२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

संक्रमण दर ८.२८ प्रतिशत

संकलित नमुनामा देखिएको भाइरस सुरूमा बेलायतमा देखिएको प्रजाति ‘बी.१.१.७’ सँग मिल्दोजुल्दो 
स्कुले बालबालिकामा पनि देखियो नयाँ प्रजातिको भाइरस
अतुल मिश्र

काठमाडौँ — कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

संक्रमण दर ८.२८ प्रतिशत

‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौं । रिपोर्टको प्रतीक्षामा छौं,’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।

ईडीसीडीका अनुसार कुनै समुदायबाट संकलित नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प्रतिशतसम्म नयाँ प्रजातिको भाइरस पाइएको छ । संक्रमितमा स्कुले बालबालिकाको संख्या उल्लेख्य छ । मन्टेसोरीमा पढ्ने ३ वर्षे बालकमा समेत बेलायती भेरिएन्टसँग मिल्दोजुल्दो भाइरस पाइएको छ । स्कुले बालबालिकामा नयाँ प्रजातिको भाइरस उल्लेख्य देखिएकामा महामारी विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा काठमाडौं, पोखरालगायत ठूला सहरमा स्कुल जाने उमेर समूहमा संक्रमण बढिरहेको जनाउँदै शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन भनेको छ ।

बालबालिकामा संक्रमणको बढ्दो दरले जोखिम समूहका भनिएका बूढापाका, रोगी/बिरामीलाई थप संक्रमण हुने सम्भावना उच्च भएको छ । बालबालिकामा कोभिड–१९ को लक्षण एकदम कम देखिने गर्छ । लक्षण नदेखिए पनि उनीहरू संक्रमण सार्न सक्ने वाहक (एसिम्प्टोम्याटिक क्यारियर) हुन सक्छन् ।

‘बेलायतको भेरिएन्ट कम उमेरमा पनि बढी संक्रामक देखिएको छ । यसबाट हुने संक्रमण बढे हस्पिटल र आईसीयू/भेन्टिलेटरमा बस्ने दर बढ्छ,’ ईडीसीडीका निर्देशक डा. पौडेलले भने । केही दिनयता मुलुकमा कोभिड–१९ भएर सघन उपचारअन्तर्गत आईसीयूमा बस्ने ५० वर्षमाथि र ५० वर्षमुनिका उमेर समूहको संख्या उस्ताउस्तै देखिएको छ । कोरोना संक्रमणले अस्पतालका आईसीयूमा युवासमेत भर्ना हुन थालेका छन् । यसले युवाले बढी लापरबाही गरेको देखिएको चिकित्सकहरू बताउँछन् । केही महिनाअघि मुलुकमा कोभिड संक्रमण उत्कर्षमा रहेका बेला आईसीयूमा ५० वर्ष माथिका संक्रमित बढी हुन्थे । अहिले युवासमेत बढी मात्रामा संक्रमित हुन थाल्दा दैनिक संक्रमण दर ८ प्रतिशत नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार (चैत २६) मुलुकको दैनिक कोभिड संक्रमण दर ८.२८ प्रतिशत देखिएको छ । यो दर चैत २५ गते ७.२६, चैत २४ गते ६.१२, चैत २३ गते ५.८६, चैत २२ गते ५.०९, चेत २१ गते ४.६९ र चैत २० गते ५.०२ प्रतिशत थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हाल देशभरिमा कोभिड संक्रमितको संख्या २ हजार ४ सय २४ छ । वाग्मती प्रदेशमा सबैभन्दा बढी १ हजार ३ सय ३५ जना, गण्डकीमा ३ सय ८० जना, प्रदेश ५ मा २ सय ५८ जना, सुदूरपश्चिममा १ सय ११ जना, प्रदेश २ मा ८६ जना, कर्णालीमा ५० जना र प्रदेश १ मा २९ संक्रमित उपचारमा छन् । देशभरिमा ५८ जना संक्रमित सघन उपचारमा छन् । काठमाडौं उपत्यकामा ३७ जना आईसीयू र १३ जना भेन्टिलेटरमा छन् । उपत्यकाबाहिर ७ जना आईसीयू र १ जना भेन्टिलेटरमा छन् ।

बिहीबार पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएका ३ सय ३२ जनामध्ये प्रदेश १ का ६.६२, प्रदेश २ का ६.६२, वाग्मती प्रदेशका ५५.७२, गण्डकी प्रदेशका १८.६७, लुम्बिनी प्रदेशका ८.७३, कर्णालीका ०.९० र सुदूरपश्चिमका २.७१ प्रतिशत छन् । ‘अहिले दैनिक संक्रमण दर बढिरहेको छ,’ ईडीसीडीका निर्देशक डा.पौडेलले भने, ‘बेलैमा हामीले स्वास्थ्य सावधानी, मापदण्ड पालना गर्‍यौं भने मुलुक लकडाउनमा जानु पर्दैन ।’ उनले सामाजिक दूरी कायम गरेर भीडभाडबाट जोगिनुका साथै मास्क उपयोगमा अत्यन्त कडाइ गर्नुपर्ने बताए ।

बढी भीडभाड हुने सपिङ मल, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिरलगायत धार्मिक क्षेत्र जनस्वास्थ्यको मापदण्ड कडाइसाथ पालना गरेर मात्र सञ्चालन गर्नुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका छन् । पछिल्लो समय काठमाडौंलगायतका ठूला सहरमा कोभिड संक्रमितहरूको संख्या बढ्दो छ ।

प्रकाशित : चैत्र २७, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?