कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाँके फेरि ‘हटस्पट’ बन्‍ने जोखिम, कर्णालीमा पनि जोखिम बढ्दै

चिकित्सक भन्छन्– ‘मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भीड हुने कार्यक्रम गर्दा संक्रमण फैलियो’

नेपालगन्ज, बर्दिया — दुई महिनाअघि भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड करिब खाली भयो । जम्मा ६ जना संक्रमित उपचाररत भएकाले स्वास्थ्यकर्मी उत्साहित थिए । कोरोना नियन्त्रणमा आएको भन्दै निजी स्तरमा सञ्चालित कोरोना वार्ड बन्द गरिए ।

बाँके फेरि ‘हटस्पट’ बन्‍ने जोखिम, कर्णालीमा पनि जोखिम बढ्दै

संक्रमित शून्य भएको जनाउँदै पालिकाका आइसोलेसन र क्वारेन्टाइन पनि बन्द भए तर पछिल्लो समय बाँकेमा धमाधम संक्रमित फेला पर्न थालेका छन् । शनिबार एकै दिन २९ जनामा संक्रमण देखिएपछि बाँके फेरि कोरोनाको हटस्पट बन्ने जोखिम बढेको छ । दुई सातामा संक्रमितको संख्या १ सय ९ पुगेको छ । संक्रमितको उपचारका लागि पुनः जनशक्ति अभाव हुन थालेको छ । भेरी अस्पतालमा अक्सिजनसहित १ सय ४२ कोभिड वार्ड, १५ आइसोलेसन र २५ वटा एभडीयू वार्ड बनाइएको छ । ‘दुई महिनाअघि कोभिड वार्ड खाली भइसकेका थिए । अहिले फेरि भरिन थालेका छन्,’ भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘यसैगरी संक्रमित बढ्दै गए अवस्था भयावह हुन्छ ।’

चिकित्सकका अनुसार कोरोनाको महामारीलाई बेवास्ता गर्दा अहिलेको अवस्था आएको हो । मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भीड जम्मा हुने मेलाजस्ता कार्यक्रम गर्नाले संक्रमण फैलिएको उनीहरूको दाबी छ । यस्तै लापरबाही गरे वैशाख र जेठसम्म कोरोनाले उग्र रूप लिन सक्ने विज्ञहरूले औंल्याएका छन् । ‘कोरोनाको त्रास सबैले भुलिसके । यसले गम्भीर अवस्था निम्त्याउन सक्छ,’ डा. थापाले भने । उनले स्थानीय सरकारले फेरि पनि आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गर्नुपर्ने सुझाव दिए । भेरीले मात्रै धान्न नसक्ने संकेत देखिन थालेपछि नेपालगन्ज शिक्षण अस्पतालमा फेरि कोभिड वार्ड बनाउन पहल भइरहेको छ । भारत नगएका स्थानीयमा पनि संक्रमण देखिन थालेको अस्पतालले जनाएको छ ।

भारतबाट घर फर्किने केही नेपालीमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल–भारत सीमा रुपैडिहामा राखिएको हेल्थ डेस्कमा भारतबाट फर्किने १ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको छ । हेल्थ डेस्कमा १५ मिनेटमा रिपोर्ट दिन सक्ने प्रविधि व्यवस्था गरिएको छ तर जनशक्ति अभाव छ । सरकारले एक जना ल्याब र पाँच जना स्वास्थ्यकर्मी पठाएको छ । नेपालगन्जको स्वास्थ्य शाखाले दुई स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

भारतबाट दैनिक पाँच सयको हाराहारीमा नेपाली घर फर्किरहेका छन् । उनीहरू सबैको स्वास्थ्य परीक्षण सम्भव नभएको सीमामा खटिएका स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले पनि भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षण सम्भव नभएको जनाए । ‘शंका लागेका व्यक्तिको भने स्वास्थ्य परीक्षण गरिरहेका छौं । केहीमा संक्रमण देखिएको छ । उनीहरूलाई भेरी अस्पताल पठाइरहेका छौं,’ उनले भने ।

कर्णालीमा पनि जोखिम बढ्दै

रोजगारीका लागि भारत गएकाहरू धमाधम फर्किन थालेपछि कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको छ । शनिबारसम्म प्रदेशमा ४३ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३ जना प्रदेश अस्पतालमा उपचाररत छन् भने ४० जना होम आइसोलेसनमा छन् । केही समय संक्रमितको संख्या शून्यजस्तै देखिएको कर्णालीमा शनिबार एकै दिन १२ जना कोरोना पुष्टि भएको हो । प्रदेशमा पछिल्लो दुई सातामा मात्रै ३ हजार ५० जना नागरिक भारतबाट फर्किएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार फागुनसम्म प्रदेशभरि ६ जनामात्र सक्रिय संक्रमित थियो ।

चैतमा संक्रमित भएका सबै सुर्खेतका बासिन्दा भएको जिल्ला स्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले बताए । ‘बीचमा कम भएको जस्तो देखिएकाले सबैले कोरोनालाई बेवास्ता गरेको देखिन्छ,’ उनले भने, ‘अब सबै सजग हुन जरुरी छ ।’ उनका अनुसार अहिले सुर्खेत विमानस्थल, बबई र कुइने नाकामा हेल्थ डेस्क स्थापना गरी कर्णाली भित्रिनेको ज्वरो मापन भइरहेको छ । यसअघि प्रदेशका ४ जिल्लाबाट पीसीआर परीक्षण गरिँदै आएकामा अहिले सुर्खेत र जुम्लामा मात्रै भइरहेको छ । दैलेख र रुकुम पश्चिमका ल्याबमा परीक्षण नभएको वाग्लेले बताए । उनका अनुसार जनस्वास्थ्य सेवा कार्यालयमा आइतबार, मंगलबार र बिहीबार निःशुल्क कोरोना परीक्षण भइरहेको हो ।

अहिले पीसीआर र एन्टिजेन विधिबाट परीक्षण भइरहेको छ । बाहिरबाट आएकालाई राख्न क्वारेन्टाइन पुनर्निर्माण गर्ने विषयमा प्रदेश सरकारले ठोस निर्णय गरिसकेको छैन । प्रदेशका विभिन्न अस्पतालमा ३४ वटा भेन्टिलेटर र ६२ आईसीयू बेड तयारी अवस्थामा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले बताए ।

२२ जनामा संक्रमण

बर्दिया– जिल्लामा आइतबारसम्म कोरोना संक्रमितको संख्या २२ पुगेको छ । एक साताअघिसम्म यहाँ १५ जना संक्रमित थिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये २ जना भारतको महाराष्ट्र र गुजरातबाट आएका हुन् । उनीहरूको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । बाँकी २० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?