चितवनमा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २० घाइते- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, २० घाइते

रमेशकुमार पौडेल

चितवन — निर्माणाधीन वडा कार्यालय भवन ढलानको काम गरेर फर्कंदै गरेका २५ मजदुर सवार ट्रयाक्टर आइतबार साँझ पूर्वी चितवनको भण्डाराको पहाडी क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

घाइतेहरूको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले बताए । राप्ती नगरपालिका–११ को वडा कार्यालय भवन ढलान गरेर भण्डारा फर्कंदै गरेका मजदुर सवार ना१त ६२८२ नम्बरको ट्रयाक्टर चिउडेखोलामा दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट झन्डै दुई सय मिटर तल खसेको हो । पाँच जनाको मृत्यु भएको र अरूको अवस्था पनि गम्भीर रहेको रिपोर्ट छ,’ डीएसपी थापाले भने, ‘उद्धार र उपचारको क्रम जारी छ । मृतक र घाइतेहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरूलाई भरतपुरको सरकारी र दुवै मेडिकल कलेजका अस्पतालहरूमा भर्ना गरिएको छ ।’

राप्ती नगरपालिकाका मेयर प्रभा बरालले घटना पुष्टि गर्दै घाइतेको अवस्था बुझ्न अस्पताल जान लागेको बताइन् । स्थानीय गुमन तामाङले घटनास्थलमा पाँच जनाको शव देखेको बताए । ‘म घटनास्थलमै पुगेको थिएँ । भीरनजिक अलि अप्ठ्यारो मोड छ, त्यहींबाट ट्रयाक्टर खसेछ । हामीले पाँचवटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई अस्पताल पठाएका छौं,’ उनले भने, ‘पाँच जना त उहीं बितेका थिए । अरूको अवस्था पनि चिन्ताजनक नै छ ।’

प्रकाशित : चैत्र २९, २०७७ २३:२५
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्दै

रासस

काठमाडौँ — नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । 

यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ ।

हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीरकण गरी करिब साढे पाँच लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने समावेश छैन । त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण नै अपलोड हुन बाँकी छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । कांग्रेसले आसन्न महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफलमा गर्न केन्द्रीय समिति बैठक सोमबार बोलाएको छ ।

ग्रेसको १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म शतप्रतिशत थपेर दोब्बर पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए । कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेभसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । कांग्रेसको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँ छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क ३०० रुपैयाँ रहेको छ ।

कांग्रेसले पार्टीको गाउँ/नगर वडा अधिवेशन विसं २०७८ असार २० गते, गाउँ/नगरपालिका अधिवेशन आगामी असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

प्रकाशित : चैत्र २९, २०७७ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×