चैत्य पुनर्निर्माणमा वडाको अवरोध

सडकछेउमै रहेको चैत्यलाई अन्त सार्ने नियतले वडाध्यक्षको अगुवाइमा जग राख्न नदिएको आरोप
दामोदर न्यौपाने

काठमाडौँ — लुभुको लिच्छविकालीन मानिएको चैत्य पुनर्निर्माणमा महालक्ष्मी नगरपालिका–८ का वडाध्यक्षले अवरोध गरेको सम्पदा संरक्षण अभियन्ताले आरोप लगाएका छन् । वडाध्यक्ष विश्वराज श्रेष्ठको अगुवाइमा गएका ५ जनाको समूहले चैत्यको जगमा माटो हालेर पुरिदिएको अभियन्ताले आरोप लगाएका हुन् ।

‘जग राख्न सुरु गरेको दुई दिनमै वडाध्यक्षलगायत टोलका मान्छे आएर भत्काइदिए,’ लुभुका सम्पदा संरक्षण अभियन्ता चिरीबाबु महर्जनले भने ।

सामान्य जीर्णोद्धार मात्र गरे हुने चैत्यलाई जगैदेखि भत्काएर पुरातत्त्व विभागले पुनर्निर्माण गर्न लागेको थियो । तर, सडकछेउमै रहेको चैत्यलाई अन्त सार्ने नियतले वडा कार्यालयले जग राख्न नदिएको महर्जनले बताए । प्राचीन स्मारक संरक्षण ऐनले कुनै पनि सम्पदाको स्थानान्तरण गर्न निषेध गरेकाले सार्न नहुने भन्दै स्थानीय र संरक्षण अभियन्ताले विरोध गरेका थिए । विरोध बढ्दै गएपछि सहमति जुटाउन वडा कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा सहभागीले अन्यत्र सार्दा मौलिकता मासिने भन्दै सार्न नहुने पक्षमा उभिएका थिए ।

पुरातत्त्वले पनि स्थानीयको सहमति भए सार्न सकिने जनाएको थियो । ‘पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर थापाले सहमति गर्नु हुन्छ भने सार्छौं भन्नुभएको थियो,’ महर्जनले भने, ‘तर हामी सार्नु हुँदैन भन्ने पक्षमा उभियौं ।’ स्थानीयले चैत्य सार्न नदिएपछि विभागले बिहीबारदेखि काम सुरु गरेको थियो । वडाध्यक्ष श्रेष्ठले भने आफूले नभई आक्रोशित स्थानीयले जग पुरेको दाबी गरे । ‘उहाँहरू भत्काउन्जेल किन चुप लाग्नुभयो ?’ श्रेष्ठले प्रश्न गरे, ‘भत्काउने बेलैमा रोक्नुपर्थ्यो ।’

अभियन्ताले भने रातारात भत्काएको बताए । ‘हामीले हुँदैन भन्दाभन्दै जबर्जस्ती भत्काइदिए,’ महर्जनले भने, ‘भत्काइसकेपछि जबर्जस्ती चैत्य सार्न सकिन्छ भनेर वडाले चलाखी गरेको हो ।’ यसमा संलग्नलाई कारबाहीको माग गर्दै प्रशासनमा उजुरी दिने तयारी गरिरहेको महर्जनले जानकारी दिए । जग पुर्ने कामको स्थानीय पुच, सुवर्णनास पुच, नेवा देय दवू, शिवसेना नेपाल, नेवा एकता समाज, लोकहित श्री कार्यकारी समाज, ललितपुर बौद्ध जागर संघ, नेवा सांस्कृतिक पुचलगायतले विरोध गरेका छन् ।

चैत्यका बौद्ध धर्मसँग सम्बन्धित महत्त्वपूर्ण सामग्रीसमेत बाहिरै फालिएको महर्जनले गुनासो गरे । पहिला पाटीमा राखिएका चैत्यका अवशेष, गजुर, वरिपरि देवता राख्ने ढुंगाका खोपाहरू, चैत्यमाथि राखिएका नागलगायत मिल्काइएका छन् । यसलाई संरक्षण गरिदिन वडा र प्रहरीलाई अनुरोध गरे पनि बेवास्ता गरेको उनले बताए ।

वडाध्यक्ष श्रेष्ठले बाटो साँघुरो भयो भन्ने स्थानीयको गुनासो आएकाले चौडा बनाउने योजना भएको बताए । ‘अलि पर बनाए के हुन्छ त भन्ने कुरा हो हाम्रो,’ उनले भने । वडाले एकतर्फी हटाएर दोहोरो बनाएपछि सवारी चाप बढेको महर्जनले गुनासो गरे । ‘ललितपुर महानगरले पनि एकतर्फी सवारी व्यवस्था गरेर सवारी चाप घटाएको छ,’ महर्जनले भने, ‘यहाँ पनि यस्तै गर्न सकिन्छ ।’

प्रकाशित : चैत्र ३०, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?