२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

'ब्रह्माण्डको सत्य आफूभित्र कैद छ भन्ने भ्रमबाट प्रधानमन्त्री चलिरहेसम्म मुलुकको नियति यस्तै रहन्छ'

काठमाडौँ — माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी ओली भ्रमबाट मुक्त नभएसम्म मुलुकको नियति नफेरिने बताएका छन् । 

'ब्रह्माण्डको सत्य आफूभित्र कैद छ भन्ने भ्रमबाट प्रधानमन्त्री चलिरहेसम्म मुलुकको नियति यस्तै रहन्छ'

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद बस्नेतले प्रधानमन्त्री ओली ब्रह्माण्डको सत्य आफूभित्र कैद रहेको भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । 'ब्रह्माण्डको सत्य आफ्नै दिमागभित्र कैद छ भन्ने भ्रमबाट उहाँ जहिलेसम्म चलिरहनुहुन्छ मुलुकको नियति यस्तै भइरहन्छ, उहाँ त्यहाँ रहेसम्म,' उनले भने ।

प्रधानमन्त्रीले कुनै पनि विषयमा विज्ञ र विषयका जानकारको सल्लाह नलिने गरेको पनि बस्नेतको भनाइ थियो । प्रधानमन्त्री ओलीको विकासको खाकाले राजनीतिक परिवर्तनसँग मेल नखाइरहेको उनले बताए । बजेट विनियोजनदेखि विकासका योजना छनोटसम्म संघीय राज्यप्रणाली अनुरुप नभएको बस्नेतको भनाइ थियो । सरकार जनअपेक्षाअनुसार नचलेको उनको धारणा थियो ।

विभिन्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको पदकमा प्रयोग भएको नेपालको नक्सालाई लिएर पनि बस्नेतले सरकारको मैसमी राष्ट्रवाद देखिएको बताए । उनले २०७६ सालमा छापिएको पदकमा नक्सा नहुनु ठिकै भएको भन्ने जवाफ दिएर सरकार पन्छिन नमिल्ने बताए । 'जनतालाई मौसमी राष्ट्रवाद चाहिएको होइन । सरकार जिम्मेवार र जवाफदेही हुनुपर्छ । हल्का ढंगले टिप्पणी नगरियोस् । ७६ सालमा गरिएको पदक सम्मान हो भनेर जनताका प्रश्नको सम्बोधन गर्दैन,' उनले भने ।

सरकारले संसद्लाई बिजनेस नदिएर राम्रोसँग सञ्चालन गर्न नदिएको पनि बस्नेतले बताए । संसद् बोलाएर मात्रै नहुने र त्यसका लागि सरकारले बिजनेस दिनुपर्ने दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

सरकारले संसद्लाई फेरि विघटन गर्ने मनसाय राखेकाले माओवादीले समर्थन फिर्ता नलिएको बस्नेतको भनाइ थियो । 'सरकारले संसद विघटनको मनसाय प्रकट गरिराखेको जस्तो छ । सरकारका अलोकतान्त्रिक र असंवैधानिक कुरा स्वीकार्न र सहयोग गर्नका लागि समर्थन होइन,' उनले भने । संसद्को रक्षा र रखवारी गर्नका लागि माओवादीले समर्थन फिर्ता नलिएको र सरकारका कामलाई समर्थन नगर्ने पनि बस्नेतको तर्क थियो ।

प्रकाशित : चैत्र ३०, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?