कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

थोरै परीक्षणमा धेरै संक्रमित

नयाँ भेरिएन्टले कम उमेरका बढी संक्रमित 
अजित तिवारी

जनकपुर — प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दो छ । भारतमा उच्च दरमा संक्रमित बढे पनि खुला सीमासँग जोडिएको प्रदेशका ८ वटै जिल्लामा सतर्कता नअपनाउँदा संक्रमण दर फेरि उच्च हुन सक्ने चिकित्सकको अनुमान छ ।

थोरै परीक्षणमा धेरै संक्रमित

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले हरेक दिन जारी गर्ने बुलेटिनमा संक्रमण दर बढेको देखिन्छ । बुलेटिनअनुसार अहिले न्यून संख्यामा पीसीआर परीक्षण भइरहेको छ र तीमध्ये अधिकांशमा संक्रमण देखिएको छ ।

चिकित्सकहरूले भने कोरोना भाइरसको नयाँ भेरिएन्टले कम उमेरका व्यक्ति बढी संक्रमित भइरहेकाले सतर्क रहन सुझाएका छन् । प्रदेशमा आइतबार धनुषाका २ जना संक्रमित थपिएका छन् । आरटी पीसीआरबाट ९ जनाको नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो । ‘थोरै परीक्षणमा धेरै संक्रमित देखिएका छन्,’ जनकपुरका वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले भने, ‘टेस्टको दायरा बढाएपछि मात्रै यकिन तथ्यांक आउँछ ।’

शनिबार मात्रै प्रदेशमा १५ जना संक्रमित थपिएका छन् । ती पर्सा र बाराका हुन् । शुक्रबार १२ र बिहीबार १५ जना थपिएका थिए । ‘जुन स्केलमा पीसीआर परीक्षण गर्नुपर्थ्यो, त्यो भएकै छैन,’ डा. सिंहले भने, ‘सर्वसाधारण मात्र होइन, सरकारी निकाय पनि बेपरवाह भएको देखिन्छ ।’ सतर्कता नअपनाए भयावह अवस्था आउन सक्ने उनले बताए । ‘अहिलेको संक्रमण कम उमेरकामा बढी देखिएको छ, अघिल्लो पटक बढी उमेरका धेरै प्रभावित थिए,’ उनले भने, ‘भारतमा भयावह स्थिति निम्तिसकेको छ, नयाँदिल्लीमा खोप लगाइसकेका २५ जना चिकित्सक नै संक्रमित भएका छन् । त्यसैले खोप लगाए पनि ढुक्क हुने अवस्था छैन । त्यसैले सतर्कता अपनाऔं ।’

कोभिड अस्पतालको तयारी

पर्सा– पर्सामा संक्रमण उच्च भइसकेपछि जिल्ला विपद् व्यवस्थापन समितिले आइतबार कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार बैठकले नेसनल मेडिकल कलेजको कोभिड अस्पताल पुनः सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ

। यस्तै, वीरगन्जस्थित नारायणी अस्पतालमा आईसीयू र एचडीयू युनिट तयारी अवस्थामा राख्न र निजी अस्पतालमा संक्रमितका लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?