१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुन्दरीको सिको गर्दा...

दिल्लीको भीड र होहल्ला देखेर उनको होस उड्यो । मिस इन्डिया उपविजेता मान्याको कथामा सुनेजस्तो थिएन त्यो सहर, न त कतै पिज्जा रेस्टुरेन्ट नै थिए । आँखाबाट आँसु बग्न थाल्यो । खुट्टा लगलग काँप्न थाले । भोकको त कुरै भएन ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कक्षा ११ मा पढिरहेकी थिइन् अञ्जली शर्मा (नाम परिवर्तन) । कक्षामा राम्रै विद्यार्थीमध्येमा पर्थिन् । बुबाले प्लस टु सकेपछि राम्रो कलेज पढाउने वाचा गरेकै थिए तर चैत १ मा अञ्जली एकाएक हराइन् ।

सुन्दरीको सिको गर्दा...

जेठी छोरी काठमाडौंबाट अचानक हराएपछि परिवारमा भागदौड मच्चियो । बुबाआमाले तत्काल प्रहरीमा रिपोर्ट गरे, फोटो दिए । उनले बोक्ने गरेको मोबाइलसमेत घरमै थियो । अपहरणमा परिन् कि कसैले ललाइफकाई लग्यो भन्ने भयो । दुई सातासम्म पनि कुनै सुइँको फेला परेन तर चैत २१ मा शर्मा परिवारलाई भारतको नयाँदिल्लीबाट फोन गयो, ‘तपाईंकी छोरी दिल्लीमा सकुशल छिन् र सेल्टर होममा राखिएको छ ।’ त्यो खबरले शर्मा परिवारमा खुसीको सञ्चार भयो तर सबै आश्चर्यमा परे– छोरी कसरी एकाएक दिल्ली पुगिन् ?

दिल्लीस्थित नेपाली दूतावासमा भेटिएकी अञ्जलीका अनुसार घर छाडेदेखि दिल्लीसम्म यात्राको कथा यस्तो छ– काठमाडौंमा डेरा गरी बस्ने उनको परिवारलाई खान–लाउन दुःख थिएन । बुबाको व्यापार राम्रै चलेको थियो । भाइ, बहिनी र उनको पढाइ राम्रै चलिरहेको थियो । काठमाडौंकै एउटा प्लस टुमा अध्ययनरत थिइन् । जब उनले गएको फागुन दोस्रो साता भारतीय सुन्दरी मान्या सिंहका बारेमा थाहा पाइन्, उनको मन र मस्तिष्क खल्बलिन थाल्यो । जतिखेर पनि मान्याकै भिडियो हेर्न थालिन् । बिस्तारै घर छाडेर एक्लै संघर्ष गर्ने योजना बुन्न थालिन् । अन्ततः चैत १ मा उनी परिवारलाई स्कुल जान्छु भनेर घर छाडेर हिँडिन् । ‘मलाई मान्याले जस्तै आफ्नै खुट्टामा उभिएर संघर्ष गर्नुपर्छ र सफल बन्नुपर्छ भन्ने भूत सवार भएको थियो,’ उनले कान्तिपुरसँग भनिन् ।

आखिर को हुन् मान्या सिंह र कस्तो छ उनको संघर्षको कथा ? जसले अञ्जलीलाई घर छाड्न प्रेरित गर्‍यो । उत्तरप्रदेशको कुशीनगरकी मान्या सिंह फागुन दोस्रो साता फेमिना मिस इन्डियाको उपविजेता भइन् । पारिवारिक पृष्ठभूमि र संघर्षका कारणले उपाधि विजेताको भन्दा बढी चर्चा मान्याको भयो । हुन पनि मान्याले उपाधिलगत्तै सामाजिक सञ्जालमा उल्लेख गरेको संघर्षको कथा साँच्चिकै प्रेरणादायी छ । दुई छाकका लागि पनि संघर्ष गर्नुपर्ने परिवार । बुबा अटोरिक्सा चलाउँथे । शुल्क तिर्न नसक्दा उनको स्कुल नियमित थिएन ।

त्यसका बाबजुद पनि उनमा आफ्नो खुट्टामा उभिने र केही गरेर देखाउने हुटहुटी थियो । तिनै सपना पूरा गर्न भन्दै उनी १४ वर्षकै उमेरमा घर छाडेर मुम्बई पुगेकी थिइन् ।

मुम्बई पुग्नासाथ उनले पिज्जा हटमा काम पाइन् । मुम्बई पुगेको खबर दुई दिनपछि आफैंले बुबाआमालाई सुनाइन् । बुबाआमा रोएर बेहाल थिए । छोरीलाई तत्काल फर्काउन अभिभावक मुम्बई आए तर मान्याका सपना र त्यसका लागि लिएको अठोटका सामु बुबाआमाको जोड चलेन । बुबाले छोरीको संघर्षमा साथ दिन मुम्बईमै अटो चलाउने निष्कर्षमा पुगे । त्यसपछि बुबाको कमाइले मान्याको पढाइ राम्रै स्कुलमा हुन थाल्यो । मान्या पनि धेरथोर कमाउँथिन् । एकाएक उनको ध्यान मिस इन्डिया प्रतियोगिताले तान्यो । उनीभित्र केही नयाँ गर्नुपर्छ भन्ने थियो । उनले प्रतियोगितामा भाग लिन आवेदन दिइन् तर छानिइनन् । अन्य प्रतियोगितामा सहभागी हुने उनको चाहना पनि विभिन्न कारणले पूरा भएनन् तर उनले हार मानिनन् । बुबाले पनि हौसला दिइरहे ।

गएको मंसिरमा उनले फेरि एकपटक मिस इन्डियाका लागि आवेदन दिइन् । यसपटक भने उनी छनोट मात्र भइनन्, उपविजेताको ताजसमेत पहिरन सफल भइन् । उपाधि हात पारेपछि मान्याको संघर्षपूर्ण कथा बाहिर आयो । सञ्चारमाध्यमहरूले पनि उनको कथालाई प्राथमिकतासाथ छापे र प्रसारण गरे । युट्युबमा उनको संघर्षमाथि रातारात दर्जनौं भिडियो तयार भए । सामाजिक सञ्जालमा पनि भाइरल बन्यो उनको कथा । इन्स्टाग्राम, फेसबुक, ट्वीटरमा उनलाई पछ्याउन युवापुस्ताबीच हानाथाप सुरु भयो । युवाले मान्याको संघर्ष र सफलतालाई प्रेरणाका रूपमा लिन थाले 

अञ्जली तिनैमध्ये एक थिइन्, जसमाथि मान्याको संघर्ष र सफलताको प्रभाव बढी नै पर्‍यो । घर छाडेपछि केही दिन परिवारले थाहा नपाउने गरी काठमाडौंकै एउटा रेस्टुराँमा काम गरिन् । उनले स्कुलको शुल्क तिर्नुछ भनेर रेस्टुराँका मालिकसँग चार हजार रुपैयाँ मागिन् । काठमाडौंबाट दिल्लीसम्म बस चल्छ भन्ने उनलाई पहिले नै थाहा थियो । टिकटका लागि रेस्टुराँबाट पाएको पैसा पर्याप्त थियो । स्वयम्भूबाट त्यही बस चढिन् । सुनौली नाकामा बस फेर्नुपर्थ्यो । नाकामा सोधपुछ गर्दा आफू पढ्न जान लागेको बताइन् । र, आफूसँग भएका सर्टिफिकेट देखाइन् । बसले भोलिपल्ट उनलाई दिल्लीमा ओरालिदियो । उनका लागि दिल्ली पूरै अपरिचित सहर थियो । उनले खाली नयाँदिल्ली भन्ने सुनेकी रहिछन् । ट्याम्पोले उनलाई नयाँदिल्ली रेल्वे स्टेसनसम्म पुर्‍याइदियो ।

दिल्लीको भीड र होहल्ला देखेर उनको होस उड्यो । मान्याको कथामा सुनेजस्तो थिएन त्यो सहर, न त कतै पिज्जा रेस्टुरेन्ट नै थिए । आँखाबाट आँसु बग्न थाल्यो । खुट्टा लगलग काँप्न थाले । भोकको त कुरै भएन । केही बेरपछि उनी कलावती अस्पताल अगाडि थिइन् । अस्पतालकै अगाडि भण्डारा लागेको रहेछ । त्यहाँ खाना मागेर खाइन् । छेउकै एउटा चिया पसले महिलाले सोधपुछ गर्दा उनले नेपालबाट आएको र केही काम गर्दै कलेज पढ्न चाहेको बताइन् तर पसलेले पत्याइनन् । उनले शंका लागेर तत्कालै दिल्ली महिला आयोगमा खबर गरिदिइन् । तत्कालै आयोगकी प्रतिनिधि आशा शर्मा त्यहाँ आइपुगिन् । शर्माले मानव तस्करी र चेलीबेटी बेचबिखनका घटना र जोखिमका बारेमा बताएपछि मात्र आफू ठूलो संकटबाट बचेको भन्ने उनले थाहा पाइन् । ‘त्यतिबेला मात्र मलाई यसरी लहडमा हिँड्दा ठूलो जोखिम हुँदो रहेछ भन्ने थाहा भयो,’ उनले भनिन् । अब आफू चाँडोभन्दा चाँडो घर फर्कन चाहेको र परिवारलाई भेट्न चाहेको उनको भनाइ थियो ।

अहिले उनलाई दिल्ली महिला आयोगको संरक्षणमा राखिएको छ । र, दिल्ली दूतावासको समन्वयमा काठमाडौं फर्काउने प्रक्रिया सुरु भइसकेको छ । अञ्जलीको उद्धार प्रक्रियामा संलग्न केआई नेपालका नवीन जोशीका अनुसार कानुनी प्रक्रिया पूरा हुनासाथ उनलाई नेपाल फर्काइनेछ । दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले समयमै उद्धार भएकाले ठूला दुर्घटना टरेको बताए । ‘उनको कुरा सुन्दा त ठूलो दुर्घटना टरेको हो,’ बस्यालले भने ।

त्यसैगरी आयोगकी प्रतिनिधि आशा शर्माले पनि मानव तस्करहरूको बिगबिगी भएका बेला अञ्जली सुरक्षित उद्धार हुनु ठूलो कुरा भएको बताइन् । उनले यस्ता घटना हुन नदिन अभिभावकले पनि छोराछोरीका मनमा के–कस्ता कुरा खेलिरहेका छन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

प्रकाशित : चैत्र २६, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?