प्यूठान जिप दुर्घटना [अपडेट] : ५ जनाको मृत्यु, ९ घाइते

घनश्याम गौतम

बुटवल — प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।

प्यूठान जिप दुर्घटना [अपडेट] : ५ जनाको मृत्यु, ९ घाइते

दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिङ्ग्री प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बुद्धि रानाले बताए ।

रानाका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासनकै खरिदार यमलाल पन्थी र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।

नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।

घटनामा ९ जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

घटनालगत्तै गुल्मीका प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलतर्फ जाँदै छ । जिपमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र उनीहरुको परिवार स्वर्गद्वारी दर्शनका लागि गएको जानकारी आएको प्रजिअ शर्माले बताइन् ।

प्रकाशित : वैशाख १, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?