कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णालीमा बढ्दै कोरोना जोखिम

प्रदेशभर ४३ सक्रिय संक्रमित, एकै दिन १२ जनामा कोरोना पुष्टि
चाँदनी कठायत

वीरेन्द्रनगर — रोजगारीका लागि भारत गएकाहरू धमाधम फर्किन थालेपछि कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको छ । शनिबारसम्म प्रदेशमा ४३ जना सक्रिय संक्रमित छन् । तीमध्ये ३ जना प्रदेश अस्पतालमा उपचाररत छन् भने ४० जना होम आइसोलेसनमा छन् ।

कर्णालीमा बढ्दै कोरोना जोखिम

केही समय संक्रमितको संख्या शून्यजस्तै देखिएको कर्णालीमा शनिबार एकै दिन १२ जना कोरोना पुष्टि भएको हो । भारतमा संक्रमण बढेसँगै कामका लागि भारत गएकाहरू घर फर्कनेक्रम बढ्दा जोखिम बढेको जिल्ला स्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले बताए । प्रदेशमा पछिल्लो दुई सातामा मात्रै ३ हजार ५० जना नागरिक भारतबाट फर्किएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार फागुनसम्म प्रदेशभरि ६ जनामात्र सक्रिय संक्रमित थियो ।

चैतमा संक्रमित भएका सबै सुर्खेतका बासिन्दा भएको जिल्ला स्वास्थ्य प्रमुख वाग्लेले बताए । ‘बीचमा कम भएको जस्तो देखिएकाले सबैले कोरोनालाई बेवास्ता गरेको देखिन्छ,’ उनले भने, ‘अब सबै सजग हुन जरुरी छ, देशबाहिरबाट आउनेहरू स्वास्थ्यकर्मीको निगरानीमा रहनेछन् ।’ उनका अनुसार अहिले सुर्खेत विमानस्थल, बबई र कुइने नाकामा हेल्थ डेस्क स्थापना गरी कर्णाली भित्रिनेको ज्वरो मापन भइरहेको छ ।

भारतमा कोरोनाको जोखिम बढेपछि नेपालमा पनि सोही अवस्था आउने हो कि भन्ने त्रास फैलिएको स्थानीय कमल केसीले बताए । सरकारले परीक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । यसअघि प्रदेशका ४ जिल्लाबाट पीसीआर परीक्षण गरिँदै आएकामा अहिले सुर्खेत र जुम्लामा मात्रै भइरहेको छ । दैलेख र रुकुम पश्चिमका ल्याबमा परीक्षण नभएको वाग्लेले बताए । उनका अनुसार जनस्वास्थ्य सेवा कार्यालयमा आइतबार, मंगलबार र बिहीबार नि:शुल्क कोरोना परीक्षण भइरहेको हो ।

अहिले पीसीआर र एन्टिजेन विधिबाट परीक्षण भइरहेको छ । बाहिरबाट आएकालाई राख्न क्वारेन्टाइन पुनर्निर्माण गर्ने विषयमा प्रदेश सरकारले ठोस निर्णय गरिसकेको छैन । गत वर्ष कर्णालीमा भित्रिनेका लागि ८ सय ९१ स्थानमा ४१ हजार ९ सय ५६ बेडको क्वारेन्टाइन निर्माण गरिएको थियो । जसमध्ये अहिले ७६ स्थानमा १ हजार ९ सय ६ बेडमात्रै बाँकी छन् । प्रदेशका विभिन्न अस्पतालमा ३४ वटा भेन्टिलेटर र ६२ आईसीयू बेड तयारी अवस्थामा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले बताए ।

प्रकाशित : चैत्र २९, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?