डकैतीपछि सुनचाँदी व्यवसायीको गोली हानी हत्या 

भरत जर्घामगर

सिरहा — हतियारधारी समूहको आक्रमणबाट गएराति सिरहाको गढिया चौकका एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । पसल लुट्न आएका ६/७ जनाको समूहले व्यवसायीको हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालका अनुसार शनिबार राति पौने १२ बजेतिर हतियारधारी समूहले लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदिप मिझारको हत्या गरेका हुन् । टाउको, अनुहार र हातमा खुकुरी प्रहार र छातीमा गोली लागि घाइते मिझारको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सो समूहले सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।

हत्या गरिएका मिझारकी श्रीमती अनिता दुलाल पनि घाइते छन् । दाहिने हातमा खुकुरी प्रहारबाट घाइते भएकी अनिताको सप्तऋषी अस्पतालमा उपचार भइरहेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दाहालले जानकारी दिए ।

हत्या भएका मिझार लहान नगरपालिका–२२ सिसवनी घरभई गढिया चौकमा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए । श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २९, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?