कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

६ वर्षमा थपिए १०७ गैंडा

चितवन, बर्दिया र शुक्लाफाँटामा बढ्यो, पर्सामा संख्या स्थिर 

चितवन/बर्दिया — दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा विभिन्न कारणले लगातार मरेको खबरले चिन्तित संरक्षणकर्मीलाई शनिबार घोषित गणनाको नतिजाले उत्साहित बनाएको छ । नेपालमा गैंडाको संख्या ७ सय ५२ रहेको गणनाले देखाएको छ । 

६ वर्षमा थपिए १०७ गैंडा

६ वर्षअघि भएको गणनाका तुलनामा यो १ सय ७ ले बढी हो । गैंडा पाइने मुख्य क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको क्षेत्रमा मात्र अघिल्लो गणनाको तुलनामा ८९ वटा गैंडा बढेको पाइएको छ । यो पटक भएको गणनामा चितवन निकुञ्ज र यस आसपासको वनमा ६ सय ९४ वटा गैंडा भेटिएको हो । गणनाले बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैंडा रहेको देखाएको छ । ६ सय ४५ वटा रहेको देखाएको सन् २०१५ को गणनामा चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ वटा थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयमा शनिबार वनसचिव विश्वनाथ ओलीको प्रमुख आतिथ्यमा नतिजा घोषणा भइरहँदा मन्त्रालय र निकुञ्ज विभागका कर्मचारीहरू दंग त हुने नै भए, कार्यक्रममा सहभागी स्थानीय पनि खुसी देखिन्थे । तर गैंडाको संख्या बढ्दा वरपरको मानवबस्तीमा आएर दुःख दिने क्रम बढ्ने पो हो कि भन्ने संशय पनि स्थानीयमा थियो ।

‘लगातार जसो गैंडा मर्दा दुःख लागेको थियो । तर यो गणनाले अवस्था चिन्ताजनक रहेनछ भन्ने देखियो । यसले हामी स्थानीय खुसी नै छौं । तर अब बासस्थलमा ध्यान जानु जरुरी छ,’ संरक्षणकर्मी तथा चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुंगानाले भने । निकुञ्ज र नजिकको वनका साथै साल भएका अन्य वनमा पनि गैंडाको बासस्थल बढाउन योजना ल्याउनुपर्ने माग उनले गरे ।

निकुञ्जसँग जोडिएको पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बासस्थल सुधारमा सबै लाग्नु आवश्यक रहको बताए । ‘गैंडा मर्दा बासस्थल राम्रो भएन भन्ने सुनिएको थियो । बासस्थल राम्रो भए गैंडा जोगिने मात्र हैन बस्तीमा आउँदैन । जसले गर्दा स्थानीयसँग हुने द्वन्द्व हट्छ । संरक्षणमा सहयोग नै पुग्छ,’ मेयर वनले भने ।

चितवन निकुञ्जमा चैत ९ बाट गैंडा गणना सुरु भएको थियो । शुक्रबार गणना सकिएपछि देशभरको नतिजा सौराहाबाट एकै पटक सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै निकुञ्ज विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले अहिले नतिजा मात्रै सार्वजनिक गर्ने र यसै नतिजामा आधारित रहेर योजनाका लागि विभागले कार्यक्रम ल्याउने बताए । ‘अहिले प्रारम्भिक नतिजा मात्र सार्वजनिक भएको हो । बासस्थल सुधारका विस्तृत योजना बनाउन नतिजाको थप विश्लेषण गर्नुपर्छ । हामी ब्लक ब्लकको संख्या विश्लेषण गरेर योजना ल्याउने छौं,’ उनले भने । यद्यपि दुई/तीन वर्षयता बासस्थल सुधारमा निकै ध्यान दिँदै आएको पनि उनले बताए ।

वन मन्त्रालयका सचिव ओलीले पछिल्ला वर्षहरूमा गैंडाले मान्छेमाथि गर्ने आक्रमण घट्दै गएको बताए । बासस्थल सुधार र पछिल्ला वर्षहरूमा चोरी सिकार नियन्त्रणमा आएका कारण पनि गैंडाको संख्या सन्तोषजनक आएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । सन् २०१५ को गणनापछि चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा १ सय ६१ वटा गैंडा मरेका थिए । मरेकामध्ये चोरी सिकारीले पाँचवटा गैंडा मारेको पाइएको उनले बताए । चोरी सिकारमा संलग्नहरू पक्राउ पनि परेका छन् ।

बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेबाट गणना सुरु भएको थियो । गणनामा दुई सय जनाजति कर्मचारी, प्राविधिक र पशु स्वास्थ्यकर्मीहरू जुटेका थिए । गैंडाको मुख्य बासस्थल चितवन निकुञ्ज भए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइन्छन् । चितवनबाट बर्दिया र शुक्लामा स्थानान्तरण गरेर गैंडा लगिएको थियो । यस वर्ष गैंडा गणनामा खटिएका गणक पुलिसराम थारूको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ भने जंगली हात्तीले लखेट्दा भएको भागदौडमा चितवनमा एक जना गम्भीर घाइते भएका छन् । गणनामा परिचालन गरिएका हात्तीहरूलाई जंगली हात्तीले लखेट्दा भएको भागदौडमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत संरक्षण अधिकृत विनोद श्रेष्ठ घाइते भएका छन् । उनी उपचाररत छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पश्चिम क्षेत्रको गैंडा खासा इलाकामा गणना भइरहँदा जंगली हात्ती ध्रुबेले गणनामा परिचालन भएका हात्तीलाई लखेट्दा उक्त दुर्घटना भएको थियो । बर्दियाका ३१ वर्षीय थारूलाई बाघले आक्रमण गरेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र डल्ला बल्कबाट गणना बबई उपत्यकासम्म गरिएको थियो । चोरी सिकार न्यूनीकरण भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेको हो । चितवनबाट बर्दिया निकुञ्जमा स्थानान्तरण गरिएका ८३ वटा गैंडामध्ये द्वन्द्वकालमा चोरी सिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएका थिए । सेनाले ३१ स्थानमा पोस्ट राखेपछि अहिले गैंडाको चोरी सिकार नियन्त्रणमा आएको छ ।

प्रकाशित : चैत्र २९, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?