२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सेनाले कसरी निभाउँछ डढेलो ?

आगो नियन्त्रणकै लागि सेनामा दुईवटा विपद् व्यवस्थापन गण स्थापना
जगदीश्वर पाण्डे

काठमाडौँ — चैत १५ मा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल इलाकामा डढेलो लाग्यो । तुरुन्तै उक्त इलाकामा रहेको दि फेमस महिन्द्र दल गण नम्बर–१ विपद व्यवस्थापन गण, निकुञ्ज प्रशासन र स्थानीयको संयुक्त टोलीले आगो निभायो । 

सेनाले कसरी निभाउँछ डढेलो ?
  • चैत ८ गते नमोबुद्ध नगरपालिका–९ लामीडाँडा इलाकामा लागेको डढेलो काभ्र्रेपलाञ्चोकस्थित धुलिखेलमा तैनाथ कालीजंग गणले निभाएको थियो । गणबाट खटिएको फायर फाइटिङ टोलीले स्थानीय बासिन्दा तथा धुलिखेल नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो ।
  • फागुन २४ गते पाँचथरको फालेलुङ गाउँपालिका–१ स्थित लाली जंगलमा आगो लाग्यो । लगत्तै झापामा रहेको नयाँ श्रीनाथ गणबाट खटिएको अग्नि नियन्त्रक टोलीले निभाएको थियो ।

माथिका घटनाले पछिल्ला दिनमा मुलुकभर बढ्दो आगलागी र त्यसको नियन्त्रणका लागि भइरहेको पहलबारेमा जानकारी दिन्छ । नेपाली सेनाको तथ्यांकअनुसार सेनाले फागुनमा ६३ स्थानमा र माघमा विभिन्न निकायको सहयोगमा ४० स्थानमा आगलागी नियन्त्रण गरेको थियो । चैत १ देखि २६ सम्म २६६ ठाउँमा आगलागी भएको छ ।

पछिल्लो तीन महिनामा ३६९ स्थानमा आगलागी भएको र सेनाले त्यसलाई नियन्त्रण गरेको तथ्यांक छ । आगलागीका कारण ठूलो धनजनको क्षति भएको छ । सेनाले आवश्यकताअनुसार प्रहरी, स्थानीय बासिन्दा, रेडक्रस, अन्य सामाजिक संस्था र सरकारका अन्य निकायहरूसँगको समन्वयमा आगो नियन्त्रण गर्दै आएको जनाएको छ । मुलुकमा डढेलो नियन्त्रण गर्न प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले चैत २४ मा नेतृत्वदायी भूमिका निर्वाह गर्न सेनालाई निर्देशन दिए ।

ओलीले बालुवाटारमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष (२०७७/७८) मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई सामुन्ने राखेर निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले मुलुकका विभिन्न स्थानमा भइरहेको आगलागीका कारण बढ्दो प्रदूषणको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आगलागी नियन्त्रणमा सेनालाई आवश्यक उपकरणको व्यवस्था गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

सेनाले भने प्रधानमन्त्री ओलीको निर्देशनअगाडि नै हरेक वर्ष डढेलो नियन्त्रणको काम गर्दै आएको छ । सेनामा आगो नियन्त्रणकै लागि भनेर दुईवटा विपद् व्यवस्थापन गण स्थापना गरिएका छन् । एउटा काठमाडौंको सुन्दरीजलमा छ भने अर्को चितवनको रसौलीमा छ । ‘यो दुईवटा गणसँग फायर ट्रक र आगो निभाउने विभिन्न उपकरण छन्,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘हाम्रा यी क्षमताचाहिँ भौतिक पूर्वाधारमा आगलागी भएका बेला प्र्रयोगमा आउँछ । अहिले हामीले स्थानीय तहस्तरसँग मिलेर आगो नियन्त्रण गरेका छौं तर त्यसका लागि आवश्यक सबै प्रविधि भने हामीसँग छैनन् ।’ जंगलमा फायरको प्रकृति फरक किसिमको भएको र फरक रूपमा काम गर्नुपर्ने भएकोले त्यससम्बन्धमा सेनाको क्षमता अभिवृद्धि भए काम गर्न सकिने उनले बताए ।

फायर फाइटिङ ‘कम्प्रिहेन्सिभ’ क्षमता भएको सैनिक प्रवक्ता पौडेलले बताए । नेपाली सेनाले यसको अभ्यास गर्छ । आधारभूत रूपमा पाँचवटा टोलीले फायर फाइटिङमा भूमिका खेल्ने उनले जानकारी दिए । पहिलो, आउटर कर्डन हुन्छ । यसमा कतै आगलागी भएपछि सुरुमै बाहिर गएर त्यहाँको सुरक्षा गर्छन् । बाहिरको मान्छे भित्र आउन नपाओस्, जसले गर्दा थप जोखिम नहोस् भन्ने हुन्छ ।

दोस्रो, इनर कर्डन हो । यसमा चाहिँ भित्रका सामग्रीरु आउटर कर्डनभन्दा भित्र र इनर कर्डनभन्दा बाहिर बीचमा ल्याएर राखिन्छ । तेस्रो चरण स्यालबिज टिम हुन्छ । यसले चाहिँ भित्र भएको बचाउन सक्ने सामानलाई बचाउने काम गर्छ । चौथोचाहिँ फायर फाइटरको मात्र काम गर्छ । आगोलाई खोजी–खोजी निभाउने काम गर्छ ।

पाँचौंचाहिँ आगो नियन्त्रण भएको हेर्ने सिपिङ टिम हुन्छ । यो बैंक वा अन्य भवनहरूमा आगलागी भयो भने यसरी आगो नियन्त्रण गर्छ । सैनिक प्रवक्ता पौडेल आगोको प्रकृति स्थानअनुसार फरक–फरक हुने भएकाले त्यहीअनुसार निभाउनुपर्ने बताए । सेना ७७ जिल्लामै छ तर सबै जिल्लामा आगो निभाउने क्षमता भएका जनशक्ति र प्राविधि हुन्छन् भन्ने छैन । सेनाले सबै सैनिकलाई आगो नियन्त्रणको सामान्य प्रशिक्षण भने दिएको हुन्छ ।

प्रकाशित : चैत्र २७, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?