विवादमा ‘कुटपिटपछि मृत्यु’

श्रीमती भन्छिन्– ‘हातखुट्टा बाँधेर मेरो मुखमा गोबर कोच्याएका थिए, श्रीमान्‌लाई चैं मारेरै छाडे’ 
पर्वत पाेर्तेल

कनकाई, झापा — कनकाई नगरपालिका–५ टेक्रास्थित दार्जिलिङ टोलका ५७ वर्षीय बलबहादुर विकले सधैंझैं सोमबार राति पनि रक्सी पिएका थिए । दिनभर श्रम गरेर घर आएपछि रक्सी पिउनु उनको बानीजस्तै थियो । पिएकै सुरमा छिमेकी ४७ वर्षीय मोहन घिमिरेसँग उनको विवाद भयो ।

विवादमा ‘कुटपिटपछि मृत्यु’

सोही क्रममा उनीमाथि घिमिरे पहिले जातीय गालीगलौजमा उत्रिए । विवाद बढ्न थालेपछि विकमाथि निर्घात कुटपिट गरे । ‘काठको चिर्पटजस्तो वस्तुले हिर्काउनुभयो,’ स्थानीय अञ्जली विकले भनिन्, ‘घिमिरे दाजु नकुट्नुस्, मर्न सक्छ भन्दा पनि सुन्नुभएन ।’

त्यसअघि घिमिरे दम्पती नै विकलाई कुट्न झम्टिएर घरै पुगेका थिए । तर, परिवारले रोकेपछि फर्किएका थिए । विक पुनः निहुँ खोज्दै घिमिरेको घर पुगेपछि उनीमाथि निर्घात कुटपिट भएको छोरी कञ्चन विकले बताइन् । घिमिरेले ‘तँलाई आज चैं नमारी छाड्दिनँ’ भन्दै करिब १५ मिनेट निर्घात कुटेको उनको भनाइ छ । उनका अनुसार कुटपिटपछि घिमिरेले घरपछाडिको झाडीमा फालेर गएका थिए । छिमेकीले देखेपछि नातिलाई बोलाएर विकको उद्धार गरिएको थियो । ‘बुबाको आधा परान बेलुकै गएको रहेछ,’ कञ्चनले सुनाइन्, ‘बिहान साह्रो हुनुभयो ।’

यो टोलमा आधा दर्जनजति घर दलित परिवारको छ । धेरैजसो गैरदलित छन् । घिमिरेले विगतमा पनि विकलाई ‘जँड्याहा कामी’ भन्दै दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् । भुजेल थरका एक स्थानीयका अनुसार आफूमाथि पटकपटक भएको दुर्व्यवहार र अपमान सहन नसकेका विकले प्रतिकार गर्न खोजेको र सोही क्रममा उनीमाथि निर्घात कुटपिट भएको बताए । केही वर्षअघि घिमिरेले आफूमाथिसमेत गम्भीर अपराध गरेको विककी श्रीमती मुनाको भनाइ छ । ‘हातखुट्टा बाँधेर मेरो मुखमा गोबर कोच्याएर यातना दिएका थिए, जसोतसो बाँचें,’ आँखा देख्न नसक्ने मुनाले दुखेसो पोखिन्, ‘श्रीमान्लाई चैं मारेरै छाडे ।’ श्रीमान्को मृत्युपछि मुना बूढेसकालमा सहाराविहीन बनेकी छन् ।

विकलाई उपचारका लागि मंगलबार अस्पताल लगिएको थियो । बिर्ता सिटी अस्पतालका चिकित्सकले पेटको आन्द्रा फुटेका कारण तत्काल अप्रेसन गर्नुपर्ने जनाएका थिए । उपचारमा संलग्न चिकित्सकले पेटको बाहिरी भागमा निलडाम रहेकाले पेटमै गम्भीर ढंगबाट कुटपिट भएको र त्यही कारण आन्द्रामा समस्या देखिएको हुन सक्ने बताएका छन् । उपचारको प्रक्रिया सुरु गर्दागर्दै उनको बिहीबार दिउँसो अस्पतालमै मृत्यु भएको थियो । ‘कुटपिटबाटै मेरो श्रीमान्को आन्द्रा फुटेको हो,’ मुनाले भनिन्, ‘कुटीकुटी मारे ।’ विकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

विकका छोरा राजकुमारले बिहीबार इलाका प्रहरी कार्यालय सुरुङ्गामा किटानी जाहेरी दिएपछि घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक उदयशमशेर जबराले घिमिरेलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए । प्रहरीले घटनामा संलग्न नभएका विकका नाति १६ वर्षका दोर्जेलाई समेत अनुसन्धानका लागि हिरासतमा लिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । दोर्जेलाई प्रहरीले नछाडेसम्म अस्पतालबाट विकको शव नउठाउने उनीहरूको अडान छ । विकका ज्वाइँ कमलले भने, ‘निर्दोष बालकलाई गैरकानुनी हिरासतमा राखिएको छ, उनलाई नछाडेसम्म शव उठाउँदैनौं ।’

घटनाबारे प्रहरीले फितलो अनुसन्धान गरेको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले शुक्रबारको बुलेटिनमा विकले अत्यधिक मादक पदार्थ सेवन गरी घिमिरेको घरमा गई बिनाकारण झैं–झगडा गरेको, दुवै जनाबीच सामान्य हातपात भएको र सोही क्रममा लडेर घाइते भएका विकको उपचार क्रममा मृत्यु भएको उल्लेख गरेका छन् । तर, प्रहरीको यो भनाइप्रति स्थानीय सहमत छैनन् । ‘विकलाई निर्घात कुटपिट भएको हामीले देखेका छौं,’ प्रत्यक्षदर्शी अञ्जली विकले भनिन्, ‘त्यही कारण उनको मृत्यु भएको वास्तविकतालाई प्रहरीले नजरअन्दाज गर्न मिल्छ ?’

आरोपित घिमिरेले कुटपिटको घटना स्वीकारेका छन् । उनले सामान्य कुटपिट गरी विकलाई धकेलेको बयान दिएको प्रहरीले जनाएको छ । घिमिरेकी श्रीमती विष्णुमायाले पनि मादक पदार्थ सेवन गरेर निहुँ खोज्न थालेपछि पहिला सामान्य विवाद भएको र पछि श्रीमान्ले धकेल्दा लडेको दाबी गरेकी छन् ।

प्रकाशित : चैत्र २८, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?