संसद्‌लाई जुहारी खेल्ने थलो नबनाउन सांसद गिरीको आग्रह

काठमाडौँ — नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसद्‌लाई जुहारी खेल्ने थलो नबनाउन आग्रह गरेका छन् । उनले संसद्‌मा दिनहुँ जुहारी गरेर जनताका विषय ओझेलमा परेको बताएका छन् । 

संसद्‌लाई जुहारी खेल्ने थलो नबनाउन सांसद गिरीको आग्रह

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद् गिरीले संसद्लाई संसद् अवधिभर चल्न दिनुपर्ने बताए । उनले भने,'प्रधानमन्त्रीलाई छोड भनेर मात्रै केही हुनेवाला छैन । उपयुक्त विकल्प चाहिएको छ । संसद्‌मा दिनहुँ जुहारी गरेर जनताको विषय ओझेलमा परेको छ ।'

उनले निर्वाचन नै गर्ने हो भने राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने बताए । उनले संसद्लाई अवधिभर चल्न दिन आग्रह गरे । पछिल्लो समय सरकारका क्रियाकलाप सन्तोषजनक नभएको, भ्रष्ट्राचार मौलाएको, विकासको गतिमा सुस्त भएको नेता गिरीको भनाइ थियो ।

२०७२ को संविधान सुःखद्का साथ अघि बढ्न नसकेको पनि उनले बताए । 'संविधानलाई मलजल गर्नको साटो बिरुवा लगाउँदैमा उखेलेर जरा हेर्ने विगतका महिनामा देख्यौं,' उनले भने,'संविधान सहमतिको दस्तावेज भएको यसलाई परिस्कृत र परिमार्जित गरेर लैजानुपर्छ ।'

बाहिर प्रधानमन्त्री बन्ने कुरो आइरहेको बताउँदै उनले भने,'प्रश्न सरकारको हैन, नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो । '

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै उनले चुनावमा जान किन हिचकिचाउने भन्दै प्रश्‍न समेत गरे । उनले सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ सभामुख मार्फत दलहरुको ध्यानाकर्षण गराएका छन् ।

उनले चुनावमा मिलेर जान आग्रह गरे । 'संकटको घडीमा राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हौं,' उनले भने ।

सकुनीले पासा फ्याँकेजस्तो दुबारा पासा थापेर फेरि पाण्डवलाई वनबास पठाएजस्तो संसद् विघटन गर्नतर्फ नजान उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

प्रकाशित : चैत्र ३०, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?