राष्ट्रपतिबाट विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदक- समाचार - कान्तिपुर समाचार

राष्ट्रपतिबाट विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदक

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलंकार र पदकबाट सुशोभन गरेकी छन् ।

विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा डा दिव्यासिंह शाहलगायत छन्। यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत हुन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ । गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २०० जना छन् । प्रबल जनसेवाश्री चतुर्थबाट कलाकार निखिल उप्रेती, गायक धिरज राई, साहित्यकार श्रवण मुकारुङ लगायत छन् । जनसेवाश्री प्रथमबाट ११०, अलंकार तर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि शुक्रबारै सुशोभन गरिएको छ । शुक्रबार बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार समितिमा प्रा डा मीना वैद्य, प्रा डा इन्द्रजीत राई, कलाकार हरिहर शर्मा, इञ्जिनीयर काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य रहेका थिए ।

प्रकाशित : चैत्र २७, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउन हटेको एक वर्षपछिको वुहान

‘वुहानका बासिन्दाको व्यावहारिक कदमले चिनियाँ शक्ति र भावनाको प्रदर्शन गर्‍यो र एक वर्षपछि वुहानको पुनर्जन्म भयो । सहरका हर कुनामा जोश र जीवन्त शक्ति अहिले झन्‌झन् थपिइरहेको छ ।’
लक्ष्मी लम्साल

बेइजिङ — विश्वमा कोरोना भाइरसको दोस्रो वा तेस्रो लहरको चिन्ता बढिरहेको छ । सबैभन्दा पहिला कोरोना भाइरस भेटिएको भनिएको चीनको  वुहान भने लकडाउन खुलेको एक वर्षमा झन्‌झन् उभारिएको छ।

तस्बिर : पाइतु अनलाइन

गत वर्षको अन्त्यसम्ममा वुहानको कूल वार्षिक अर्थतन्त्र विश्वका शीर्ष १० वटा सहरमा फर्किएको थियो। चीनको हुपेई प्रान्तको राजधानी वुहान सहरमा सबैभन्दा पहिला चीनभित्र कोरोना भाइरस पत्ता लागेपछि चीनमा गत वर्ष सन् २०२० को अप्रिल ८ देखि लगातार ७६ दिनसम्म लकडाउन गरिएको थियो। त्यसअवधिमा नेपालसहित विभिन्न देशका विद्यार्थीहरू तथा कूटनीतिज्ञहरू धमाधम स्वदेश फर्किएका थिए । अनेकन आलोचनाका बाबजुद महामारी नियन्त्रणका लागि वुहान लकडाउनमा होमिएको थियो।

बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले हुपेई प्रान्त कोभिड १९ नियन्त्रण गर्ने नमूना प्रान्त भएको बताउँदै महामारी प्रतिरोधमा बलिदानी दिएर विश्व लडाइँमा योगदान गरेको टिप्पणी गरे।

वुहानवासीको समर्थनको प्रशंसा गर्दै उनले वुहानको अर्थव्यवस्था पुनः ट्रयाकमा आएको बताए। उनले भने, ‘वुहानका बासिन्दाको व्यावहारिक कदमले चिनियाँ शक्ति र भावनाको प्रदर्शन गर्‍यो र एक वर्षपछि वुहानको पुनर्जन्म भयो। सहरका हर कुनामा जोश र जीवन्त शक्ति अहिले झन्झन् थपिइरहेको छ।’

वुहान सहरमा लकडाउन गरिएलगत्तै विश्व समुदायबाट मानवअधिकारको विषयमा अनेकन टिप्पणी गरिएको थियो। अन्ततः चीनको अभ्यासबाट सिकेर अहिले विश्वका विभिन्न मुलुकले लकडाउनलाई नै महामारी मत्थर पार्ने अस्त्रका रुपमा अपनाउँदै आएका छन्।

महामारी नियन्त्रणमा ल्याएर वुहानको लकडाउन हटाइएपछि विश्वसमुदायमा महामारीविरुद्धको लडाइँमा आत्मविश्वास र शक्ति थपेको विश्लेषकहरू बताउँछन्। वुहानको आर्थिक तथा सामाजिक व्यवस्था सामान्य भएसँगै महामारीपश्चातको पुनरुत्थानका लागि सहायता कार्यक्रमलाई प्रश्रय दिइरहेको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ छ।

आगामी अप्रिल १२ मा अनलाइन तथा अफलाइन माध्यमबाट हुपेई प्रान्तको विशेष प्रचारका लागि कार्यक्रम आयोजना गर्दै दुनियाँलाई महामारीपश्चात् पुनर्जन्म लिएको वुहानको छविबारे प्रचार गरिने पनि चिनियाँ परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ। यसैमार्फत् वैदेशिक लगानी भित्र्याएर हुपेइ प्रान्तको नयाँ पुल बनाउने योजना पनि चीनले सुनाएको छ।

प्रकाशित : चैत्र २७, २०७७ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×