चितवन दुर्घटना : ‘हामी पर्खिरह्यौं तर ट्य्राक्टर आइपुगेन’

रमेशकुमार पौडेल

चितवन — राप्ती नगरपालिका–११ को भवन ढलान गर्ने चटारो थियो आइतबार बिहानैदेखि । मजदुर नाइके विश्वराम महतो टोली लिएर सातै बजे त्यहाँ पुगे । भवन निर्माणका लागि यसै गरी मजदुर उपलब्ध गराउनु उनको नियमित काम हो । 

चितवन दुर्घटना : ‘हामी पर्खिरह्यौं तर ट्य्राक्टर आइपुगेन’

ढलानको काम अलि अबेला सुरु भयो । सकिँदा घाम डुब्यो । विश्वराम मोटरसाइकलमा गएका थिए । फर्किंदा पनि भतिजो र उनी मोटरसाइकलमा बसे । अरू मजदुर ट्रयाक्टर चढे ।

केही वर आएपछि बाटो अलि अप्ठ्यारो थियो । ओरालो, मोड अनि तल खोला । त्यो मोड पार गरेपछि उनीहरू केही बेर ट्य्राक्टरलाई पर्खिए । परबाट लाइट लाइट वरवर सर्दै आइरहेकै थियो । तर एकै छिनमा घत्र्याङ–घुत्रुङ आवाज आयो । मान्छे चिच्याउन थाले । कोलाहल मच्चियो ।

विश्वराम र उनका भतिजा हतार–हतार उतैतिर दौडिए । ट्य्राक्टर सडकबाट तल बजारिएको थियो । ‘सुरुमा त्यहाँ पुग्ने हामी दुई जना मात्रै भयौं । सप्पै ढलेका छन् । कोही बेहोस छन्, कोही चिच्याइरहेका छन् । कोही छटपट–छटपट गरिरहेका,’ उनले भने, ‘हामी त के गर्ने–गर्ने, एकोहोरो कराउन थालेछौं ।’

कोलाहल सुनेपछि केही बेरमा वरपरका गाउँले पनि त्यहीँ आइपुगे । यति बेलासम्म विश्वरामले एम्बुलेन्सलाई फोन गरिसकेका थिए । ‘मैले काम गरेको २५ वर्ष भयो । यस्तो घटना भएको थिएन,’ उनले भने ।

दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् । विश्वरामका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये मगना महतो निकै पुराना कामदार हुन् । ‘हाम्रो यो काममा टिकेर कोही बस्दैन । दीपक लामा एक दिनअघि मात्रै आएको थियो । कोही आउँछ, जान्छ । कोही अलि लामो समय बस्छ,’ उनले भने । विश्वरामका अनुसार ढलान गर्न आएका कामदारमा बाहिरी जिल्लाका पनि छन् । कुनै पनि कामदारको बिमा गरिएको छैन । उनीहरूले काम भएको दिन आठ सय रुपैयाँसम्म ज्याला पाउँदै आएका छन् ।

विश्वराम महतो

‘काम भइरहे त गुजारा राम्रै चल्छ । तर सधैँ कहाँ काम पाउने ?,’ उनले भने, ‘मजदुरी गरेर खानेहरूको यस्तो दुर्दशा भयो ।’ ट्य्राक्टरका चालकसमेत नराम्ररी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । ‘बिहान गएर उनलाई भेँटे । खै के भयो यस्तो भन्छन् । ब्रेक लागेन कि पनि भन्थे,’ विश्वरामले सुनाए, ‘मैले पनि घटना भएपछि मात्रै थाहा पाएँ । खै कसरी भयो–भयो यस्तो नराम्रो दुर्घटना ।’

ढलानको काममा ज्यालादारीमा खट्दै आएकी छन्, सरिता चौधरी । उनका अनुसार ट्य्राक्टरमा उनीसहित महिला तीन जना मात्रै थिए । तीमध्ये एक छनियाँ महतोको निधन नै भयो । सरिता पुरानो मेडिकल कलेजको भरतपुरस्थित शिक्षण अस्पतालमा भर्ना छिन् । ‘आधा घण्टाभित्र घर पुग्ने कल्पना गर्दै बसेका थियौं । त्यही बेला अचानक ट्य्राक्टर पल्टियो,’ उनले भनिन्, ‘कसरी यस्तो भयो, हामीले केही मेसो पाएनौं ।’

मकवानपुरको राक्सिराङ–२ का ४२ वर्षीय अजय सिंजाली मगर ट्य्राक्टरको बीचको खण्डमा थिए । ‘अँध्यारो थियो । अचानक गन्द्य्राङ्ग गरेको सुनियो । अरू थाहा भएन,’ पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइरहेका उनले भने ।

आइतबार साँझ साढे सात बजेतिर वडा कार्यालयको भवन ढलान गरेर भन्डारा फर्कंदै गरेका मजदुरहरू चढेको ना१त ६२८२ नम्बरको ट्रयाक्टर दुर्घटनाग्रस्त भएको हो । पूर्व–पश्चिम महेन्द्रराजमार्गमा पर्ने राप्ती नगरपालिकाको केन्द्र भन्डारा बजारबाट झन्डै ७ किलोमिटर उत्तर पहाडी क्षेत्र राप्ती–११ को चिउडे खोलामा ट्य्राक्टर सडकबाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

प्रकाशित : चैत्र ३०, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?