१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कलिलालाई कोरोना

अभिभावकले छोराछोरीलाई स्कुल पठाउन छाडे, कतिपय विद्यालयले आफैं बन्द गरे
मकर श्रेष्ठ

काठमाडौँ — आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ, ‘कोरोना महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ ।’

कलिलालाई कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेपछि विद्यालय सञ्चालक आफैंले पठनपाठन स्थगन गर्न थालेका हुन् ।

कोरोनाकै कारण मध्यपुर थिमि नगरपालिकाको एक निजी विद्यालयमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा शनिबार मृत्यु भइसकेको छ । विद्यार्थीको मृत्युपछि एक दिन बिदा दिए पनि त्यहाँ कक्षा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पनि ४८ जना बालबालिकालाई कोरोना देखिएको छ । जसमा पर्साका मात्रै १० जना छन् । मंगलबार दुई वर्षीया बालिकामा समेत कोरोना पाइएको छ । चैत १४ यता मात्रै ३ सय ५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

बिरामी भएका बच्चा मात्रै पीसीआर परीक्षणका लागि जाने गरे पनि संक्रमितको संख्या धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देर्शक डा. कृष्णप्रसाद पौडेलले बताए । मंगलबार ५ सय १७ जना (एन्टिजेन परीक्षणसहित) लाई कोरोना पोजिटिभ देखिएकामा ४८ जना १८ वर्षभन्दा मुनिका छन् । संक्रमित बालबालिकामध्ये पाँच जना ९ वर्षमुनिका छन् । यसमा दैलेख चामुन्डाका ७ वर्षीय एक बालक, विराटनगरका ७ वर्षीय बालक र धनगढीका दुई वर्षीया बालिका छन् । त्यस्तै काठमाडौं गोंगबुका ९ वर्षीय बालक र ललितपुर महानगरपालिका–१६ की ९ वर्षीया बालिकालाई पनि संक्रमण भएको छ । संक्रमित बालबालिका सबैभन्दा बढी काठमाडौं, वीरगन्ज र कास्कीका रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘केही दिनयताको तथ्यांकले विद्यालय बन्द नगर्ने हो भने कोरोना नियन्त्रण बाहिर पो जाने हो कि भन्ने स्थिति आएको छ,’ उनले भने, ‘अब अभिभावक, शिक्षक र विद्यालयले सचेत भएर सावधानी अपनाउनु जरुरी छ ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिना बन्द गर्न सिफारिस गरेको बताए । कोरोना भाइरसको नयाँ भेरिएन्ट (प्रजाति) बालबालिका र युवामा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । ‘स्कुल बन्द भएको अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन हामीले सुझाव दिएका छौं,’ उनले भने । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय बन्द गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले कोरोना प्रभावित क्षेत्रमा तल्लो तहको कक्षा बन्द गर्न जरुरी रहेको बताए । ‘सामाजिक दूरी कायम गर्न नसक्ने र स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने साना बालबालिकालाई भेला गरेर कक्षा चलाउँदा थप जोखिम हुन सक्छ,’ उनले भने, ‘माथिल्लो तहमा भने स्वास्थ्य सुरक्षा अपनाएर कक्षा चलाउन सकिन्छ ।’ एलआरआई एजुकेसन फाउन्डेसनका प्रमुख शिवराज पन्तले तल्लो तहका विद्यार्थीलाई अनलाइनबाट पढाएर माथिल्लो तहलाई आलोपालो गरी कक्षा सञ्चालन गर्ने योजना बनाएको बताए । ‘शिक्षकहरूले पनि मंगलबार खोप लगाउनुभयो । अब तल्लो तह अनलाइन चलाएर माथिल्लो तह मात्रै जोरबिजोर रोल नम्बर वा अन्य कुनै विधि अपनाएर कक्षा चलाउन चाहेका छौं,’ उनले भने ।

कोरोना संक्रमण बढ्दा पनि सरकारले विद्यालय बन्द गर्ने निर्णय नगरेपछि अभिभावकले छोराछोरी विद्यालय पठाउनै छाडेका छन् । ‘एउटा कक्षामा ४० जना विद्यार्थी भएकामा मंगलबार मुस्किलले १५ जना मात्रै उपस्थित थिए,’ ललितपुरको एक विद्यालयका प्रिन्सिपलले भने, ‘बच्चा नै आउन छाडेपछि विकल्प सोचिरहेका छौं ।’ सरकार र विद्यालय सञ्चालकले विद्यालय बन्द नगरे पनि छोराछोरी नपठाउने निधो गरेको अभिभावकले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘सरकारले निर्णय गरोस्/नगरोस्, प्याब्सनले स्कुल बन्द गरोस्/नगरोस् हामीचाहिँ आजबाट छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौं । मिले अनलाइनमा, नमिले घरमा आफैं पढ्ला । परीक्षा दिन नपाए अर्को वर्ष ५ कक्षा पास गर्ला । यस्तो स्वाँठ सरकारको भर पर्ने हो भने हातमा पछुतोबाहेक अरू विकल्प रहन्न,’ लेलिन बन्जाडेले ट्वीटरमा लेखेका छन् । सुवास जोसनले पनि छोरालाई स्कुल नपठाउने निधो गरेको ट्वीट गरेका छन् । ‘आफूले त छोरालाई स्कुल नपठाउने निर्णय गरियो । स्कुलले धेरै फी मागे दिउँला तर आफ्नो बच्चा दिन सकिएन,’ उनले लेखेका छन् ।

प्रकाशित : वैशाख १, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?