३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पर्वतमा जंगलको आगो बस्तीमा : ५ घर र १२ गोठ जले

अगन्धर तिवारी

पर्वत — पर्वतको पैयुँ गाउँपालिका–६ सरौखोलास्थित डाँडाकाहुँमा खरबारी तथा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा केही घर र गोठ जलेका छन् ।

पर्वतमा जंगलको आगो बस्तीमा : ५ घर र १२ गोठ जले

शुक्रबार दिउँसो साढे २ बजे जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ५ घर र १२ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पैयुँका प्रहरी निरीक्षक विजय सिंहका अनुसार २ घर पूर्ण र ३ घर आंशिक रुपमा जलेर नष्ट भएका हुन् । आगो राति करिब साढे ९ बजे नियन्त्रणमा आएको उनले बताए । प्रहरीका अनुसार स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् ।

स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा समेत आगलागीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । १२ गोठ जलेको र १/१ वटा भैंसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ ।

बस्तीभन्दा केही तलको जंगलमा लागेको आगो नियन्त्रणका लागि कसैले चासो नदिँदा फैलँदै बस्तीसम्म पसेको स्थानीयले बताएका छन् । तलबाट आगो माथितर्फ फैलँदै गएकोले बस्तीका घर जोगाउन नसकिएको स्थानीय छविलाल गौतमले बताए ।

‘जंगलको आगो यहाँसम्म आउने सोचिएकै थिएन,’ उनले भने, ‘ह्वारहुर्र कसरी आयो पत्तै पाइएन ।’ घरमा भएका लत्ताकपडा, खाद्यान्नलगायत कुनै पनि सामग्री जोगाउन नसकिएको स्थानीयले बताएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित : चैत्र २८, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?