२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मुकेश कायस्थलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान

नगेन्द्र अधिकारी

काभ्रे — जनआन्दोलन-२ का घाइते मुकेश कायस्थलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरिएको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले ‘जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै’ ‘जिउँदो सहिद’का नामले चिनिएका उनलाई सम्मान गरेको छ ।

मुकेश कायस्थलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान

भौतिक रुपमा उपस्थित हुन उनको शारीरिक र स्वास्थ्य अवस्थाले सम्भव नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्बोधन गरेको कार्यक्रममा उनलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो । आयोजकको तर्फबाट काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले कायस्थको घरमा उपस्थित भएर प्रशंसापत्र र दोसल्ला हस्तान्तरण गरेका थिए ।

दोस्रो जनआन्दोलनको क्रममा २०६२ चैत ७ गते कञ्चटमा गोली लागेर घाइते भएका मुकेश ५ हजार ४ सय ८० दिनदेखि अर्धचेत अवस्थामा छन् । निरन्तरको स्याहारसुसार र उपचारपछि देब्रे हात चलाउने, मा (आमा) भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए । झोल कुरा खुवाउनका लागि पेटमा प्वाल पारिएको भए पनि केही दिनदेखि त्यो पनि अवरुद्ध भएको छ ।

११ महिना वीर अस्पताल, ५ महिना न्यूरो अस्पताल, अन्नपूर्ण अस्पतालमा उपचार पछि ५ महिना अनामनगरमा स्पर्श थेरापी पनि गरिएको छ । उनको उपचारमा संलग्न डा. उपेन्द्र देवकोटा र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए ।

प्रशंसापत्र प्रदान गर्न आएका प्रमुख जिल्ला अधिकारी पोखरेललगायतका अतिथिलाई आमा मिराले राज्यले निर्णय गरेका सुविधा पनि दुई वर्षदेखि रोकिएको गुनासो गर्दै पहल गरिदिन अनुरोध गरिन् । ‘राज्यले दिएको सेवा सुविधाबाट हामी सन्तुष्ट नै छौं, भुक्तानीका लागि हुने झञ्झट अर्कै छ,’ मिराले भनिन्, ‘नर्सको लागि छुट्टिएको बजेट २ वर्षदेखि भुक्तानी भएको छैन, लोकतन्त्रको लागि योगदान दिएकालाई दिइएको सुविधा लिन त्यति झञ्झट हुँदा बेवास्ता गरेको महसुस हुने रहेछ ।’

स्वास्थ्य मन्त्रालयबाट जिल्ला स्वास्थ्य कार्यालयमार्फत भुक्तानी हुँदै आएको रकम संघीय संरचनापछि नगरपालिकाबाट हुँदै आएकोमा २ वर्षदेखि रोकिएको छ । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको छ ।

१६ वर्षदेखि निरन्तर छोराको स्याहारसुसारमा खटिएकी आमा मिरा मुकेशजस्ता जनआन्दोलनका घाइतेहरुका लागि राज्यले एउटा पुन:स्थापना केन्द्र बनाइदिओस् भन्ने आग्रह गर्छिन् । ‘अहिले त हामीले स्याहारसुसार गर्दै आएका छौँ, हाम्रो शेषपछि पनि मुकेशजस्ता जनआन्दोलनका घाइतेको स्याहारसुसार गर्न एउटा पुन:स्थापना केन्द्र बनाइदिए सहज हुन्थ्यो,’ मिराले भनिन् ।

प्रकाशित : वैशाख १, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?