कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

संयुक्त मोर्चा निर्माणको कोसिस : दाहाल-नेपालसहितका नेता राजनीतिक ध्रुविकरणको पक्षमा

बबिता शर्मा

काठमाडौँ — संघीय संसद्‌को प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक, कानुनी र संवैधानिक संघर्षमा उत्रेका समूहबीच संयुक्त मोर्चा निर्माणको कोसिस सुरु भएको छ । 

संयुक्त मोर्चा निर्माणको कोसिस : दाहाल-नेपालसहितका नेता राजनीतिक ध्रुविकरणको पक्षमा

पुस ५ को संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिदिएपछि नयाँ समीकरणको पक्षमा देखिएका पार्टी र शक्तिले नयाँ सरकार गठन हुँदै चुनावी गठबन्धनसम्मको प्रारम्भिक बहस थालेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपाल संयुक्त मोर्चा निर्माणको प्रयास र बहसमा देखिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले त सार्वजनिक रुपमै संयुक्त मोर्चा बन्ने दाबी गरेका छन् । पार्टीनिकट निजामती कर्मचारी संगठनले शनिबार (चैत्र २८) मा काठमाडौंमा गरेको कार्यक्रममा दाहालले चुनावमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष), एमालेको खनाल–नेपाल समूह, मसाल र क्रान्तिकारी माओवादीबीच संयुक्त मोर्चा बन्ने र त्यसले ओलीलाई चौथौ शक्तिका रुपमा धकेल्ने दाबी गरेका थिए । ‘एमालेभित्रको एउटा पक्षसँग मोर्चा बनिरहेकै छ । जसपा नेतासँग पनि वेभलेन्थ धेरै नै मिल्छ । अब अहिले कांग्रेस र जसपाको एउटा पक्षसँग सरकारमा सँगै भयौं र चुनावमा तालमेल वा कार्यगत एकता भयो भने धेरै नै महत्वपूर्ण उपलब्धि हुन्छ,’ दाहालको भनाइ थियो, ‘हामीहरुबीच मोर्चा त बन्छ र बनाउनैपर्छ । मोहनविक्रम र मोहन वैद्यहरूसँग एकता त नहोला तर मोर्चा पक्कै बन्छ नै । आउने चुनावमा मोर्चा बनाएर मिहिनेत गर्‍यौं भनेओली चौथो नम्बरमा पुग्छन् ।’

२०७९ वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ भने मध्यावधि चुनावको पनि चर्चा कायमै छ । दाहालकाअनुसार माओवादी केन्द्र, एमालेको झलनाथ खनाल–माधव नेपाल समूह, जनता समाजवादी पार्टीमा भट्टराई र यादव, मोहनविक्रम सिंह नेतृत्वको मसाल र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच संयुक्त मोर्चा निर्माणबारे प्रारम्भिक छलफल भएको छ । तर, यी राजनीतिक शक्तिबीच संयुक्त मोर्चाको आवश्यकताबारे भने अझै एकीकृत धारणा बनेको छैन । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संयुक्त मोर्चा निर्माणबारे औपचारिक छलफल नभए/भए पनि एजेन्डा मिल्ने शक्तिसँग सहकार्यको ढोका सधैं खुला रहने बताए । ‘संयुक्त मोर्चा निर्माणबारे औपचारिक छलफल भएको छैन । मुद्दा मिल्ने शक्तिसँग सहकार्य र मोर्चाको ढोका त सधै खुला हुन्छ’, श्रेष्ठले भने, ‘कहींकतै अनौपचारिक छलफल हुनु बैग्लै हो ।’

दाहालको भनाइजस्तै संयुक्त मोर्चा निर्माणमा एमाले नेता नेपालले पनि सक्रियता बढाएका छन् । चैत्र १६ मा उनले मसालका महामन्त्री मोहनविक्रम सिंह र क्रान्तिकारी माओवादीका महासचिव वैद्य एवं नेता सीपी गजुरेलसँग छुट्टाछुट्टै छलफल गरेका थिए । ‘अदालतको फैसालपछि माधवसँग छलफल भएको थियो । उहाँहरुले ओलीकै कारण यो स्थिति सिर्जना भएको हो, अहिले संकटको समयमा हामी सबै मिल्नु पर्‍यो र यो संकट समाधान गर्नेतिर जानुपर्छ भन्ने राख्नु भएको थियो,’ क्रान्तिकारी माओवादीका नेता गजुरेलले भने, ‘हामीले राष्ट्र र जनताका समस्यामा मिलेर जान कुनै समस्या छैन, त्यसमा कार्यगत एकता गरेर जाऔं भनेका छौं । हामीले सडकलाई प्राथमिकता दिएका छौं, संसद्ओमा छैनौं । तर, एमसीसी, राष्ट्रिय स्वाधिनता लगायतका मुद्दा र संकट समाधानमा हामी मिलेर जान सक्छौं । ठोस छलफल गर्दै जाउँला भन्ने कुराकानी भएको हो ।’

एमाले उपाध्यक्ष युवराज ज्ञवाली विचार मिल्नेसँग पार्टी एकता नै गर्ने र केही मतभिन्नता हुनेसँग कार्यगत एकता वा वाममोर्चा बनाएर जान सकिने बताए । ‘नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न उहाँ (केपीओली) लाग्नु भएको छ, त्यसलाई असफल गराएर नेपालको कम्युनिष्ट आन्दोलनलाई समग्र रुपमा एकताबद्ध बनाउने अभियानमा हामी छौं,’ उनले भने, ‘त्यसकारण विचार मिल्नेसँग पार्टी एकता हुन्छ, अलिकति भिन्नता भयो भने कार्यगत एकता वा वाममोर्चा बनाएर जान सक्छौं ।’

सर्वोच्च अदालतले एमाले र माओवादीको एकता फागुन २३ मा भंग गरिदिएपछि सबैभन्दा ठूलो विवाद एमालेमा पैदा भएको छ । यसैलाई लिएर ‘भिन्दै पार्टी निर्माण’ सम्मको रणनीतिसहित एमालेको खनाल–नेपाल समूह अहिले देशव्यापी समानान्तर संगठन निर्माण र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध भण्डाफोर अभियानमा छ । खनाल–नेपाल समूहले राजनीतिक प्रस्तावसमेत तयार पारेर वडातहसम्मको अभियान थालेको छ ।

पार्टी अध्यक्ष रहेका ओलीले पार्टी, संसद् र सरकारमा एकतर्फी निर्णय लिने र आफ्ना पक्षका नेता–कार्यकर्ता माथि कारबाही चलाउन थालेपछि खनाल–नेपाल समू्ह भिन्दै अस्तित्वसहित ओलीसँग संघर्षमा छ । यसका लागि वामपन्थी शक्तिहरुबीचको सहकार्यमा उसले जोड दिएको छ । खनाल–नेपाल समूहका एक नेताको भनाइमा उनीहरु चुनावी तयारीमा समेत जुटिसकेका छन् । यो समूहले राजनीतिक प्रस्तावमै संविधान, लोकतन्त्र, राष्ट्रियहित तथा जनअधिकारको रक्षाका लागि अन्य राजनीतिक तथा नागरिक संस्थाहरू सँगको सहकार्य गर्ने उल्लेख गरेको छ ।

खनाल–नेपाल समूहको चैत ४ र ५ को राष्ट्रिय भेलाबाट पारित राजनीतिक प्रस्तावमा छ, ‘आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयलाई सुनिश्चित गर्नका निम्ति पार्टीलाई एकता, पुनर्गठन र रूपान्तरणको दिशामा लैजानु पर्दछ । नवौं महाधिवेशनले लिएको कार्यदिशाअनुसार नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्दै वाम एकताका आधारहरू तयार गर्नेतर्फ ध्यानदिनु पर्छ । सरकारले आफ्नो सत्ताको लागि राज्यका अन्य अंगलाई पनि दुरूपयोग गर्ने सम्भावना बढ्दै गएको हुँदा संविधान, लोकतन्त्र, राष्ट्रियहित तथा जनअधिकारको रक्षाका लागि अन्य राजनीतिक तथा नागरिक संस्थाहरूसँगको सहकार्यलाई बढाउँदै लैजानु पर्छ ।’

ओली सरकार विस्थापन भए पनि वा उनकै निरन्तरता कायम रहे पनि जसपा ढिलोचाँडो विभाजनमा मोडिने र त्यसपछि चुनावमा एउटा पक्षसँग सहकार्यको सम्भावना रहने दाहालको बुझाई छ । दाहाल र खनाल–नेपालबीच यसै विषयलाई लिएर पटक-पटक छलफलसमेत भएको छ । ओली सरकारको विस्थापनलाई लिएर दाहाल र जसपाको भट्टराई–यादव समूहबीच एउटै धारणा छ । दाहालले जसपाका नेताहरु भट्टराई र यादवसँग लगातार छलफल गर्दै आएका छन् ।

नेकपा मसाल पनि संयुक्त मोर्चाको पक्षमा उभिएको छ । केही दिन पहिला दाहाल, नेपाल, नारायणकाजी श्रेष्ठले सिंहसँग कोटेश्वरमा छलफल गरेका थिए । महामन्त्री सिंहले ओलीको कदमविरुद्ध भएका राजनीतिक शक्तिबीच सहकार्य र एकता हुनुपर्ने बताए । ‘हाम्रो सोचाई अहिलेको स्थितिमा केपी ओलीको प्रतिगामी कदमविरुद्ध रहेका राजनीतिक शक्तिहरुबीच सहकार्य हुनुपर्छ भन्ने हो । तर, त्यसका लागिअहिलेसम्म कतैबाट औपचारिक पहल भएको छैन,’ सिंहले भने, ‘अहिले ओलीबाट प्रतिगमनको खतरा छ । ओलीको विरुद्धमा भएका शक्तिहरुबीच सहकार्य, एकता हुनुपर्छ ।’

सिंहले आइतबार विज्ञप्ति जारी गर्दै प्रतिगामी शक्तिलाई रोक्न राजनीतिक दल एक हुनुपर्ने बताएका थिए । ‘सर्वोच्चले विघटित संसद्‌को पुन:स्थापना गरेपछि पनि ओली सरकारले जबर्जस्तीपूर्वक त्यसलाई विफल बनाउन षड्यन्त्र गरिरहेको छ । ओलीले अन्धाधुन्दा प्रकारले जसरी संविधान र बहुदलीय व्यवस्थाका मर्यादा तथा आन्दोलनका उपलब्धि समाप्त गर्ने काम गरिरहेका छन्, त्यसबाट देश प्रतिगमनतिर जाने गम्भीर खतरा देखा परेको छ । त्यस कारणले उनको त्यस प्रकारको अधिनायकवादी र प्रतिगामी कार्यशैलीलाई रोक्नु राष्ट्रिय आवश्यकता भएको छ,’ सिंहको विज्ञप्तिमा छ ।

तर, क्रान्तिकारी माओवादीका नेता गजुरेल कार्यदिशा फरक भए पनि चुनावी मोर्चाको सम्भावना देख्दैनन् । ‘उहाँहरुसँग संयुक्त मोर्चा हुने हामी देख्दैनौं । किनभने यो व्यवस्थाबाट राष्ट्र, जनताको समस्या हल हुन्छ भन्ने हामीलाई लागेकै छैन । यो असफल भइसक्यो । यो भन्दा राम्रो व्यवस्था ल्याउने विकल्पमा जाऔं भन्दा कार्यगत एकता हुनसक्छ,’ उनले भने, ‘अहिले व्यक्ति हटाएर केही हुँदैन, व्यवस्थाकै विकल्प सोच्नु पर्छ । त्यसकारण उहाँहरुसँग रणनैतिक मोर्चा सम्भावना देखिँदैन । तर, उहाँहरुबीच चुनावी मोर्चा हुन सक्ला ।’

प्रकाशित : चैत्र ३१, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?