प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव छिट्टै अघि बढ्छ : भट्टराई

हरिराम उप्रेती

गोरखा — तीन राजनीतिक दल र एमालेभित्रको एक पक्षको सहयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् ।

प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव छिट्टै अघि बढ्छ : भट्टराई

मंगलबार गृह जिल्ला गोरखामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र एमालेभित्रको एक पक्षको साथ र सहयोगमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव छिट्टै अघि बढ्ने बताए । ‘प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार को भन्ने प्रश्न छ, जो पनि हुन सक्छ । कुनै पनि पार्टीको स्पष्ट बहुमत छैन । त्यति ठूलो अन्तर पनि छैन,’ उनले भने, ‘कांग्रेस माओवादी र जनता समाजवादी तीनै थरीको दाबीमा अन्यथा भन्न हुँदैन ।तीनै पक्षको दाबी रहन सक्छ तर यही कारणले केपी शर्मा ओलीको लोकतन्त्र विरोधी अभियानलाई बल पुग्ने कामचाहिँ हुन दिँदैनौं ।’

तीन पक्ष र र चौथो पक्षसँग समझदारी र सल्लाह गरेर प्रधानमन्त्रीको उम्मेदवार टुंग्याउने उनले बताए । संविधान अनुसार अविश्वासको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिनुपर्ने भएकाले प्राविधिक हिसाबले माओवादीले समर्थन फिर्ता नलिएको उनले बताए । ‘राजीनामा त नैतिकता भएको मान्छेले गर्ने हो ।उहाँबाट त्यो अपेक्षा गर्नु मुर्खता हो,’ उनले भने,‘अब उहाँलाई हटाउने अविश्वासको प्रस्तावमार्फत नै हो । त्यसको वातावरण बन्दै गएको छ । प्राविधिक ढंगले गृहकार्य गर्दा केही समय लागेको मात्र हो ।’ केही दिनअघि कांग्रेसले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्ने भनेपछि अविश्वासको प्रस्ताव लैजान ढोका खुलेको उनले बताए ।

जसपाले वार्ता र संवाद गरेर सरकार जाने चर्चामा सत्यता नरहेको उनले बताए । ‘रेशम चौधरीको मुद्दा फिर्ता लिने प्रश्न निरन्तर उठाइरहेको विषय हो । हाम्रा साथीहरु यो विषयमा कुराकानी गर्न जानुभएको छ । कहिले प्रधानमन्त्रीले पनि बोलाएर कुरा गर्नुभएको छ,’ उनले भने,‘उहाँको मनसाय घुमाइफिराइ पार्टीभित्र खेल्ने र आफ्नो सरकार टिकाउने भन्ने हो । लुकेको छैन । तर हाम्रो सल्लाह नै रेशम चौधरीको मात्र कुरा उठाउने भन्ने छ ।’ आफ्नो पार्टी सरकारमा जाने अनुमान र अटकलबाजी सम्भव नरहेको उनले बताए । ‘प्रधानमन्त्रीको बहिर्गमन निर्सत माग हो । यसमा प्रतिबद्ध छौं,’ उनले भने, ‘लोकतन्त्र र संविधानमाथि जहाँबाट खतरा र त्यो खतराबाट बचाउनु अहिलेको पहिलो काम रहेको उनले बताए ।

प्रकाशित : चैत्र २४, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?