कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

सत्ता समीकरणबारे जसपा अझै अनिर्णीत, शीर्ष नेताबीच मतभेद यथावत

बबिता शर्मा

काठमाडौँ — भावी सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटे पनि उनीहरूबीच विवाद कायमै देखिएको छ । आइतबारको पदाधिकारी बैठकमा भावी समीकरणलाई लिएर शीर्ष नेताका दुईथरी मत आएका छन् । सोही कारण बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सत्ता समीकरणबारे जसपा अझै अनिर्णीत, शीर्ष नेताबीच मतभेद यथावत

एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर जान सकिने पक्षमा देखिएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ‘प्रतिगमनका मतियार बनेका ओलीसँग सहकार्य गर्न नसकिने’ अडानमा उभिएका छन् ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठकमा जसपाका नेताहरुले आन्तरिक छलफल गरेर सत्ता समीकरणबारे निर्णय लिइने बताएका थिए । त्यसैअनुसार जसपाका शीर्ष नेताहरुको बैठक बसेको हो । तर, भावी गठबन्धन ओलीसँगै वा ओलीविरोधी दलहरुसँग भन्नेमा जसपाका नेताको मत विभाजित भएको हो ।

कांग्रेसले चैत २० मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिने निर्णय गरेको थियो । तर, संसद्‌मा चौथो शक्तिका रुपमा रहेको जसपा अनिर्णीत हुँदा सत्ता गठबन्धनको गाँठो फुकेको छैन । संसद्‌मा जसपाका ३२ सांसद छन् । ओली सरकारको निरन्तरता वा कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ गठबन्धनका लागि जसपा निर्णायक भूमिकामा छ । तर, संसद् पुन: स्थापना भएको दुई महिना पुग्न लाग्दा पनि जसपाले भावी गठबन्धनबारे मूर्त निर्णय लिएको छैन ।

सहभागी अर्का नेताका अनुसार बैठकको सुरुमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग भएको वार्ता सकारात्मक रहेको र उनले आफूहरुका माग सम्बोधनका लागि प्रक्रियासमेत थालेको बिफ्रिङ गरेका थिए । ‘अहिले हामीले हतारमा केही निर्णय लिन आवश्यक छैन । ओलीले पनि हाम्रा माग सम्बोधनको प्रक्रिया थालेका छन । केही समय पर्खनुपर्छ । माग सम्बोधन भए भने सत्ता समीकरणको विषयमा सही निर्णय लिन सकिन्छ’, ती नेताले ठाकुरको भनाइ उद्धृत गर्दै भने ।

वरिष्ठ नेता महतोले पनि माग पूरा हुने दिशातिर गएका बेला त्यसलाई प्रभावित पार्ने खालका अन्य निर्णय लिन नहुने मत राखेका थिए । महतोले सरकारको विषय संसद्‌मा प्रवेश गरेपछि मात्रै जसपाले निर्णय लिनुपर्ने धारणा राखेको सहभागी ती नेताले बताए ।

तर, बैठकमा भट्टराई र यादव भने तत्काल नयाँ सत्ता समीकरणको लागि पार्टीले निर्णय लिनुपर्ने मत राखेका थिए । ‘प्रतिगमनका मतियार ओलीसँग सहकार्य सम्भव छैन र गर्नु पनि हुँदैन । जसपाले सही र उचित निर्णय लिएर देशलाई निकास दिनुपर्छ’, भट्टराईको भनाइ उद्धृत गर्दै सहभागी ती नेताले भने ।

उनका अनुसार बैठकमा अध्यक्ष यादवले भनेका थिए, ‘ओलीसँग राजनीतिक रुपमै हाम्रा मतभेद छन् । उनीसँग सहकार्य हुन सक्दैन र हाम्रा मुद्दा छाड्ने भन्ने पनि हुँदैन । परिवर्तनविरोधी ओलीको विकल्प आजको आवश्यकता हो । अब जसपाले विकल्प दिनुपर्छ ।’

अध्यक्ष यादवले बैठकबाट निस्कनेक्रममा पनि ओलीसँग सहकार्य सम्भव नरहेको बताएका थिए । ‘अहिले सरकारलाई समर्थन गर्ने, प्रतिक्रान्तिलाई सघाउने र प्रतिगमनलाई बल पुर्‍याउने हुँदैन’, यादवको भनाइ थियो ।

सत्ता गठबन्धन गर्न जसपाले रेशम चौधरीको रिहाईलाई मुख्य सर्त बनाएको छ । यही मुद्दा लिएर जसपाका अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्री ओलीसँग पटक-पटक संवाद गरेको छन् ।

रेशम चौधरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको मुद्दा फिर्ता र उनीहरूको रिहाइलाई भावी सत्ता समीकरणको अर्को सर्त जसपाले बनाएको छ । जसपाले पूर्वन्यायाधीश गिरीशचन्द्र लाल आयोगको मधेस आन्दोलनबारेको प्रतिवेदन सार्वजनिकलाई पनि सर्त बनाएको छ । यसबाहेक संविधान संशोधनलाई अर्को मुख्य मुद्दा बनाएको छ ।

प्रकाशित : चैत्र २९, २०७७ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?