नौ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई सबै जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न अनुरोध गरेको हो ।

त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले शैक्षिक संस्थाहरुमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरु जस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब , धार्मिक स्थलहरुमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचना





प्रकाशित : चैत्र २५, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकार महासंघ कान्तिपुर शाखा अध्यक्षमा गिरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले द काठमाडौं पोष्टका पत्रकार अनिल गिरिको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।

बुधबार सम्पन्न निर्वाचनले उपाध्यक्षमा बुद्धिसागर मरासिनी, महिला उपाध्यक्षमा फातिमा बानु र सचिवमा सुरज कुँवर चुनेको छ ।

त्यसैगरी सहसचिवमा कृष्णशरण पौडेल, समावेशी सहसचिवतर्फ चन्दनकुमार मण्डल र कोषाध्यक्षमा यज्ञ बञ्जाडे चुनिएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा किशोर बस्नेत, प्रकृति दाहाल, कृष्णा प्रसाईं, नुमा थाम्सुहाङ, बुनु थारु, सुजाता मुखिया, रामकृष्ण श्रेष्ठ, उपेन्द्रराज पाण्डेय, गोविन्द अर्याल, सीमा तामाङ र क्रान्ति पाण्डे चुनिएका छन् ।

शाखाले महासंघको सर्वोच्च निकायका रुपमा रहेको राष्ट्रिय परिषद्‌मा राजेन्द्र बस्नेत, जितेन्द्र साह र अंश्रिका देवानलाई सदस्य चुनेको छ भने प्रदेश परिषद् सदस्यमा दिनेश यादव, दिनेश रेग्मी, विनोद घिमिरे, लक्ष्मी भण्डारी, नुमाकान्त पौडेल, पुष्कर पन्थी, विशेश्वर श्रेष्ठ र सुशिला तामाङ चुनिएका छन् ।

थापाथलीस्थित कान्तिपुर मतदान केन्द्रमा बुधबार प्रदेश र केन्द्रका लागि कान्तिपुर प्रतिष्ठान शाखाका १ सय १३ र रेडियो कान्तिपुर शाखाका २६ गरी १ सय ३९ जना मतदाता थिए । मतदानमा यी दुवै शाखाका १ सय २६ मतदाता सहभागी भएका थिए ।

यसैबीच बुधबारै रेडियो कान्तिपुर शाखाले पत्रकार बासु खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, सचिवमा सुरज राजथला, कोषाध्यक्षमा बिनु बस्नेत चुनिएका छन् । त्यसैगरी सदस्यमा प्रेम सागर भट्टराई, नवराज भण्डारी र रवि श्रेष्ठ चुनिएका छन् । रेडियोले राष्ट्रिय परिषदमा परमानन्द खनाल र प्रदेश परिषदमा प्रतिक्षा खनाल र अनिल परियारलाई चुनेको छ ।

दुवै शाखाले निर्विरोध कार्यसमिति सहितका पदाधिकारी छानेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७७ २०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×