कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नरभक्षी बाघ समात्दा...

‘घना जंगलमा बाघ खोज्न सम्भव थिएन, भाग्यवश झाडीमा करिब बेहोस अवस्थामा फेला परेपछि ढुक्क भयौं’ 
कमल पन्थी

बर्दिया — राष्ट्रिय प्रकृति संरक्षण कोषका फिरुलाल थारू र स्रोत सहायक उमेश पौडेल आइतबार साँझ सवा ५ बजे एकाएक रूखमा चढे । उनीहरू रूख चढेको करिब ३ मिनेटपछि बाघ आइपुग्यो ।

नरभक्षी बाघ समात्दा...

रूखनजिकै भर्खरै बाघको आक्रमणमा परी मारिएका ठाकुरबाबा–९ का ३१ वर्षीय पुलिसराम थारूको शव थियो । उनी बर्दिया राष्ट्रिय निकुञ्जमा नौ वर्षदेखि पछुवाको काम गर्दै आएका थिए ।

‘शव मानिसले नछोएको हुँदा फेरि एक पटक बाघ आउन सक्छ भन्ने आशंकाले नै हामी रूख चढेर बसेका थियौं,’ फिरुलालले भने । सुरुमा केहीबेर बाघले रूखलाई कोतर्न थाल्यो । बेलुका भएकाले अँध्यारोमा डार्ट गर्न सजिलो थिएन । एउटै डार्टगन भएकाले मिस फायर भए बाघ नियन्त्रणबाहिर पुग्न सक्थ्यो । ‘त्यसैले आत्मविश्वासी भएर फायर गरें,’ फिरुलालले भने, ‘करिब २ सय मिटरको दूरीमा रहेको बाघलाई फायर गर्दा हात्ती प्रयोग गरेको थिएँ ।’ लठ्याउने औषधि लागेपछि बाघ छटपटाएर झाडीतर्फ भाग्यो । हिउँचितुवा र तराईमा चारवटा बाघ डार्ट गरी नियन्त्रणमा लिने काममा फिरुलाल सरिक भइसकेका छन् ।

त्यस दिन बेलुकी ५ बजेतिर सहकर्मी मुकुन्द न्यौपानेको फोन आएपछि फिरुलाल र उमेश अफिसमै केही समय रोकिएका थिए । ‘निकुञ्जमा बाघले मानिसलाई आक्रमण गरेको खबर सुन्नासाथ मेरो मन आत्तियो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रविन कडरियाले भने, ‘लगत्तै गाडी लिएर गैंडा मचान आउनुपर्‍यो भनेर न्यौपानेले फोन गर्नुभयो । म गाडी चालकलाई लिएर कार्यालय आएँ ।’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ नियन्त्रण लिने तयारीका साथ आउन भनेकाले सोहीबमोजिम आफू हतारिँदै कार्यालयमा आएको कडरियाले सुनाए ।

निकुञ्जमा पशु चिकित्सक नभएपछि गुलरियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट डार्टगन ल्याइएको थियो । वन्यजन्तु प्राविधिक टोलीसहित कर्मचारी घटनास्थलमा पुगेका थिए । बाघले मारेको थारूको शवलाई नछुनु भनेर त्यसअघि नै जानकारी गराइएको थियो । निकुञ्ज, प्रकृति संरक्षण कोष र नेपाली सेनाका प्रमुखसहितको टोली यसअघि नै घटनास्थल पुगेको थियो ।

पशु चिकित्सक डा. चित्रबहादुर खड्का पनि पुगेका थिए । बाघ पूर्ण रूपमा बेहोस नभएका कारण जोखिम हुने भएकाले थप सातवटा हात्ती झिकाइएको कोषका प्रमुख कडरियाले बताए । थप पाँचवटासहित १३ वटा हात्ती उक्त बाघलाई निणन्त्रणमा लिन प्रयोग गरिएको थियो । ‘रात परिसकेको थियो । घना जंगलमा बाघ खोज्न सम्भव थिएन,’ उनले भने, ‘भाग्यवश खोजेको १० मिनटमा गैंडा मचान नजिकैको झाडीमा बाघ करिब–करिब बेहोस भएको अवस्थामा फेला पर्‍यो ।’

नियन्त्रणमा लिएको बाघ करिब २ सय किलो छ । रात परेकाले दुई क्विन्टलको बाघलाई ट्रकको खोरभित्र राख्नुपर्ने र पुलिसराम थारूको शवलाई मुचुल्का उठाएर लैजानुपर्ने चुनौती थियो । राति ९ बजे बाघलाई लठ्याउने औषधि (सुईमार्फत) दिएर ट्रकको खोरमा राखियो । घटनास्थलबाट करिब ७ किमि दूरीमा रहेको निकुञ्जको मुख्यालय ठाकुरद्वारा लैजाने क्रममा थप २ वटा बाघ जंगलमा भेटिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

‘जिउँदो बाघलाई बेहोस बनाएर लैजाँदै गर्दा थप बाघ देखिँदा मन त्यसै फुलेर आयो,’ उनले भने । सबै प्रक्रिया मिलाउँदा राति करिब १२ बजेको थियो । ठाकुरद्वारामा बाघलाई राखेपछि निकै जोरले कराएको थियो । बाघ कराएको आवाजले निकुञ्ज र आसपासका बासिन्दा त्रसित भएका थिए ।

निकुञ्जले आइतबार राति नियन्त्रणमा लिएको पाटेबाघ मंगलबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुर्‍याइएको छ । निकुञ्जमा बाघ राख्ने खोरको अभाव भएकाले चिडियाखाना लैजानुपरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । चिडियाखानाका प्रमुख चिरन पोखरेलका अनुसार उक्त बाघलाई दैनिक करिब ७ किलो राँगाको मासु दिइनेछ ।

प्रकाशित : चैत्र २५, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?