परिवारबाट निकालिएकी रेनु भन्छिन्- ‘छोराछोरीले बाउ पाए, मैले सबै गुमाएँ’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवारबाट निकालिएकी रेनु भन्छिन्- ‘छोराछोरीले बाउ पाए, मैले सबै गुमाएँ’

‘छोराछोरी देऊ, म लिएर जान्छु भन्दा पनि मानेनन्, तीन महिना भयो, उनीहरुको अनुहार हेरेको छैन । अहिले त मोबाइलमा बोल्न पनि दिँदैनन् ।’
रुपा गहतराज

नेपालगन्ज — चारवर्षे छोराको मुहार आँखामा झलझली घुमिरहन्छ । ९ र १० वर्षका छोरीहरू बिर्सन सक्दिनन् । बेलाबेला मोबाइल स्क्रिनमा उनीहरूका तस्बिर हेर्छिन् र फोनमा बोल्न खोज्छिन् । तर, यो सम्भव छैन किनकि याद आफूसँगै भए पनि उनीहरू भौतिक रूपले कोसौं टाढा छन् ।

‘नाबालक छोराले कति आमा खोज्यो होला,’ मोबाइलमा संगृहीत तस्बिर देखाउँदै उनले भनिन्, ‘कहिलेकाहीँ भिडियो कलमा छोराछोरीको अनुहार देख्दा आफूलाई सम्हाल्नै सक्दिनँ ।’ अब त यो पनि बन्द भयो । छोराछोरीसँग सम्पर्क नभएकै तीन महिना पुग्यो ।

यो पीडा सुनाइरहेकी रेनु रानामगर हाल खजुरा गाउँपालिका–१ सैनिक गाउँमा बस्छिन् । उनी भारतीय सेनामा कार्यरत आफन्तको घरमा बस्थिन् । त्यही बेला सीमा सुरक्षा बलका जवान सोनम दावासँग चिनजान भयो । भेटघाट बाक्लिँदै गएपछि १७ वर्षको उमेरमा प्रेम विवाह गरिन् । श्रीमान्ले घर नलगी डेरामै राखे ।

पछि उनी सुर्खेतस्थित माइती घर आइन् । श्रीमान् कहिलेकाहीं भेट्न आउँथे । मासिक खर्च पठाउँथे । उनले तीनै सन्तान नेपालमै जन्माइन् । ‘जेठी छोरी तीन वर्षकी भएपछि माइती पक्षले श्रीमान्को घर पठाए । माइली छोरी काखमै थिई,’ रेनुले भनिन्, ‘छोरा जन्मेपछि आफैं भारत गएँ, त्यसबेला पनि श्रीमान्ले टाढा कोठा भाडामा लिएर राखे । घर लगेनन् ।’ छोरीछोरी जन्माएकाले नस्विकारेको हो कि भन्ने उनको अनुमान थियो तर छोरा जन्मिएपछि पनि परिवारले स्विकारेनन् । अपहेलनाले आजित बनेपछि सानो छोरालाई माइतीमै छाडेर विदेशिने निधो गरिन् । यसमा पनि श्रीमान्ले साथ दिएनन्, तीन वर्ष लद्दाखमै बिताइन् ।

आफूलाई ‘नेपाली’ भन्दै अपशब्द प्रयोग गरेर मानसिक यातना दिएको उनको भनाइ छ । श्रीमान् र परिवारले छोराछोरीलाई राखेर उनलाई जबर्जस्ती नेपाल फर्काइदिए । ‘मैले मेरा छोराछोरी देऊ, म लिएर जान्छु भन्दा पनि मानेनन्,’ उनले भनिन्, ‘तीन महिना भयो छोराछोरीको अनुहार हेरेको छैन । अहिले त मोबाइलमा बोल्न पनि दिँदैनन् ।’ उनका छोराछोरी हाल परिवारसँग लद्दाखमा छन् ।

बिरानो मुलुकमा केही नचलेपछि न्यायका लागि नेपाल फर्किएको उनी बताउँछिन् । उनी अहिले आफन्तको घरमा बसिरहेकी छन् । श्रीमान्का परिवारले ‘केही गलत कदम उठाए आफैंलाई नोक्सानी हुने’ भन्दै धम्क्याएका छन् । ‘पैसा लैजा अर्को बिहे गर् भन्दै धम्क्याउँछन्,’ उनले भनिन्, ‘साँचो प्रेम गरेर परिवार बनाइयो, अहिले त भाडाकी आमा बन्न पुगेँ । छोराछोरीले बाउ पाए, परिवारको संरक्षण पाए तर मैले सबै गुमाएँ ।’ श्रीमान्को पहिलो पत्नीबाट सन्तान नभएपछि आफूसँग बच्चा चाहेको उनले सुनाइन् । ‘मसँग कुनै प्रमाण छैन,’ उनले भनिन्, ‘उसको परिचयपत्रमा पनि पहिलाकी स्वास्नीको नाम छ । त्यसैले कानुनी लडाइँ लड्ने आधार छैन । मेरो त जिउने आधारै सकियो ।’

अधिकारकर्मी निर्मला पौडेल सन्तानलाई मात्र स्विकारेर आमालाई अलग पार्नु न्यायोचित नहुने बताउँछिन् । ‘महिलाको गरिबी, अज्ञानता र कमजोर सामाजिक स्तरको फाइदा उठाई पैसाको प्रलोभनमा कोख बेच्न बाध्य पार्नु अपराधसरह हो ।’

सन्तान जन्माउनका लागि प्रेम अनि विवाहको नाटक गरेर पुरुषबाट धोका पाउनेहरू आफूजस्तै अरू पनि रहेको रेनु बताउँछिन् । ‘यो मानव अधिकारको विषय हो । बच्चालाई आमाबाट अलग राख्नु आफैंमा अपराध हो,’ अधिवक्ता केशव कोइरालाले भने, ‘मानव अधिकारको विषय भएकाले सरकारी र गैरसरकारी निकायको चासो राख्नुपर्छ । अन्तर्देशीय भएकाले पनि आमालाई न्याय दिलाउन सबै जुट्नुपर्छ ।’

प्रकाशित : चैत्र २६, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

अफगानी रणमैदानका कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — केदार सङ्केतको उपन्यास ‘अफगानी रणमैदान’ सार्वजनिक भएको छ ।  सङ्केतले ‘अफगानी रणमैदान’ मा आफ्नो जीवन संघर्ष र भोगाइमा आधारित कथा समावेश गरेका छन् ।

अफगानिस्तानको काबुलस्थित ५ सयभन्दा बढी सदस्यको बसोबास रहेको अमेरिकी क्याम्पमा सन् २०१३ जुन १ का दिन बिहानै सखारैमा तालिवानी समूहबाट भएको आक्रमणपछिको अवस्थाका बारेमा सङ्केतले आफूले देखेका–भोगेका प्रत्यक्ष–परोक्ष रणमैदानको दृष्यलाई बाहिर ल्याएका छन् ।

‘यो हाम्रो टिमले त्यसदिन गरेको लडाइँको कथा हो र, देखाएको बहादुरीको इतिहास पनि हो,’ उनी भन्छन्, ‘त्यति मात्रै होइन, यो त आफ्नो नैतिकता, इमान्दारिता, दक्षता, साहस र निपुणतामा घुलित ९ घण्टासम्मको लडाइँको त्रासद तर साहसपूर्ण परिवेशलाई आधार बनाएर तयार पारिएको सत्य कथा पनि हो ।’

अफगानी रणमैदानको कथा उतार्ने क्रममा यसको वास्तविक दृष्यचित्र देखाउन केही तस्बिरसमेत कथामा प्रयोग भएको छ ।

बेलायती सेनामा लामो समय आबद्ध रहेर हाल बेलायतमा अवकाशको जीवन बिताइरहेका केदार सुनुवार साहित्यिक रुपमा केदार संकेतको नामले चिनिन्छन् । उनका ‘आफैं जलेको देश’(कविता संग्रह), ‘एथेन्सको झरी’(नियात्रा), ‘पैंयुका फूलहरु’(हाइकू संग्रह), ‘अफिम फूल्ने देशमा’ लगायतका कृति प्रकाशित छन् ।

प्रकाशित : चैत्र २६, २०७७ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×