१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

देउवाको प्रस्तावलाई जसपाको तामेली

नयाँ सत्ता समीकरणबारे छलफल गर्न बोलाइएको तीन दलको बैठक निष्कर्षविहीन
दुर्गा खनाल

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा अक्सर लामो बोल्दैनन् । शुक्रबार बिहान कांग्रेसनिकट कर्मचारीको कार्यक्रममा भने उनले प्रशिक्षणको शैलीमा चुनाव र आगामी रणनीतिबारे लामै भाषण गरे ।

देउवाको प्रस्तावलाई जसपाको तामेली

प्रतिनिधिसभाभित्रको गणित र कांग्रेसको अवस्थाबारे उल्लेख गर्दै उनले भने, ‘हामीले हाम्रो धरातल बिर्सनु हुँदैन । अहिले सरकार बनाउन संख्या छैन । जुनसुकै बेला चुनावमा जानुपर्ने अवस्था आउन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्छ ।’

गत चुनावमा कांग्रेसले किन हार्‍यो र अब कसरी जित्ने भन्ने विषयमा बोल्दै देउवाले तीन दलको बैठक बोलाउनुको कारण पनि खुलाए, ‘बैठक बोलाएको छैन, शेरबहादुरले वास्तै गरेन, कामै गरेन भन्लान् भनेर बैठक बोलाइदिएको छु ।’ पार्टीभित्रका नेताहरूको चित्त बुझाइदिने प्रयोजनका लागि मात्र शुक्रबार अपराह्न अन्य पार्टीहरूसहितको बैठक बोलाइदिएको संकेत उनको थियो । दिउँसो भएको तीन दलको बैठक करिब त्यस्तै भयो ।

देउवाले आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे । यो प्रस्तावमा विगतमा जस्तै जसपाले ठोस जवाफ दिएन । ओली नेतृत्वको सरकारसँग पनि समदूरीको सम्बन्ध बनाइरहेका जसपाका नेताहरूले देउवाको प्रस्तावलाई ‘पर्ख र हेर’ रणनीतिअन्तर्गत तत्काललाई तामेलीमा राखेका छन् । पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने जवाफ उनीहरूले कांग्रेसलाई दिएका छन् । सरकारले आफ्नो माग पूरा गर्नेतर्फ काम गरिरहेको खबरसमेत जसपा अध्यक्ष महन्थ ठाकुरले सुनाइदिएका छन् ।

सभापति देउवा ओली सरकारप्रति ‘सफ्ट’ भएको भन्दै कांग्रेसका बहुसंख्यक नेताले आलोचना गर्न थालेपछि उनी गत शुक्रबार केन्द्रीय समिति बैठकबाटै सरकारको विकल्प खोज्ने निर्णय गर्न राजी भएका थिए । त्यसपछि उनले नयाँ सरकार निर्माणको पहल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिम्मेवारी दिए । पौडेलले जसपाका नेता ठाकुर, उपेन्द्र यादवलगायतसँग अनौपचारिक छलफल गरे । तर यो एक सातामा भएका छलफलमा परिणाम निस्केन । माओवादी केन्द्रले ओलीको विकल्पमा कांग्रेस नेतृत्वलाई समर्थन गर्ने भन्दै आएको छ । त्यसका लागि उसले पनि जसपालाई मनाउने कोसिस गरिरहेको छ । वैकल्पिक सरकार निर्माण गर्ने विषयमै छलफल सुरु भए पनि त्यो देउवाले औपचारिकताका लागि मात्र गरेको जसपाका केही नेताको बुझाइ छ । ‘पार्टीभित्र दबाब परेकाले देउवाजीले औपचारिकताका लागि बैठक बोलाएको जस्तो देखिन्छ । आजकै बैठकले नयाँ सत्ता समीकरणका लागि कुनै ठोस बाटो देखाएको छैन,’ एक नेताले भने ।

बैठकमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने सत्ता समीकरणकै लागि तीन दल एक ठाउँमा जुट्नु पनि उपलब्धिमूलक भएको बताए । ‘यो बैठकले एउटा मनोवैज्ञानिक वातावरण तय गरेको छ,’ उनले भने, ‘फेरि अर्को पटक ठोस छलफल गर्ने आधार निर्माण भएको छ ।’ सरकार छिटो हटाउन आतुर माओवादी केन्द्रका नेताहरू भने कांग्रेसले औपचारिक रूपमा सरकारको नेतृत्व गर्ने प्रस्ताव ल्याएकामा केही उत्साही देखिन्छन् । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सकारात्मक ढंगले कुराकानी भएको ब्रिफिङ गरे ।

ओलीले सर्वसत्तावादी बाटो लिएको, राज्यका सबै अंगलाई कब्जा गर्न खोजेको र चुनाव घोषणा भए पनि लोकतान्त्रिक ढंगबाट उनले चुनाव नगराउने अवस्था रहेको जस्ता धारणा कांग्रेस नेताहरूले बैठकमा राखेका थिए । यस्ता धारणाका कारण माओवादी केन्द्रका नेताहरूले केही राहत पनि महसुस गरेका छन् । तर जसपाको ठोस जवाफ नपाउँदा सरकारको विकल्प खोज्ने योजना तत्काल पूरा नहुनेमा उनीहरू शुक्रबार झन् प्रस्ट भए ।

शुक्रबारको बैठकमा देउवाले पार्टीको बैठकले सरकार निर्माणको पहल गर्ने निर्णय गरेकाले आफूलाई सहयोग गर्न माओवादी केन्द्र र जसपाका नेताहरूसँग प्रस्ताव गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता श्रेष्ठले आफूहरू पहिलेदेखि नै ओलीको विकल्प खोज्ने पक्षमा रहेकाले कांग्रेसलाई समर्थन गर्ने धारणा राखेका थिए । उनीहरूले नयाँ सरकार बन्ने ठोस आधार तयार नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको बाध्यता पनि सुनाएका थिए । ओली सरकारको विस्थापनका लागि तीन दल मिलेर जानुपर्ने उनीहरूको भनाइ थियो । त्यस्तो आधार तयार हुने हो भने तत्कालै समर्थन फिर्ता लिएर वैकल्पिक सरकार निर्माणमा लाग्न आफूहरू तयार रहेको प्रतिबद्धता माओवादी केन्द्रका नेताहरूले जनाएका थिए । यथास्थितिमा समर्थन फिर्ता लिँदा सरकार पनि नबन्ने र अर्को दिशातर्फ जान सक्ने जोखिम ख्याल गरेर समर्थन कायम राखेको उनीहरूले बताएका थिए ।

जसपाका नेताहरूले भने आफूहरू सरकारभन्दा पनि एजेन्डामा केन्द्रित भएकाले त्यसलाई पूरा गराउने दिशामा लागेको जवाफ दिए । ‘सरकार बनाउने प्रस्ताव ल्याउनुभयो तर हामीले पार्टीभित्र यो विषयमा कुनै छलफल गरेका छैनौं,’ बैठकपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘पार्टीमा छलफलपछि मात्र हामी निर्णयमा पुग्छौं ।’ जसपा नेताहरूले आफ्ना नेता–कार्यकर्तामाथि राजनीतिक आन्दोलनलगायत क्रममा लागेका झूटा मुद्दाबारे सरकारसँग कुराकानी भइरहेको पनि सुनाएका थिए ।

सरकारले सकारात्मक रूपमा मुद्दा फिर्ताको प्रक्रिया अघि बढाइरहेकाले त्यसका लागि बरु कांग्रेसको समेत साथ आवश्यक रहेको नेता ठाकुरले बताएका थिए । जसपाले बिहीबार २ सय ८ जनाको मुद्दा फिर्ताका लागि सरकारलाई विवरण पठाएको थियो । जसपा नेताहरूले प्रधानमन्त्री ओलीसँग निरन्तर छलफल गरेपछि मुद्दा फिर्ताका लागि वातावरण बनेको हो । ‘जसपासँगको सहकार्यलाई अघि बढाउन सजिलो होस् भनेर मुद्दा फिर्ताको तयारी भइरहेको छ, यसमा गृह मन्त्रालयले काम गरिरहेको छ,’ जसपा नेताहरूसँग कुराकानी गरिरहेका एक मन्त्रीले कान्तिपुरसँग भने, ‘जसपाको समर्थन लिएर सरकारको विकल्प खोज्ने कोसिस सफल हुँदैन ।’

सरकारले मुद्दा फिर्ता गरेर जसपाको समर्थन लिने कोसिस गरिरहेको थाहा पाएपछि कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आफूहरू पनि त्यसमा सकारात्मक रहेको र नयाँ सरकार बनेपछि पनि ती काम गर्न सकिने भन्दै आश्वासन दिएका थिए । जसपाका नेताहरूले त्यसबारे बैठकमै कुनै ठोस जवाफ दिन सकेनन् । ‘मुख्य कुरा हाम्रा मुद्दा हुन्, जसले हाम्रा मुद्दालाई बुझ्छ उनीहरूसँग सकारात्मक ढंगले अघि बढ्छौं,’ जसपा वरिष्ठ नेता राजेन्द्र महतोले भने । सरकारले प्रतिगमनकारी काम गर्दा आफूहरू मिलेर अघि बढेको तर प्रतिगमन सच्चिइसकेकाले नयाँ ढंगले अघि बढ्ने उनले बताए । ‘सरकारले प्रतिगमनकारी काम गर्‍यो, त्यो सच्चिँदै छ, नयाँ परिस्थिति बनेकाले नयाँ ढंगले छलफल गरेर पार्टीले निर्णय गर्छ । कांग्रेसले सरकार निर्माणको प्रस्ताव गर्नेबित्तिकै हामीले निर्णय गर्नु जरुरी छ र ?’ उनले भने ।

महतोले नयाँ सरकार निर्माणको विषय संसद्‍मै प्रवेश नगरेकाले तत्काल निर्णय गर्नु जरुरी नरहेको बताए । माओवादीले समर्थन लिए र अविश्वासको प्रस्ताव आए मात्र नयाँ सरकार निर्माणका विषय औपचारिक रूपमा अघि बढ्ने र त्यति बेला पार्टी निर्णयमा पुग्नैपर्ने बाध्यता आउने उनले बताए । ‘अब देउवाजीको फर्मान आएपछि नै सरकारबारे निर्णय गरिहाल्नुपर्ने त होइन नि,’ उनले भने ।

सरकारका सन्दर्भमा जसपाभित्रको आन्तरिक समीकरणमा अझै ठोस बदलाव भइसकेको छैन । ठाकुर, महतोलगायत नेताहरू प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् । जसपाका माग पूरा गर्न ओलीले सकेसम्म आफ्नो शक्ति प्रयोग गरिरहेका छन् ।

पछिल्ला वार्ताबाट मुद्दा फिर्ताको प्रक्रिया पनि अघि बढाउने सहमति भएकाले कार्यान्वयन भइसकेपछि सरकारमै सहभागी हुन पनि सकिने बुझाइ ठाकुर र महतो पक्षको छ । उपेन्द्र यादव र बाबुराम भट्टराई वैकल्पिक सरकार बनाइहाल्नुपर्ने पक्षमा छन् । तर यही एजेन्डाका कारण पार्टीभित्र विग्रह आउने जोखिम पनि छ । त्यसैले जसपाले अब लिने निर्णयले मात्र आगामी सत्ता समीकरणको ठोस आकार आउनेछ ।

प्रकाशित : चैत्र २८, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?