कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खडेरीले भोकमरीको जोखिम

मुगुमा कात्तिकदेखि वर्षा भएको छैन । खडेरीका कारण किसानले आलु लगाउन पाएका छैनन् । अधिकांश बारी बाँझिन थालेको छ ।

मुगु/जाजरकोट — खडेरीले बाली सुकेपछि सोरु गाउँपालिका–४ फोतुका ४७ वर्षीय नन्दवीर नेपालीलाई ७ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।

खडेरीले भोकमरीको जोखिम

गत कात्तिकमा झन्डै ८ रोपनी जग्गामा लगाएको गहुँ र जौ सुकेपछि उनी चिन्तित छन् । छायानाथरारा नगरपालिका–१० रुगाका धनजीत लावडले लगाएको ९ रोपनी जग्गाको बाली पनि खडेरीले सखाप भएको छ । खडेरीका कारण बाली सुकेपछि दुवै भारतमा मजदुरी गर्न जाने मनस्थितिमा पुगेका छन् ।

मुगुमा कात्तिकदेखि वर्षा भएको छैन । वर्षा नहुँदा सोरुको भीई, नार्थपु, जिमा, सोरुकोट, पुरुमुरु, फोतु, नेर, छायानाथरारा नगरपालिकाको रोवा, पिना, कार्कीबाडा, श्रीनगर, रुगा, थार्पलगायत गाउँका बासिन्दालाई जीविकोपार्जनको चिन्ताले सताएको हो । ‘यहाँ बसेर परिवार पाल्न समस्या भयो,’ नेपालीले भने, ‘भारत जानुको विकल्पै छैन ।’ उनका अनुसार गत वर्षसम्म बारीको अन्नले उनको परिवारमा झन्डै ५ महिनाको खाद्यान्नको जोहो हुन्थ्यो ।

खडेरीका कारण वनपाखा र पानीको मुहान पनि सुक्दै गएको लावडले बताए । ‘अन्न नउब्जिए कसरी परिवार पाल्ने ?’ उनले भने, ‘स्याउमा पनि खडेरीले ठूलो असर परेको छ ।’ सोरु र मुगमकार्मारोङ गाउँपालिकाका अधिकांश गाउँमा सिँचाइ सुविधा छैन । विगत वर्षमा आलु रोप्ने किसानले खडेरीका कारण यो वर्ष आलु पनि लगाएका छैनन् । खडेरीका कारण अधिकांश बारी बाँझो हुन थालेको उनको भनाइ छ ।

गाउँमा रोगभन्दा भोकको चिन्ताले बढी सताएको सोरु–४ का मागे कामीले बताए । ‘रोग फैलिए जडीबुटी घोटेर बाँचौंला,’ उनले भने, ‘भोक कसरी सहने ?’ सोरुको झन्डै ८५ प्रतिशत जग्गाको बाली खडेरीले सुकेको गाउँपालिकाको कृषि शाखा प्रमुख तेजविक्रम मल्लले बताए । ‘जौ र गहुँ सबै सुक्यो,’ उनले भने, ‘उत्पादन नै शून्य हुने जोखिम छ ।’ उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये खडेरीको प्रभाव सबैभन्दा बढी सोरुमा देखिएको छ । खाद्य व्यवस्था व्यापार तथा कम्पनी लिमिटेडले सोरुका लागि यो वर्ष २ हजार क्विन्टल खाद्यान्न कोटा स्वीकृत गरे पनि अपुग हुने देखिएको उनले बताए ।

१० हजार हेक्टर जमिन बाँझो

लामो खडेरीका कारण जाजरकोटका अधिकांश गाउँमा हिउँदे बाली सुकेको छ । वर्षा नहुँदा यस वर्ष किसानले झन्डै १० हजार हेक्टर जग्गा बाँझो राखेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आठ महिनादेखि पानी नपर्दा चना, मसुरोलगायत दलहन र गहुँ–जौलगायत अन्न बाली सुकेको हो । तरकारी र फलफूलमा पनि खडेरीले ठूलो असर पारेको कृषि प्राविधिकको भनाइ छ ।

गत भदौदेखि पानी नपर्दा पाखोबारीमा लगाएको गहुँलगायत बालीको उत्पादन शून्यझैं भएको कुशे गाउँपालिका–९ मेलबिसाउनाका शिवराज गिरीले बताए । ‘खडेरीले जलेर सबै बाली माटोमै मिसियो,’ उनले भने, ‘बीउसमेत ननिस्किँदा परिवार पाल्न समस्या भएको छ ।’ खडेरीका कारण मुहान तथा खोला सुक्दा धानखेतीका लागि ब्याड राख्न र मकै छर्न नपाएको उनको गुनासो छ । पानीको अभावमा धानको बीउ उत्पादनका लागि ब्याड तयार गर्न समस्या भएको अर्का किसान कमलबहादुर खत्रीले बताए । ‘खोलामा पानी छैन, आकाशबाट वर्षा हुँदैन,’ उनले भने, ‘यस्तै अवस्था रहे खेतबारी बाँझो रहने देखियो ।’ खडेरीले भेरी नगरपालिका–१३ कुदुको सयौं रोपनी फाँटमा गहुँ, मसुरो र चना खेतीलगायतको उत्पादन झन्डै ८० प्रतिशतले घटेको स्थानीय दीपेन्द्र रोकायले बताए । उनका अनुसार सिँचाइको अन्य विकल्प नहुँदा आकाशे पानीको भरमा कुदु फाँटमा बाली लगाइएको थियो । खडेरीका कारण पुन्मा, भुर, सीमा, साल्मा, पैंक, पजारु, गर्खाकोट, मजकोट, सुवानाउली, दशेरा, खगेनकोट, रग्दा, भगवती, थालारैकर, जुगाथापाचौर, ढिमे, बारेकोटलगायत ठाउँमा हिउँदे बालीबाट बीउसमेत उत्पादन हुन नसकेको किसानले गुनासो गरेका छन् ।

खडेरीले जिल्लाभरि खाद्य असुरक्षा बढेको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार लामो खडेरीले हिउँदे बालीको उत्पादन ७० देखि ९० प्रतिशतले घटेको अनुमान छ । गत वर्ष १३ हजार हेक्टर जमिनबाट करिब २५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयको तथ्यांक छ । यो वर्ष करिब ६ हजार मेट्रिक टन मात्र गहुँ बाली उत्पादन भएको छ । ‘उत्पादनको तथ्यांक संकलन गर्न गाउँ–गाउँमा प्राविधिक खटाएका छौं,’ उनले भने, ‘यो वर्ष हालसम्मकै न्यून उत्पादन भएको हाम्रो अनुमान छ ।’

जाजरकोटमा २५ हजार हेक्टर खेतीयोग्य जमिन छ । सिँचाइ सुविधा नहुँदा यो वर्ष करिब १० हजार हेक्टर बाँझो रहेको अधिकारीले बताए । उनका अनुसार १५ हजार हेक्टर जमिनमा मात्र यो वर्ष हिउँदे बाली लगाइएको थियो । जिल्लामा ३ हजार हेक्टरमा बाह्रै महिना र २ हजारमा आंशिक सिँचाइ सुविधा रहेको कार्यालयको तथ्यांक छ । ‘खडेरीकै कारण तरकारी, फलफूल र अन्न बालीमा रोग–कीराको प्रकोप देखियो,’ उनले भने, ‘यो वर्ष फलफूलको उत्पादन पनि झन्डै आधा घट्ने देखियो ।’

मुगु कर्णालीमा घट्यो पानी

मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीका मदन तामाङ आजभोलि मुगुको कर्णाली नदी तरेरै वारपार गर्छन् । नदीको सतह घटेका कारण उनले यो वर्ष सहजै कर्णाली नदी तर्न पाए । पर्याप्त हिमपात र वर्षा नहुँदा मुगु कर्णाली नदी झन्डै एक तिहाइले घटेको स्थानीयको अनुमान छ । पुल तर्न जाँदा बाटो घुमाउरो हुने गरेकाले माग्रीसहित आसपासका गाउँका बासिन्दाले नदी तरेरै वारपार गर्ने गरेका हुन् । पशुचौपायालाई कर्णाली नदीपारिका गाउँमा लैजाँदा पनि नदी तार्ने गरिएको तामाङले बताए । ‘पोहोरसम्म नदी वारपार गर्न सकिँदैनथ्यो,’ उनले भने, ‘यो वर्ष ठूलो खडेरी पर्‍यो, नदीको पानी ह्वात्तै घटेको छ ।’

पानीको सतह घटेपछि माग्री, पुवा, रिउस र पुलुका बासिन्दाले सजिलै नदी वारपार गरिरहेका हुन् । ‘हिमपात र वर्षा नहुँदा कर्णाली नदी बर्सेनि सुकिरहेको छ,’ छाइलगाउँका ८३ वर्षीय भादुरे रोकायाले भने, ‘यस्तै खडेरी परे कर्णाली नदीको अस्तित्व नै संकटमा पर्छ ।’ उनले यो वर्ष अहिलेसम्मकै ठूलो खडेरी परेको बताए । उनका अनुसार पोहोरसम्म हिउँदको समयमा पनि नदी वारपार गर्न स्थानीयलाई कठिन हुन्थ्यो । मुगु कर्णाली नदीको सतह घट्दै गएपछि मुगुमकार्मारोङ गाउँपालिकास्थित छाइल, रिउस, पुलु, मह, माग्रीलगायत गाउँका स्थानीय चिन्तित हुन थालेका छन् ।

‘पहिले त हिउँदमा पनि नदी किनारमा जान डर लाग्थ्यो,’ स्थानीय कमल रोकायाले भने, ‘पानी घटेपछि माछासमेत देखिन छाडे ।’ खडेरीका कारण कर्णाली नदीका जलचर संकटमा पर्न थालेको उनको भनाइ छ । डोल्फु र कोइजी हिमालबाट सुरु हुने आउने मुगु नदी कर्णालीमा मिसिएपछि मुगु कर्णाली बन्छ । मुहानको हिमनदी सुकेपछि नदीको बहाव घटेको हो । खडेरीका कारण नदीको पानी पनि तातिन थालेको मुगुमकार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले बताए । विगत वर्षका फागुन/चैतमा हिउँ पग्लँदा नदीमा पानीको बहाव बढ्ने गरेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?