२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

निर्माणाधीन ठिमुरा पुल भत्किएको विषयमा छानबिन गर्न समिति गठन

रमेशकुमार पौडेल

चितवन — पुल तयार भएपछि त्रिशूली वारिपारि गर्न सजिलो हुन्छ भन्दै दीर्घबहादुर रिमाल खुसी थिए । पुल धमाधम ढलान हुन थालेपछि उनी बेला बेलामा हेर्न पनि जान्थे । तीन दिनअघि पनि लौरो टेक्दै पुल नजिक पुगेका थिए ।

निर्माणाधीन ठिमुरा पुल भत्किएको विषयमा छानबिन गर्न समिति गठन

यो वर्षभित्र पुलबाट गाडी वारपार हुने कुरा सुन्दा दंग परे । लौरो टेक्दै मंगलबार बिहान पनि उनी पुल छेउ पुगे । तर पुल त कामै नलाग्ने गरेर भत्केको देखे ।

‘अस्तिमात्र ल अब छिट्टै पुल तयार हुन्छ भन्दै थिए । के भएर भत्केछ यो पुल ?,’ भरतपुर–१ ठिमुराका ९० वर्षीय रिमालले भने । उनको गाउँपारि तनहुँको देवघाट पर्छ । त्रिशूली तरे मात्रै वारिपारि गर्न सकिन्छ । नदीमाथि मोटरेबल पुल बनाउन २०७१ कात्तिकमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७४ कात्तिकमै निर्माण पूरा हुनुपर्थ्यो तर चार पटक म्याद थपे पनि तयार हुन बाँकी रहँदै पुल भत्केको छ । मंगलबार बिहान ४ बजेतिर पुल भत्केको जानकारी आएको र भत्किनुको कारणबारे अध्ययन हुने डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । छानबिनका लागि सडक विभागले टोलीसमेत गठन गरेको छ ।

यो पुलले चितवन र तनहुँ मात्रै नभएर वाग्मती र गण्डकी प्रदेशलाई पनि जोड्छ । पुल दुई सय मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान हुन्छन् । कंक्रिटका ४०/४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । देवघाटतर्फ रहने एउटा स्पान र ठिमुरातर्फ रहने दुईवटा स्पानको ढलान भइसकेको छ । बीचमा रहने कंक्रिटको स्पान राख्न बाँकी थियो । ‘ढलान भएको मध्ये ठिमुरातर्फका दुई वटा कंक्रिटको स्पान नदीमा खसेको हो,’ इन्जिनियर खनालले भने ।

डिभिजन सडक कार्यालयका अर्का इन्जिनियर प्रकाश दराई झन्डै ३५ दिनअघि ढलान भएको स्पान अचानक खसेको र त्यसले अर्को स्पानलाई पनि धक्का दिएर भत्काएको बताउँछन् । भर्खर ढलान भएको स्पानमा भार सहन सक्ने गरेर अड्काउने र कस्ने काम गर्न बाँकी नै रहेको उनले बताए । ‘हिजो भूकम्प पनि गएको थियो ।

सतहमा भएको हलचल वा अन्य केही कारणले स्पान खसेको हुनुपर्छ । यसका बारेमा छानबिन गर्न सडक विभागको पुल महाशाखाको नेतृत्वमा टोली गठन भइसकेको छ । अध्ययन टोलीले कारणहरू खोतल्नेछ,’ उनले भने । २१ करोड ६८ लाख रुपैयाँ लागतको यो पुल बनाउने ठेक्का इलिट एडभेन्चर इन्द्रेणी जेभीले पाएको थियो ।

आउँदो जेठभित्र निर्मण सक्ने गरेर धमाधम काम भइरहेका बेलामा यस्तो घटना भएको डिभिजन सडक कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए । यो पुललाई अघिल्लो वर्ष पनि बाढीले असर गरेको थियो ।

प्रकाशित : चैत्र २५, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?