कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खुल्यो हनुमानढोका दरबारको ढुकुटी

सुशीला तामा‌ङ

काठमाडौँ — राणाकालीन समयमा महत्त्वपूर्ण बहुमूल्य सामग्री राख्ने गरिएको हनुमानढोका दरबारको ढुकुटी भवन सर्वसाधारणका लागि खुला गरिएको छ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका शाहकालीन बहुमूल्य गरगहना, सिक्का तथा मल्लकालीन सामग्रीसमेत ढुकुटीमा प्रदर्शनीका लागि राखिएका छन् ।

खुल्यो हनुमानढोका दरबारको ढुकुटी

वृत्ताकार छानोसहित नवशास्त्रीय शैलीमा निर्माण गरिएको उक्त भण्डारण राणा प्रधानमन्त्री जंगबहादुर राणाले ११ करोड रुपैयाँ राख्नका लागि बनाएको अनुमान गरिन्छ । हनुमानढोका दरबारमा मल्लकालदेखि नै ढुकुटी रहेको ऐतिहासिक तथ्य रहे पनि जंगबहादुरले बेलायत भ्रमणपछि उतैको संरचनाको सिको गरेर उक्त भवन निर्माण गरेको हुन सक्ने हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले बताए ।

भवन जीर्ण भएपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले यसको पूर्वतर्फ अर्को भवन बनाई यहाँका खजाना स्थानान्तरण गरेका थिए । भवनलाई जीर्णोद्धार गरी २०७२ सालअघि नै प्रदर्शनी कक्षका रूपमा सञ्चालन गर्ने योजना भए पनि भूकम्पका कारण ढिलाइ भएको खनालले बताए ।

‘प्रदर्शनीमा राखिएका बहुमूल्य सामग्री फरासखाना र न्हुच्छें चोकबीच भत्किएको राणाकालीन दरबारमा पुरिएको अवस्थामा भेटाइएको हो,’ उनले भने, ‘२०६८ सालमा भवन जीर्णोद्धार क्रममा फलामको सेफमा सामग्रीहरू पाइएपछि हनुमानढोका दरबारको स्टोरमा नै सुरक्षित राखेका थियौं ।’

शाहकालीन बहुमूल्य गरगहना र सिक्कासँगै राजतन्त्र रहँदा राजपरिवारको स्वामित्वमा रहेका दरबारका सामग्री पनि प्रदर्शनीमा राखिएका छन् । राजतन्त्र अन्त्यसँगै सरकारको स्वामित्वमा आएपछि गृह मन्त्रालयले हेरचाह अड्डालाई ती सामग्री हस्तान्तरण गरेको थियो ।

चैत १ देखि खुला गरिएको ढुकुटी भवनको प्रदर्शनी कक्षलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा शाहकालीन बहुमूल्य गरगहना, सिक्का तथा सामग्री छन् भने दोस्रोमा राजालाई विभिन्न संघ तथा संस्थाबाट प्रदान गरिएका उपहार, इन्द्रजात्रासम्बन्धी तस्बिर, परिचयात्मक अन्य सामग्री समावेश छन् । आमसर्वसाधारणलाई ऐतिहासिक मल्लकालीन, शाहकालीन तथा राणाकालीन सामग्रीसँगै अमूर्त सांस्कृतिक पक्षबारे जानकारी दिन इन्द्रजात्रासम्बन्धी गतिविधिलाई तस्बिर तथा लिखित सामग्रीमा देखाइएको खनालले बताए ।

प्रदर्शनी कक्षमा प्रवेश गर्नेबित्तिकै भगवान् श्रीकृष्णलाई समर्पण गर्न मयूर पंखाको आकृतिसहित बनाइएको सुन र चाँदीको मुकुट देख्न सकिन्छ । सुनको मुकुटमा पाँच थान माणिक र चाँदीकोमा ६० थान हीरा जडित छ । राज्याभिषेक समारोहमा हात्तीको सजावट गर्दा शिरमा सजाइने चन्द्र कलश, विवाह उत्सवमा जन्तीको अग्रपंक्तिमा बोकिने शुभ सामग्री, महिषमर्दिनीको चित्र कुँदिएको सुन मोलम्बा भएको कलश, चाँदीको करुवा, अम्खोरा, धार्मिक कार्य गर्दा जल लिने चाँदीको चम्चा, शंख, चाँदीकै जलदानीजस्ता सामग्री पनि प्रदर्शनीमा राखिएका छन् । खनालका अनुसार मूल ढुकुटीभित्र रहेका महत्त्वपूर्ण सामग्रीको वैज्ञानिक तवरबाट लगत राख्न २०७० सालमा विशेष समिति गठन गरी सूचीकरण गरिएको थियो ।

‘सुरक्षा र भौतिक संरचनाका कारण भौतिक रूपमा सबै सामग्री प्रदर्शन गर्न नसक्ने अवस्था भएपछि तस्बिर भए पनि प्रदर्शन गरेका हौं,’ उनले भने, ‘तत्कालीन समयको कला तथा वास्तुकलाबारे आममानिसलाई केही जानकारी मिलोस् भन्ने उद्देश्यले प्रदर्शनीमा तस्बिर भए पनि समावेश गर्‍यौं ।’

प्रदर्शनीमा भगवान्लाई चढाइने सुन र चाँदीको कमलपत्र, शाहकालीन मुद्रा, चुनदाम र हातमा राखेर फु गर्दा उड्ने फुक्का दाम मुद्रा, पूरा र आधा बनाइएका कम्पनी सुनका डबल मोहर देख्न सकिन्छ । तिनताका आर्थिक संकट टार्न मुद्रालाई आधा बनाउने प्रचलन रहेको खनाल बताउँछन् । प्रदर्शनीमा रणबहादुर शाहकी जेठी रानी राजराजेश्वरीले सती जाँदा वायु (आकाश देवता) लाई चढाइएका गरगहना ऐतिहासिक रूपमा अझ विशेष रहेको उनको भनाइ छ । ‘यी सामग्रीले नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षलाई बुझ्न सघाउ पक्कै पुर्‍याउँछ,’ उनले भने ।

प्रकाशित : चैत्र २७, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?