देउवाले शुक्रबारका लागि बोलाए तीन दलको बैठक - समाचार - कान्तिपुर समाचार

देउवाले शुक्रबारका लागि बोलाए तीन दलको बैठक 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । सत्ता समिकरणबारे छलफल गर्न शुक्रबार दिउँसो ३ बजेका लागि देउवाले कांग्रेस, मा‌ओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनले भने, 'सरकारको नेतृत्व र त्यसको पहल गर्ने निर्णय कांग्रेसले गरिसकेको छ । त्यसैबारे छलफल गर्न शुक्रबारका लागि तीन दलको बैठक बोलाउनु भएको हो ।'

माओवादी केन्द्र र जनता समाजवादीसँग हुने बैठकमा देउवाले सरकारबारे उनीहरुको ठोस धारणा माग्ने तयारी गरेका छन् । केपी ओली नेतृत्वको सरकारलाई जतिसक्दो छिटो विस्थापित गर्नुपर्ने अधिकांश काग्रेस नेताहरुको राय रहे पनि देउवा भने ओलीप्रति केही नरम देखिँदै आएका थिए । तर आन्तरिक दवाव तीव्र भएपछि गत शुक्रबार औपचारिक बैठकबाटै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले नयाँ सरकार बनाउनका लागि सहयोग गर्ने/नगर्ने निर्णय नगरेकाले देउवाले पार्टी निर्णयपछि पनि अग्रसरता लिएका थिएनन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएको ३८ दिनपछि चैत २० गते कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो । आफैंले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निचोड कांग्रेसको छ ।

कांग्रेसले सरकारको नेतृत्व गर्ने निर्णय लिए पनि ओलीको कदमविरुद्ध रहेको माओवादी केन्द्रले अझै समर्थन फिर्ता लिएको छैन । उसले अर्को सरकार बन्‍ने सुनिश्चित भएपछि ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ । तर सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपा प्रस्ट नभएपछि कांग्रेस र माओवादी केन्द्र धरमरमा देखिएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर ओली पक्षसँग निरन्तर छलफलमा छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराईलगायत नेता ओली नेतृत्वको सरकारमा जान नहुने पक्षमा छन् । ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेकोले दलहरु वैकल्पिक सरकार निर्माणमा जुट्न लागेका हुन् । तीनवटा दलभित्र सरकारको विषयमा परिरहेको गाँठो फुकाएर कसरी अघि बढ्ने भन्नेमा देउवाले बोलाएको बैठकले धारणा बनाउने छ ।

प्रकाशित : चैत्र २६, २०७७ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्

ई–सेवा र वर्ल्ड रेमिटबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–सेवा मनी ट्रान्सफर र वर्ल्ड रेमिटबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापछि वर्ल्ड रेमिटका ग्राहकले ई–सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने कम्पनीले जनाएको छ ।

वर्ल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो ।

वर्ल्ड रेमिटका साउथ एसिया कन्ट्री निर्देशक रुजान अहम्मद र ई–सेवाका प्रबन्ध निर्देशक अजेश कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : चैत्र २६, २०७७ २१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×