ओहदाको प्रमाणपत्र

प्रमाणपत्र पेस गरेपछि संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीप्रति शुभेच्छा प्रकट गरेका थिए । राजदूत पाण्डेले राष्ट्रपतिको शुभकामना सन्देश सुनाएपछि सीले जवाफमा भने, ‘मेरो शुभेच्छा पनि राष्ट्रपति भण्डारीसमक्ष पुर्‍याइदिनुहोला।’

चीनमा सामान्यतया वर्षको ३ पटक विभिन्न देशका राजदूतहरूले ओहदाको प्रमाणपत्र बुझाउने प्रचलन छ। कोभिड-१९ का कारण यसपटक एक वर्षदेखिका राजदूतहरू ओहदाको प्रमाणपत्र बुझाउने प्रतीक्षामा थिए। राजदूतहरूको संख्या धेरै भएकाले बोल्नका लागि निकै छोटो समय छुट्याइएको राजदूत पाण्डेले बताए ।

एकैदिन ३१ जना राजदूतहरूको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले सामूहिक सम्बोधन गर्दै चीनले कोभिड महामारी नियन्त्रणमा सफलता हासिल गरेको बताए। उनले विकासोन्मुख मुलुकलाई अझ ठूलो सहयोग गर्ने र महामार विरुद्ध विश्व नै मिलेर सामना गर्नुपर्ने बताए। उनले भने, ‘चीनले कोभिड नियन्त्रण गरिसकेको छ। म्यानमारको सीमा क्षेत्रमा केही मात्रामा देखिए पनि त्यो चीनबाट नभएर अन्यत्रबाट आएको हो । महामारीविरुद्ध सामूहिक हातेमालो गर्नुपर्छ।’

राजदूत पाण्डेका अनुसार चिनियाँ राष्ट्रपति सीले आउँदै गरेको हिउँदे ओलम्पिकको राम्रो तयारी भइरहेको जनाउँदै यसको सफलताका लागि सहयोग गर्न राजदूतहरूसमक्ष अनुरोध गरे। त्यस्तै बेइजिङमा रहने राजदूतहरूसमक्ष आपसी सम्बन्ध सुमधुर बनाउने दिशामा भूमिका खेल्न पनि सीले आग्रह गरेको राजदूत पाण्डेले कान्तिपुरलाई बताए।

गत वर्ष असार अन्त्यतिर पाण्डेले बाधा अड्काउ फुकाउका लागि चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल कार्यालयमा ओहोदाको प्रमाणपत्र बुझाएर कार्यारम्भ गरेका थिए। निकै लामो समय पर्खनुपर्नेमा अफगानिस्तानका राजदूत परेका छन् ।

२०१९ को नोभेम्बरमा बेइजिङ आएका उनले झण्डै १७ महिनापछि मात्रै ओहदाको प्रमाणपत्र बुझाउने अवसर पाए। नेपाली राजदूतका हकमा यति ढिलो प्रमाणपत्र बुझाउनेमा पाण्ड नै सम्भवतः पहिलो राजदूत हुन् । थाती रहेका राजदूतहरूको संख्या धेरै भएकाले करिब ४ दिनसम्म लगातार कार्यक्रम गरेर सी चिनफिङले राजदूतहरूको ओहदाको प्रमाणपत्र बुझेका छन्।

प्रकाशित : वैशाख १, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?