कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

वायु प्रदूषण उच्च भएपछि वीरेन्द्रनगरमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनको आग्रह

३९ वटा वनमा डढेलो, दुई जनाको मृत्यु
चाँदनी कठायत

वीरेन्द्रनगर — करिब एक महिना अगाडिदेखि देशभर वायु प्रदूषण र तुवाँलोले विकराल रुप लिइरहेका बेला वीरेन्द्रनगरको वायु प्रदूषण पनि अत्यधिक बढेको छ ।

वायु प्रदूषण उच्च भएपछि वीरेन्द्रनगरमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनको आग्रह

वन डढेलोका कारण सुर्खेतमा पनि वायु प्रदुषणको अवस्था विकराल बनेको हो । प्रदूषण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

‘वायु प्रदूषणको स्तर बढ्दै गइ मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकोले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनुहुन र केटाकेटी, बुढाबुढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन अनुरोध गरिन्छ’ प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ । प्रदूषणको असर विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई देखिने भन्दै प्रशासनले सावधानीका उपाय अपनाउन आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुको गुणस्तर सूचांक (एक्यूआई) ५० सम्म स्वस्थ हुन्छ भने ५१ देखि सयसम्म मध्यम मानिन्छ । यस्तै, १०१ देखि १५० सम्म संवेदनशील व्यक्तिहरुका लागि अस्वस्थकर मानिन्छ । १ सय ५१ देखि २ सय सम्म अस्वस्थकर, २ सय १ देखि ३ सय सम्मलाई धेरै अस्वस्थकर र ३०१ देखि ५ सय सम्मलाई घातक मानिन्छ ।

सुर्खेतको एक्यूआई पनि १५० बढी भएको अनुमान विज्ञहरुले गरेका छन् । कर्णाली प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसीले एक्यूआई एक सय कट्न थालेपछि मानव स्वास्थ्यमा विभिन्न असरहरु देखा पर्न थाल्ने भन्दै सुर्खेतका अधिकांस नागरिकमा प्रदूषणले असर पारेको बताए । ‘अहिले बनिरहेका बाटोहरु चाँडै नबनाए थप जटिल समस्या उत्पन्न हुन्छ,’ उनले भने, ‘हरेक नागरिकले आफ्नो घर अगाडि दैनिक प्लाष्टिक जलाइरहेका छन्, वनमा डढेलो लागिरहेको छ, यस्तो अवस्थामा प्रहरी नै परिचालन गरी रोक नलगाए प्रदूषण अझै बढ्छ ।’

डा. केसीले अहिले धेरै बालबालिकाहरुमा दमको रोग देखा परेको बताए । घर नजिकैको जंगलमा डढेलो लाग्दा बालबालिकाहरुमा श्वासप्रश्वासको समस्या बढी देखिएको छ । सरोकारवाला निकायले समयमा नै ध्यान नदिए आगलागीमा परेर भन्दा पनि आगोका कारण भएको प्रदूषणले मानिसको ज्यान लिने उनको भनाइ छ । ‘हामीले अहिले देखिएको ठूलो प्रदूषण त नियन्त्रण गर्न सक्दैनौं,’ डा. केसीले भने, ‘तर दैनिक रुपमा घरबाट निस्कने फोहोर व्यवस्थापन गरी कर्णालीलाई प्लाष्टिकमुक्त बनाउन सकेपछि जनस्वास्थ्य पनि सुध्रिन्छ ।’

उनले सेनाको हेलिकप्टर नै प्रयोग गरी वन डढेलो लागिरहेका स्थानमा पुगी नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । प्रदूषणका कारण दम बिग्रिनुका साथै आँखाका बिरामीहरु बढ्न थालेको भन्दै सजग रहन चिकित्सकको सुझाव छ ।

३९ वटा वनमा डढेलो, दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार खडेरी सुरु भएदेखि हालसम्म ३९ जंगलमा डढेलो लागेको छ । जिल्लाका ६ वटा स्थानीय तहका विभिन्न ३९ वटा सामुदायिक वनको ३ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा डढेलो भइरहेको प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनले अहिले पनि धेरै स्थानमा डढेलो लागिरहेको बताए ।

वनमा लागेको आगो निभाउने क्रममा दुई जनाको मृत्युसमेत भएको प्रहरीले जनाएको छ । डीएसपी घर्तीका अनुसार सिम्ता गाउँपालिका–७ का ९ वर्षिय प्रदीप विक र सिम्ता गाउँपालिका–२ का ४२ वर्षिया नैना खत्रीको मृत्यु भएको हो । खत्रीको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

आगलागीमा परी सिम्ताकै चन्द्रकला सिंह घाईते भएकी छिन् । उनको काठमाडौंमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मानविय क्रियाकलापकै कारण वन डढेलो बढेको प्रहरीको भनाइ छ ।

प्रकाशित : चैत्र २५, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?