कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पानीबाट हाइड्रोजन निकालेर गाडी कुदाउँदै शिशिर

‘यो प्रविधिको प्रयोगबाट इन्धनमा हुने खर्चको न्यूनतम २५ देखि ३० प्रतिशत बचत हुन्छ ।’
गोविन्द पोखरेल

काठमाडौँ — पानीबाट गाडी कुदाउन सम्भव छ ? धेरैलाई असम्भव लागेको यही प्रश्नको उत्तर खोज्न कस्सिए स्टेन्ली मेयर्स । अनि यी अमेरिकीले विकास गरे– ‘वाटर फ्युल सेल’ । यो प्रविधिअन्तर्गत पानीबाट हाइड्रोजन निकालेर त्यसलाई इन्धनका रूपमा प्रयोग गर्न सकिने उनको दाबी थियो । सन् १९९६ को घटना हो यो । 

पानीबाट हाइड्रोजन निकालेर गाडी कुदाउँदै शिशिर

यो प्रविधिको विकाससँगै मेयर्सले आफू ८३ लिटर पानी प्रयोग गरेर लस एन्जलसदेखि न्युयोर्कसम्म पुगेको प्रचार पनि गरे । तर उनका कुरा धेरैले खण्डन गरे, पत्याएनन् ।

त्यसको दुई वर्षपछि मेयर्सको मृत्यु भयो । बेल्जियमका दुई लगानीकर्तासँग एक रेस्टुरेन्टमा गफ गर्ने क्रममा विष खुवाएर दाजुको हत्या गरिएको भाइ स्टेफनले आरोप लगाए । तेल माफियाहरूको षड्यन्त्रमा उनको हत्या गरिएको हल्ला पनि चल्यो । तर अमेरिकी प्रहरीको अनुसन्धानले ४८ वर्षीय मेयर्सको मृत्यु ‘सेरिब्रल एन्युरिज्म’का कारण भएको औंल्यायो । प्रहरी रिपोर्टअनुसार उनलाई उच्च रक्तचापको समस्या थियो ।

०००

२०७२ सालको शक्तिशाली भूकम्पपछि पीडितका लागि देश–विदेशमा सहयोग संकलन भइरहेको थियो । भारतको बेंग्लोरमा पनि नेपाली विद्यार्थीहरू ‘हेल्प नेपाल बेंग्लोर’ संस्थामार्फत सहयोग जुटाउन खटिए । संस्थाका अध्यक्ष थिए– २७ वर्षीय इन्जिनियर शिशिर जीसी । संकलित रकमबाट पीडितका लागि ५ टन सामान खरिद गरेर उनी नेपाल आए । यति बेला उनको इन्जिनियरिङ पढाइ पूरा हुन लागेको थियो ।

भिडियो हेर्नुहोस्

त्यसको केही समयपछि नेपालका राजनीतिक दलहरू एक ठाउँ उभिएर नयाँ संविधान जारी गरे । भारतले असहमति जनाउँदै नाकाबन्दी गरिदियो । भूकम्पको पीडामा रहेका नेपालीले अर्को मार सहनुपर्‍यो ।

इन्धन र उपभोग्य वस्तुको अभाव ह्वात्तै चुलियो । चुलो बाल्नै मुस्किल पर्न थाल्यो । पेट्रोल र ग्यास लिन घण्टौं लाम बस्नुपर्ने । त्यो पनि कालोबजारियासँग महँगोमा किन्नुपर्ने बाध्यता थियो ।

‘त्यो देख्दा मलाई हामी सधैं किन अरूसँग निर्भर हुने, आत्मनिर्भर हुन किन सक्दैनौं भन्ने लाग्यो,’ शिशिर भन्छन्, ‘नेपालले वार्षिक २ खर्ब ४३ अर्ब बराबरको पेट्रोलियम खरिद गर्दो रहेछ । त्यसबाट ३० देखि ४० प्रतिशत मात्रै बचत गर्न सके त्यसलाई देश विकासमा लगाउन सकिन्छ ।’

इन्धनमा आत्मनिर्भर हुने विकल्प खोज्दै अघि बढ्दा उनको दिमागमा अचानक आइपुग्यो– पानी । जलस्रोतको धनी देशमा यो नै राम्रो विकल्प हुन सक्ने शिशिरले निष्कर्ष निकाले । यसका लागि उनै मेयर्सको ‘वाटर फ्युल सेल’ फर्मुला पछ्याए– पानीमा रहेको अक्सिजन र हाइड्रोजनलाई विच्छेद गर्ने अनि त्यही हाइड्रोजनलाई सहयोगी इन्धनका रूपमा प्रयोग गर्ने ।

पानीको ‘मोलिक्युल्स’लाई विच्छेद गरेर इन्धन निकाल्न उनले आफ्नै डिभाइस बनाए– ‘सक्स डिभाइस’ । अर्थात्, शिशिर्स हाइड्रोजन अक्सिजन डिभाइस (एसएचओएक्स) । आखिरमा पानीबाट ग्यास निकाली त्यसलाई पेट्रोल वा डिजेलमा मिसाएर गाडी चलाइछाडे । यसो गर्दा थाेरै इन्धनले पनि पहिलेभन्दा बढी माइलेज दिन थाल्यो ।

०००

बुटवल घर भएका शिशिर मेकानिकल इन्जिनियर हुन् । उनले बुटवलमै जीसी रिसर्च एन्ड डेभलपमेन्ट प्रालि स्थापना गरेर यससम्बन्धी अनुसन्धान गरे । उनका अनुसार सक्स डिभाइसले पानीमा भएको हाइड्रोजन र अक्सिजनलाई छुट्टयाएर हाइड्रोजनलाई गाडीको इन्जिनमा र शुद्ध अक्सिजनचाहिँ गाडीभित्र पठाइदिने काम गर्छ । ‘यो प्रविधिबाट चारवटा फाइदा छन् । पहिलो त पैसाको बचत हुन्छ, गाडीको माइलेज बढ्छ । यसको प्रयोगबाट इन्धनमा हुने खर्चको न्यूनतम २५ देखि ३० प्रतिशत बचत हुन्छ,’ उनले भने ।

शिशिरका अनुसार यो प्रविधिले गाडीभित्र पिस्टनमा रहेको भल्भमा अड्केको कार्बनलाई सफा गराइदिने, गाडीको पिकअप पावर बढाउने र इन्जिनलाई ‘स्मुथ’ गराइदिन्छ । गाडीबाट निस्कने कार्बनडाअक्साइड र हाइड्रोकार्बनको उत्सर्जनमा ६० प्रतिशतले कमी आउँछ । यसबाट प्रदूषण पनि कम हुन्छ ।

०००

यो प्रविधि विश्वका लागि पुरानो भए पनि नेपालका लागि भने पहिलो भएको शिशिर बताउँछन् । पानीबाट निस्कने इन्धन पेट्रोलियमको पूर्ण विकल्प भने होइन । यसले पेट्रोलियमको खपत केही घटाइदिने हो ।

‘पानीबाटै गाडी चलाउने भन्दैमा पेट्रोल ट्यांकीमै पानी हाल्ने हैन । पानी सक्स डिभाइसमा हाल्ने हो,’ उनले भने, ‘डिभाइसले पानीलाई हाइड्रोजन र अक्सिजन ग्यासमा परिवर्तन गरिदिन्छ । त्यही ग्यास इन्जिनमा जाने हो । पानी सिधै इन्जिनमा जाने हैन ।’

उनका अनुसार पानी सिधै गए इन्जिन बिग्रन्छ । शुद्ध हाइड्रोजन ग्यास इन्जिनमा गए त्यसले इन्धनका रूपमा काम गर्छ ।

गाडीको ‘लगेज कम्पार्टमेन्ट’मा यो डिभाइस सेट गरिन्छ । डिभाइसबाट एउटा पाइप ‘एयर फिल्टर’मा जोडिएको हुन्छ । ‘पेट्रोल ट्यांकीदेखि पेट्रोल र हाम्रो डिभाइसबाट ग्यास जान्छ । इन्जिनमा पुग्नुअघि उक्त ग्यास र पेट्रोल मिसिन्छ । त्यो इन्जिनमा पुगेपछि काम गर्छ,’ शिशिरले भने ।

उनका अनुसार हाइड्रोजनलाई पेट्रोलभन्दा राम्रो इन्धन मानिन्छ । इन्जिनभित्र पुगेपछि हाइड्रोजन ग्यासको प्रज्वलनशीलता (कम्बसन) सय प्रतिशतसम्म हुन्छ, जुन पेट्रोलमा हुँदैन । हाइड्रोजन ग्यासले गाडीको पिकअप क्षमता बढ्नुका साथै इन्जिन हलुका हुन पुग्छ ।

सक्स डिभाइसमा ४.५ लिटर पानी अट्छ । जसले पेट्रोलसँग मिलेर एकपटकमा ३५ सयदेखि ४ हजार किलोमिटरसम्म माइलेज दिने शिशिरले सुनाए । तर, यो पानी साधारण पानीभन्दा केही फरक हुन्छ । ‘डिस्टिलेसन गरेको पानीलाई ‘केमिकल्ली रिट्रिटेड’ गरिनुपर्छ,’ उनले भने, ‘यसले गर्दा रासायनिक प्रतिक्रिया छिटो हुन्छ ।’

शिशिरले ‘सक्स डिभाइस’ को मूल्य ५० हजार रुपैयाँ तोकेका छन् भने ५ वर्षको ग्यारेन्टी दिएका छन् । डिभाइसका कारण गाडीको इन्जिनमा क्षति पुगे ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी पनि गरेका छन् ।

०००

सक्स डिभाइसबाट २५ देखि ३० प्रतिशतसम्म इन्धन बचत हुने गरेको पाइएको छ । अहिलेसम्म करिब ५ सयवटा गाडीमा यो डिभाइस जडान गरिएको छ । बाइक, स्कुटर, कार, ट्रकजस्ता सवारीसाधनसहित जेनेरेटरमा समेत सक्स डिभाइस लगाएर इन्धन बचत गर्न सकिने शिशिरले बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पनि आफू चढ्ने गाडीमा यो प्रविधि प्रयोग गरेका थिए । ‘इन्धन कम खपत हुन्छ भनेर प्रयोग गरेको थिएँ । माइलेज पनि राम्रै थियो,’ उनले भने । हाल नेपाल प्रहरी र नेपाल आर्मीका विभिन्न गाडीमा ‘ट्रायल’ भइरहेको छ । डिभाइस प्रयोग गर्नेहरू सन्तुष्ट नै देखिन्छन् । युथ फर नेपालका अध्यक्ष निकोलस भुसालले पनि चार वर्षदेखि यही प्रविधिबाट गाडी कुदाउँदै आएका छन् । ‘इन्धन कम खपत हुँदो रहेछ अनि सवारी चलाउन पनि सजिलो भएको छ,’ उनले भने, ‘पेट्रोलमा खर्च हुने रकमको २० देखि ३० प्रतिशत बचत भएको छ ।’

०००

यही डिभाइसकै कारण शिशिरले बेस्ट साइन्टिफिक इनोभेसन अवार्डलगायत धेरै पुरस्कार पाइसके । उनी अब यो प्रविधि सरकारमार्फत सर्वसाधारणसम्म पुगोस् भन्ने चाहन्छन् । निजी तथा कर्पोरेट क्षेत्रलाई दिँदा व्यावसायिक उत्पादन गर्न सकिए पनि यसबाट राज्यलाई योगदान होला भन्ने उनलाई लाग्दैन । त्यसैले ‘मास प्रोडक्सन’ गर्नुपर्ने प्रस्ताव लिएर मन्त्रालय पनि धाए । तर कसैले चासो देखाएनन् ।

एक महिनाअघि प्रविधि क्षेत्रमा लागेका युवालाई प्रधानमन्त्री निवास बालुवाटारबाट निम्तो आयो । शिशिर बुटवलमै थिए । साँझ प्रधानमन्त्रीले समय दिएको जानकारी पाउनासाथ उनी तत्काल विमान चढेर काठमाडौं आइपुगे । युथ फर नेसनका युवासहित अवधारणा लिएर त्यहाँ पुगे । प्रधानमन्त्रीको सचिवालयले अवधारणापत्र त लियो तर केही दिनभित्रै फोन गर्ने भनेर फिर्ता पठाइदियो । ‘मसहित साथीहरू ठूलो आशाका साथ प्रधानमन्त्री ज्यूलाई भेट्न गएका थियौं,’ शिशिरले भने, ‘तर राम्रोसँग छलफल गर्नै पाइएन । फोटो खिचेर मात्रै फर्कियौं । पछि बोलाउँछौं भनिएको थियो तर अहिलेसम्म फोन आएको छैन ।’

तस्बिरहरू : दीपेन्द्र रोका/कान्तिपुर

प्रकाशित : चैत्र २९, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?