१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेश २ मा माओवादीका ४ सांसद बर्खास्त

६ महिनापछि प्रदेशसभा बैठक बस्दै
अजित तिवारी

जनकपुर — नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र)ले बर्खास्त गरेको छ । माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसद दलमा नफर्किएपछि कारबाही गरिएको हो ।

प्रदेश २ मा माओवादीका ४ सांसद बर्खास्त

माओवादी केन्द्रका प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र दलले प्रदेशसभा सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका सचेतक दिलीप साहले चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए । यी चारैजना सांसद नेता प्रभु साहनिकट मानिन्छन् ।

यसअघि चारैजना सांसदलाई माओवादी केन्द्रको केन्द्रीय समितीले सोधेका २४ घण्टे स्पष्टीकरणको जवाफ नदिएपछि आइतबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय भएको साहले जानकारी दिए । ‘शुक्रबारै २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, उनीहरुले जवाफ दिएनन्,’ उनले भने,‘अनि कारबाही गरिएको पत्र सभामुखलाई बुझाएका हौं ।’

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माओवादी केन्द्रका चार जना सांसदलाई कारबाही गरिएको पत्र प्राप्त भएको बताए । उनले सभामुखसमक्ष बुझाइएको पत्रबारे कानुनी परामर्श भइरहेको पनि जानकारी दिए । ‘सभामुखज्यूले कानुनी राय–परामर्शमा जुट्नु भएको छ,’ सचिव यादवले भने,‘एक–दुई दिनमै छिनोफानो हुनेछ ।’

प्रदेश २ मा माओवादीकेन्द्रका ११ जना सांसद थिए । जसमा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुनेछन् । माओवादी केन्द्रबाट जितेका मण्डल भने नेकपा एकीकरणअघि प्रदेशसभामा दलका नेता थिए । एकीकरणपछि नेकपाका संसदीय दलका नेता ओली पक्षका सत्यनारायण मण्डल बने । नेकपा छिनभिन्न भएपछि प्रदेश २ मा ओली पक्षका संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाल–खनाल समूहका संसदीय दलका नेता शत्रुधन महतो र माओवादी केन्द्रका संसदिय दलका नेता भरत साह बनेका छन् ।

यसैबीच ६ महिनापछि प्रदेश २ सभाको बैठक सोमबार १ बजे बस्दैछ । प्रदेश २ मा सत्ताको बागडोर सम्हालेका जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलका नेता नचुनेका कारण प्रदेशसभाको बैठक लामो समयदेखि अवरुद्ध थियो । जसपा एकीकरण हुनुअघि छुट्टाछुट्टै दल रहेका संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)को अहिले पनि प्रदेश २ मा छुट्टाछुट्टै संसदीय दलका नेता र सचेतक रहेका छन् ।

प्रकाशित : चैत्र ३०, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?