कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वासुदेव–कमलाजा फिर्ता ल्याइँदै

क्षमापूजा र बाजागाजासहित पट्को टोलमा लैजाने ललितपुर महानगरको योजना
देवेन्द्र भट्टराई

काठमाडौँ — पाटनको पट्को टोलबाट ३७ वर्षअघि हराएर एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति सोमबार ल्याइपुर्‍याइँदै छ ।

वासुदेव–कमलाजा फिर्ता ल्याइँदै

नेपालबाट चोरिएको प्रमाणित भएपछि गत नोभेम्बर ३० मै यो मूर्तिलाई म्युजियमले अमेरिकी प्रहरीको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) लाई हस्तान्तरण गरेको थियो । एफबीआईले दुई महिनाअघि वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको मूर्ति अमेरिकी सरकारकै ढुवानी खर्चमा ल्याइन लागेको हो ।

७० केजीको वासुदेव–कमलाजा मूर्तिमा बायाँतर्फ विष्णु (नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । अन्वेषक लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल (सन् १९८९)’ पुस्तकमा समेत प्रकाशित यो मूर्ति सन् १९८४ मा चोरी भएको जनाइएको छ । कला सम्पदासम्बन्धी यो सोध पुस्तकमा २ सय ७७ वटा नेपाली मूर्ति–सम्पदा चोरिएको विवरण छ । वासुदेव–कमलाजा मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने निर्क्योल कतै गरिएको छैन । न्युयोर्कको जोन–जे कलेजमा आर्ट–क्राइम विषयका प्राध्यापक इरिन एल थोम्सनले पहिलो पटक डल्लास म्युजियममा राखिएको नेपालको मूर्तिबारे लेख लेखेकी थिइन् ।

आर्थिक संकटकै कारण अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजा मूर्तिलाई लागेजति खर्च बेहोरेर ल्याउने घोषणा ललितपुर महानगरपालिकाले गरेको थियो । तर मूर्ति नेपाली दूतावासमा बुझाइएपछि अमेरिकी विदेश मन्त्रालय, एफबीआईसहितका पदाधिकारीबीच दूतावासमा भएको विभिन्न चरणको छलफलपछि विदेश मन्त्रालयले आफ्नै खर्चमा मूर्ति फिर्ता पठाउने निधो गरेको हो । अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘युनाइटेड पार्सल सर्भिस’ (यूपीएस) ले मूर्ति ढुवानी गर्दै छ । अमेरिकी विदेश मन्त्रालयको सहयोग र समन्वयमा यूपीएस कार्गो सेवाले मूर्ति निःशुल्क ढुवानी गरिदिने विषयमा गत बिहीबार नेपाली दूतावासका पदाधिकारीसँग लिखित सहमति भएको छ । उक्त मूर्ति कार्गो आइतबार न्युयोर्कबाट कतार एयरवेजमार्फत उड्ने र सोमबार अपराह्न काठमाडौं आइपुग्ने जनाइएको छ ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले मूर्तिलाई साबिककै मन्दिरमा पुनःस्थापना गर्न लागिपरेको बताए । ‘यो हाम्रो सहर र टोलको पुरातात्त्विक सम्पदासमेत भएकाले यसलाई यही टोल–मन्दिरमैं प्रतिस्थापन गराउने हामीले निर्णय गरेका छौं,’ उनले कान्तिपुरसँग भने । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले वासुदेव–कमलाजा मूर्ति सोमबार नेपाल आउने भए पनि तत्काल ललितपुर महानगरपालिकालाई जिम्मा दिन नसकिने बताए । ‘सम्पदा हस्तान्तरणका केही प्रक्रिया बाँकी रहन्छन्, बढीमा एक साता लाग्न सक्छ,’ उनले भने, ‘यो सम्पदाको जिम्मा लिएपछि मात्रै महानगरपालिकाको प्रस्तावअनुसार हस्तान्तरण हुन सक्ला ।’

मेयर महर्जनले भने क्षमापूजा र बाजागाजाको स्वागतसहित वासुदेव–कमलाजा मूर्तिलाई पट्को टोलमा लाने योजना रहेको जानकारी दिँदै स्थानीय जनताको इच्छाअनुसार सरकारी सहयोग रहनेमा विश्वास व्यक्ति गरे । पाटन दरबार स्क्वायरमा पर्ने पट्को टोलको नारायण मन्दिरमा तत्काल वासुदेव–कमलाजा मूर्ति प्रतिस्थापन गर्न नसकिने भए पनि हाललाई पाटन संग्रहालयमा लगेर राख्न सकिने उनले बताए । विगतमा जस्तै कुनै सम्पदा भेटिए वा विदेशबाट फिर्ता भएपछि पुरातत्त्वको भण्डार कक्ष वा छाउनी संग्रहालयमा लगेर थन्क्याए त्यसको कुनै अर्थ र महत्त्व हुन नसक्ने मेयर महर्जनको भनाइ छ ।

सम्पदाविद् रवीन्द्र पुरीले इतिहासमै पहिलोपटक घर फर्काइएको पुरातात्त्विक महत्त्व र गरिमाको यो सम्पदालाई ठूलै सांस्कृतिक उत्सवका रूपमा प्रतिस्थापन गरिनुपर्ने सुझाव दिए । काठमाडौंस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले समेत विगतमा नेपालबाट चोरिएर अमेरिका पुगेका सम्पदाको घरफिर्तीका लागि विशेष पहल गर्दै आएका छन् ।

सन् १९८५ नोभेम्बरमा संयुक्त राष्ट्रसंघको ४० औं महासभा बैठकबाट अनुमोदन गरिएको सांस्कृतिक सम्पत्ति फिर्ता गर्नेसम्बन्धी प्रस्तावनामा नेपाल, अमेरिकासहितका मुलुकले हस्ताक्षर गरेकाले यस्ता सम्पदा घर फर्किने स्थिति आएको हो । यसैगरी, नेपालबाट चोरेर अमेरिका पुर्‍याइएका ३ वटा प्राचीन सम्पदा पनि नेपाल फर्काउने प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पन्ध्रौं–सोह्रौं शताब्दीका मानिने भूमिस्पर्श मुद्राका बुद्ध, गणेश र १३ औं शताब्दीको काठमा कुदिएको अप्सरा आकृति सम्पदा बढीमा एक महिनाभित्रैमा घर फर्कने भएका हुन् ।

प्रकाशित : चैत्र २९, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?