कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

११ देशमा राजदूत नियुक्तिको तयारी

रिक्त रहेका : दक्षिण कोरिया, श्रीलंका, इजिप्ट, रूस, अस्ट्रिया र डेनमार्क
रिक्त हुन लागेका: बहराइन, जापान, म्यान्मार, ओमान र साउदी अरेबिया
कार्यकाल सकिए पनि फिर्ता नबोलाइएको : ब्राजिल
जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले विभिन्न देशका नेपाली कूटनीतिक मिसनहरूमा राजदूत नियुक्तिका लागि तयारी सुरु गरेको छ । लामो समयदेखि राजदूत रिक्त रहेका ६ देश र कार्यकाल सकिन लागेका पाँच देशमा नियुक्ति प्रक्रिया थालेको हो । 

११ देशमा राजदूत नियुक्तिको तयारी

दक्षिण कोरिया, श्रीलंका, इजिप्ट, रुस, अस्ट्रिया र डेनमार्कमा राजदूत रिक्त छन् भने बहराइन, जापान, म्यान्मार, ओमान र साउदी अरेबियाका राजदूतको कार्यकाल सकिन लागेको छ । विदेशस्थित नेपाली मिसन खाली नराख्नका लागि भन्दै सरकारले कार्यकाल सकिन लागेका पाँच देशका राजदूतलाई फिर्ताका लागि पत्र पठाइसकेको छैन । ब्राजिलका राजदूत ताराप्रसाद पोखरेलको चारवर्षे कार्यकाल सकिए पनि फिर्ता बोलाइएको छैन ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्तिको गृहकार्य भइरहेको बताए । ‘रिक्त भएका स्थान त भइहाल्यो, हुन लागेकामा पनि त्यसअगाडि नै राजदूत नियुक्त गर्ने तयारीमा छौं, त्यसका लागि आवश्यक छलफल चलिरहेको छ,’ उनले भने । समयमै राजदूत नियुक्ति गर्ने प्रक्रियाका लागि सरकारले ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५’ तयार गरेको थियो । उक्त काम परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेपछि ज्ञवालीले थालेका हुन् । उक्त निर्देशिकाअनुसार राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्ति प्रक्रिया थाल्नुपर्छ । ज्ञवालीले उक्त निर्देशिकाअनुसारै मन्त्रालयले काम गर्ने बताए ।

राजदूतको कार्यकाल सकिनुभन्दा ३ महिनाअगाडि नै परराष्ट्र मन्त्रालयले फिर्ता हुने मितिलगायत विषय तोकेर पत्र पठाउने गर्छ । वैशाखदेखि खाली हुन लागेका विदेशस्थित नेपाली मिसन प्रमुखहरूलाई पत्र पठाइनसकेको स्रोतले बतायो । विदेशस्थित एक राजदूतले कान्तिपुरसँग कुरा गर्दै परराष्ट्रले आफूलाई केही समय जिम्मेवारी सम्हालेर बस्न आग्रह गरेको बताए । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिमा ५० प्रतिशत करिअर (परराष्ट्र सेवा) र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्दै आएको छ । परराष्ट्र सेवातर्फको कोटामा खाली भएलगत्तै नियुक्त हुने गरिए पनि राजनीतिक कोटामा लामो समयसम्म पद रिक्त रहँदै आएको छ ।

परराष्ट्रले सन् २०१८ देखि दक्षिण कोरियामा राजदूत पद खाली भए पनि नियुक्ति गर्न सकेको छैन । अर्जुनजंगबहादुर शाहलाई कांग्रेस कोटामा दक्षिण कोरियाका लागि नेपालको राजदूत बनाएर पठाइएको थियो तर केपी शर्मा ओली सरकारले फिर्ता बोलाएपछि कोरियास्थित मिसन राजदूतविहीन छ । शाहलाई सन् २०१७ मा राजदूतको जिम्मेवारी दिइएको थियो । श्रीलंकामा पनि लामो समयदेखि राजदूत रिक्त छ । परराष्ट्र मन्त्रालयले सहयोग नगरेको भन्दै दुई वर्षअघि राजदूत विश्वम्भर प्याकुरेल राजीनामा दिएर नेपाल फर्केका थिए । कांग्रेस कोटामा राजदूत बनेका उनी फर्केपछि त्यहाँ नयाँ नियुक्ति हुन सकेको छैन । रुस, अस्ट्रिया, इजिप्ट र डेनमार्कका नेपाली मिसनहरूमा पनि राजदूत छैनन् ।

बहराइनमा राजदूत पदम सुन्दास, जापानमा प्रतिभा राणा, म्यान्मारमा भीमकुमार उदास, ओमानमा शर्मिला पराजुली ढकाल र साउदी अरबमा महेन्द्रप्रसादसिंह राजपूतको कार्यकाल वैशाखबाट सकिँदै छ । परराष्ट्रको निर्देशिकाअनुसार उनीहरूको स्थानमा सरकारले अहिले नै नियुक्ति गरेर पठाइसक्नुपर्ने हुन्छ । कूटनीतिविज्ञ दिनेश भट्टराई परराष्ट्र मन्त्रालयले आफैंले बनाएको निर्देशिका पालना नगर्नु गलत भएको बताए । निर्देशिका ल्याएपछि त्यसलाई मान्नुपर्ने उनको भनाइ छ । समयमै राजदूत नियुक्त नगर्दा ती मुलुकसँग नेपालको सम्बन्धमा चिसोपना आउन सक्ने उनले बताए ।

प्रकाशित : वैशाख १, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?