१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरोना बढेपछि भारतीयहरू नेपाल हुँदै तेस्रो मुलुक

एनओसी लिन लैनचौरस्थित दूतावासमा दैनिक ४ सय जनासम्म
जगदीश्वर पाण्डे

काठमाडौँ — तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ ।

कोरोना बढेपछि भारतीयहरू नेपाल हुँदै तेस्रो मुलुक

दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको थियो । ‘एडभाइजरी हामीले वेबसाइटमा हाल्यौं, तर धेरै मान्छे नबोलाइकनै आइरहेका छन्, एडभाइजरीको पालना भएको देखिन्न,’ दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘एक दिनमा ५० जना आउनुपर्ने हो । तर तीनदेखि चार सयसम्म आइरहेका छन् । यसले गर्दा भीड बढेको हो ।’ प्रवक्ता कुमारले एनओसी लिने भारतीय बढे पनि उनीहरू भारतबाट नेपाल हुँदै अन्य मुलुकमा उड्नका लागि नै हो भन्न नमिल्ने बताए । ‘नेपालमै रहेका धेरै भारतीय पनि विदेश जान खोजेका हुन सक्छन्,’ उनले भने ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण भारतबाट विदेश उड्न केही भिसालाई अस्थायी रूपमा रोक लगाएको, केहीमा प्रक्रिया लामो भएको र संक्रमणकै कारण अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेको जानकार बताउँछन् । खुला सिमाना भएका कारण पनि उनीहरूलाई नेपाल आउन सहज भएको हो । कर्णाली प्रदेशबाहेक बाँकी ६ प्रदेशसँग नेपालको सीमा जोडिन्छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले नेपाल–भारत सीमा नाका खुला भएका कारण आउजाउ बढिरहेको बताए । ‘क्रसबोर्डर अकुपेसनका कारण पनि ओहोरदोहोर दैनिक रूपमै भइरहेको छ । तोकिएका नाकाबाट हुने औपचारिक आवागमनलाई व्यवस्थित गर्न खटिएका छौं,’ उनले भने, ‘पछिल्ला दिनमा भारतबाट नेपाल प्रवेश गर्नेको चाप पनि बढ्दो छ । त्यसलाई मध्यनजर गरेर नेपाली नाका हुँदै प्रवेश गर्नेमाथि विशेष निगरानी र सोधपुछ बढाइएको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेमा भारतीयको संख्या बढेको अध्यागमन विभागले पनि आकलन गरेको छ । तर कोभिड–१९ कै कारण संख्या बढेको हो भन्ने विभागले ठहर गरेको छैन । अध्यागमनका महानिर्देशक रमेश केसीका अनुसार भारतमा पछिल्लो समय कोभिड–१९ संक्रमण बढेपछि भारतको अध्यागमनमा केही कडाइ गरिएको छ । ‘त्यसपछि नेपालको बाटो हुँदै अन्य मुलुकमा उड्ने भारतीयको संख्या बढेको देख्न सकिन्छ,’ उनले भने । अप्रिलबाट नेपालको बाटो हुँदै तेस्रो देश उड्ने भारतीयहरूको संख्या बढेको उनको भनाइ छ । ‘नियमितभन्दा बढी भारतीय विदेश उडेका छन्, तर उनीहरूलाई नेपालस्थित भारतीय दूतावासले जारी गरेको एनओसी पत्रका आधारमा मात्र उड्न दिइन्छ,’ उनले भने, ‘भारतीय बाटो हुँदै नेपाली उड्नुपरे पनि दिल्लीस्थित नेपाली दूतावासको एनओसी चाहिन्छ ।’ उनका अनुसार नेपालबाट वा भारतबाट पहिलो पटक अर्को मुलुकमा उड्दा एनओसी अनिवार्य रूपमा चाहिन्छ ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालले आफ्नो खुला नाकामा हुने आवतजावतमा नियन्त्रण गर्नुपर्ने सुरक्षाविद् तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यातको सुझाव छ । सीमानाकामा आवतजावत गर्दा पनि स्वास्थ्य सुरक्षा जाँचमा ध्यान दिनुपर्ने उनले बताए । ‘नेपालमा कोभिड–१९ थप फैलन नदिन खुला सीमामा कडा निगरानी गर्नैपर्छ,’ उनले भने ।

प्रकाशित : वैशाख १, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?