१६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।

सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १६ कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड ८८ लाख ५० हजार

कित्ता सेयर निष्कासन गर्ने जनाएका छन् । तीमध्ये १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  ।

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये साहस ऊर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी जलविद्युत्, न्यादी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले सेयर निष्कासन गर्नेछन् । मैलुङ खोला जलविद्युत्ले भने सर्वसाधारणका नाममा सेयर निष्कासन गर्नेछ ।

जलविद्युत्बाहेक अन्य तीन कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र डिस मिडिया नेटवर्क छन् । यी कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति मागेका छन् ।

पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ३८ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् ।

सेयर निष्कासनका लागि आवेदन दिएका संस्था जोड्दा ५० हाराहारी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् ।

निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये तिनै कम्पनी देखिएका छन् । हाल सेयर बजारको कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा औसत करिब ४ प्रतिशत मात्र छ । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ । जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीयलाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्नॅपर्छ । लकडाउनअघि सेयर बजारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण कम थियो । यही कारण लामो समय डेढ दर्जनभन्दा बढी जलविद्युत् कम्पनीको सेयर अंकित मूल्य १ सयभन्दा कम थियो । तर लकडाउनपछि खुलेको बजारमा परिस्थिति बदलिएको छ । अरू कम्पनीको तुलनामा जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।

यही कारण सेयर मूल्य धेरै बढ्ने कम्पनीमा अधिकांश जलविद्युत् नै छन् । सेयर मूल्य धेरै कम भएको समयमा जलविद्युत् समूहका कम्पनीमा लगानी गरेका लगानीकर्ताले अहिले राम्रो मुनाफा आर्जन गर्न सफल भएको सेयर ब्रोकरहरू बताउँछन् ।

प्रकाशित : चैत्र २६, २०७७ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्

अर्बपति सूचीमा चौधरीको स्थान खस्कियो

६ सय २८ स्थान तल झर्दै २१४१ औं स्थानमा
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वभरका धनीहरूको सूचीमा नेपालका विनोद चौधरीको स्थान खस्किएको छ । फोर्ब्सले बुधबार सार्वजनिक गरेको अर्बपतिहरूको ४५ औं सूचीअनुसार चौधरी ६ सय २८ स्थान तल झरेका हुन् । यो वर्ष उनी २१४१ औं स्थानमा छन् । गत वर्ष उनी १५१३ औं स्थानमा थिए ।

स्थान खस्किए पनि उनको कुल सम्पत्ति भने गत वर्ष जत्तिकै छ । यो वर्ष उनको कुल सम्पत्ति (रियल टाइम नेटवर्थ) १.४ बिलियन अमेरिकी डलर छ । यो अघिल्लो वर्षको बराबर हो । पछिल्लो दुई वर्ष अर्बपतिहरूको सूचीमा उनको स्थान खस्कँदै गएको छ । सन् २०१७ यता उनको सम्पत्ति बढ्दो क्रममै थियो । सोही क्रममा सन् २०१९ मा उनको कुल सम्पत्ति बढेर १.७ बिलियन अमेरिकी डलर पुगेको थियो ।

चौधरी फोर्ब्सको धनीहरूको सूचीमा परेका एक मात्र नेपाली हुन् । सन् २०१३ मा पहिलो पटक अर्बपतिको सूचीमा सूचीकृत हुँदा उनको कुल सम्पत्ति १ बिलियन अमेरिकी डलर थियो । त्यसपछिका वर्षमा उनको सम्पत्ति निरन्तर बढ्यो । यसअनुसार सन् २०१५ मा १.३ बिलियन अमेरिकी डलर पुगेको थियो तर सन् २०१६ मा उनको सम्पत्ति घट्यो । ०७२ सालको विनाशकारी भूकम्प र त्यसलगत्तै भएको भारतीय नाकाबन्दीका कारण उनको सम्पत्ति घटेको थियो । त्यसपछिका वर्षमा भने उनको सम्पत्ति पुन: बढ्न थालेको थियो । कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण यो वर्ष उनको सम्पत्ति बढ्न नसकेको बताइएको छ ।

चौधरी सीजी कर्प ग्लोबलका सञ्चालक हुन् । हाल उनी ६५ वर्षका भए । उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालमा रहेको नबिल बैंक र सीजी फुड्स हो । स्वदेश तथा विदेशमा ख्याति प्राप्त वाईवाई चाउचाउ सीजी फुडअन्तर्गतको मुख्य प्रडक्ट हो । हाल नेपाल, भारत, बंगलादेशलगायत राष्ट्रमा वाईवाई चाउचाउ उत्पादन हँदै आएको छ भने इजिप्टमा पनि उत्पादनको तयारी छ । चौधरी ग्रुपअन्तर्गत करिब १ सय ३५ वटा होटल सञ्चालनमा छन् । चौधरीका निर्माण, राहुल र वरुण गरी तीन छोरा पनि व्यवसायमा संलग्न छन् । तीमध्ये निर्माण चौधरी नेपालमै बसेर व्यवसाय सम्हालिरहेका छन् भने राहुल र वरुणले नेपालबाहिरको व्यवसाय हेरिरहेका छन् ।

फोर्ब्सको सूचीअनुसार यो वर्षको विश्वकै सबैभन्दा धनी व्यक्ति अमेजन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस बनेका छन् । उनको कुल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर छ । गत वर्ष पनि एक नम्बरमै रहेका उनको सम्पत्ति १४६.९ बिलियन थियो । उक्त सूचीमा एलन मस्क दोस्रो स्थानमा छन् । टेस्ला कम्पनीका प्रमुख उनको सम्पत्ति १५१ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी २१ नम्बरमा थिए । त्यतिबेला उनको सम्पत्ति ३५.६ बिलियन थियो । यस्तै, तेस्रो स्थानमा फ्रान्सको फेसन कम्पनीका प्रमुख बनार्ड अर्लन्ट परेका छन् । यो वर्ष उनको सम्पत्ति १५० बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ९४.१ बिलियन अमेरिकी डलर सम्पत्तिसहित तेस्रो स्थानमै थिए ।

गत वर्ष दोस्रो स्थानमा रहेका बिल गेट्स यो वर्ष चौथो स्थानमा परेका छन् । यो वर्ष उनको कुल सम्पत्ति १२४ विलियन अमेरिकी डलर छ । अमेरिकामा माइक्रोसफ्ट कम्पनीका मालिक उनको सम्पत्ति गत वर्ष १०६.५ बिलियन अमेरिकी डलर थियो । यस्तै, फेसबुक कम्पनीका मालिक मार्क जुगरबर्ग यो वर्ष धनीहरूको सूचीमा पाँचौं नम्बरमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ९७ बिलियन अमेरिकी डलर छ । गत वर्ष उनी ८६.५ विलियम अमेरिकी डलर सम्पत्तिसहित चौथो नम्बरमा थिए ।

प्रकाशित : चैत्र २५, २०७७ २०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×