कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बस्तीमा ५ घण्टा जोडी बाघ

दुई–तीन दिन लगातार कराएको पोथीको आवाज पहिल्याएर भाले आइपुगेको थियो । जोडी बाघ बस्तीमा आएर खेल्न थालेपछि भगरैयाका बासिन्दा दिनभर घर बाहिर निस्कन सकेनन् ।
कमल पन्थी

काठमाडौँ — शुक्रबारदेखि नै नजिकै बाघ कराएको सुनिन थालेपछि सशस्त्र प्रहरीको मधुवन नगरपालिका–३ भगरैयामा रहेको बीओपीको टोली सतर्क थियो । शनिबार राति पनि बाघ करायो तर अघिल्ला दिनहरूको भन्दा फरक प्रकारको आवाज आयो ।

बस्तीमा ५ घण्टा जोडी बाघ

बिहान ३ बजे बीओपीबाट टर्च बाल्दा दुइटा बाघ प्रस्टै देखिएपछि सई भीमबहादुर ओलीले टोलीलाई सतर्क गराए– ‘टर्च नबाल्नू, ती बाघलाई डिस्टर्ब हुने केही नगर्नू ।’

उनले तत्कालै गुलरियामा फोन गरेर प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र सशस्त्रका एसपी नरबहादुर रावतलाई जानकारी गराए– ‘हाम्रो बीओपी छेवैमा दुइटा बाघ आएर खेल्दै छन् । भालेपोथी जस्तो देखिन्छ ।’ त्यसपछि बीओपीले वरपरका गाउँलेलाई सतर्क गरायो । ‘बाघ नजिकै आएको छ, घरै भित्र बस्नुस् भनेर गाउँलेलाई खबर गर्‍यौं,’ ओलीले भने, ‘बिहान गाउँलेहरू घरबाट निस्किएनन् ।’

सदरमुकाम गुलरियाबाट २२ किमि दूरीमा पर्ने भगरैयामा बीओपी वरपर करिब ६० घरटहरा छन् । नजिकै दशगजा र भारतीय सीमा छ । जंगलले घेरिएको यो क्षेत्रमा एकै पटक जोडी बाघ देखिएपछि गाउँले डराए । बिहानभर बाघ र बघिनी भगरैयाको सडक र सुकेको तालमा खेलेको गाउँलेले हेरिरहे । निकैबेर सुक्खा तालमा बाघको जोडी रमाएको थियो । प्रत्यक्षदर्शीका अनुसार केहीबेर बघिनी बाघलाई छाडेर नेपालतर्फको करिब ५ सय मिटर उत्तरी भूभागमा पुग्ने गर्थी । केहीबेरमा फेरि भाले भएको ठाउँमा फर्कन्थी । भगरैयामा सशस्त्रको पोस्टनजिक बाघ र बघिनी पाँच घण्टासम्म कहिले फाँट त कहिले सडकमा खेल्दै रहे । बाघले बघिनीलाई फकाउँदै र लखेट्दै भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षभित्र पुर्‍याउने प्रयास गर्थ्यो ।

बस्तीमा बघिनी नेपालबाट र बाघ भारतबाट आएको अनुमान गरिएको डिभिजन वन अधिकृत महेन्द्र वाग्लेले बताए । उनका अनुसार बिहान ८ बजे बघिनीलाई लिएर बाघ भारतीय घना जंगलतर्फ लागेको थियो । भाले खोज्ने बेला भएकाले केही दिनदेखि बघिनी कराएको र त्यही आवाज पहिल्याएर भाले आएको अनुमान उनको छ । सशस्त्रको पोस्टबाट ५ मिटर दूरीमा भारतको आरक्ष छ । आइतबार साँझसम्म बस्तीमा त्रास थियो ।

बाघको डरले स्थानीयले छोराछोरीलाई खाता, ओराली बजारको विद्यालयमा पढ्न पठाएनन् । स्थानीय सुधन थरुनीले आफ्ना छोरीछोरीलाई पढ्न पठाउन नसकेको बताइन् । गत असोज ५ गतेदेखि बाघले निरन्तर खाता जैविक मार्गमा ५ जनाको ज्यान लिएपछि स्थानीयवासीमा त्रास रहेको सनतकुमार साहले बताए । भगरैया गाउँका बासिन्दा पूर्वपश्चिम र उत्तरतर्फ नेपाली जंगल र दक्षिणमा भारतको कतरनियाघाट वन्यजन्तु आरक्षले घेरेको छ ।

आइतबार बिहान देखिएको बघिनीलाई केहीअघि दुइटा डमरुसहित स्थानीयले देखेको बताएका छन् । बाघ बस्ती आसपास बस्न थालेपछि भगरैया र कोठियाघाट जंगल हुँदै आउजाउमा एक साताका लागि रोक लगाएको छ । बस्तीमा बाघको जोडी आएको खबर पाएपछि प्रजिअ सुनार र सशस्त्रका एसपी रावत सुरक्षाकर्मीसहित वस्तीमै आएका थिए । सँगै आएका सुरक्षाकर्मीले हतियार तेर्स्याए । प्रशासनले हुलाकी सडकअन्तर्गत भगरैयादेखि कोठिया खण्डमा आउजाउ बन्द गरायो । तर उनीहरू पुग्नु १५ मिनेटअघि नै बाघको जोडीले भगरैया छाडिसकेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रविन कडरियाका अनुसार बघिनीले गर्भाधान गरेको साढे तीन महिनामा एकै पटक २ देखि ४ वटासम्म डमरु जन्माउँछे । ‘बाघ औसत १५ वर्षसम्म बाँच्छन्, बघिनीले आफ्नो जीवनकालमा औसत १० देखि १५ वटा बच्चा जन्माउँछे । बघिनी ४ वर्षको उमेरदेखि बच्चा जन्माउन लायकका हुन्छन्,’ उनले भने ।

प्रकाशित : चैत्र ३०, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?