सीमा अतिक्रमण निरन्तर

२०७२ मंसिरमै गृह मन्त्रालयमा लिखित उजुरी दिए पनि समस्या समाधानतर्फ चासो नदेखाएको स्थानीय किसानको गुनासो 
कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका–८ बाँसीको सीमावर्ती जंगल २०३६ सालसम्म नेपालका वनकर्मीले जाँच गर्थे । उक्त घना जंगल अहिले भारतको कब्जामा छ । नेपालमा राजनीतिक उथलपुथलको मौका छोपी २०४१ सालदेखि भारतले जंगलसहितको जमिन कब्जा गरेको स्थानीय बताउँछन् । 

सीमा अतिक्रमण निरन्तर

गुलरिया–६ का ७५ वर्षीय एरसद अहम्मदले भारतीय वनकर्मीले कब्जा गर्दै करिब ७ सय मिटर भूभाग नियन्त्रणमा लिएको बताए । ‘बाँसीको जंगलमा जंगे पिलरलाई सिमाना मानेर वारि नेपाली वनकर्मी र पारि भारतीय प्रहरीले गस्ती गर्थेर् । अब जंगे पिलर भएको ठाउँ घना जंगल भएका कारण त्यहाँ कोही पनि जाँदैनन्,’ उनले भने, ‘हेर्दाहेर्दै हाम्रो भूभागमा भारतीय एसएसबीको क्याम्प बसेको छ ।’

२०६२ सालसम्म सलारपुर आउजाउ गर्ने बाटो नभएको सुरजपुरका सियाराम लोधले बताए । तर त्यही वर्ष भारतीय वनकर्मीले जबर्जस्ती नेपाली भूभागमा एकतर्फी सडक निर्माण गरी त्यसैलाई सिमाना कायम गरेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वकालमा गुलरिया–१० को नेपाल–भारत सीमा छुट्याउने दशगजामा भारतले एकतर्फी रूपमा पक्की सडक निर्माण गरेको हो ।

भारतको सडक विभागअन्तर्गत पब्लिक वर्क डिभिजन (पीडब्लूडी) ले सडक बनाएको थियो । सीमास्तम्भ नम्बर ६१ रहेको त्यो स्थानमा सडकसँगै भारतीयले पक्की घर पनि निर्माण गरेका छन् । उक्त सडकसँग भारतको बहराइच जिल्ला जोड्ने राजमार्ग जोडिएको छ ।

गुलरियाका थपुवा, खालेपुरुवा र चौगुर्जी, राजापुर नगरपालिकाको सत्तार फारामलगायत सीमामा भारतीयबाट अतिक्रमण भएको छ तर पनि प्रशासनले खासै चासो नदिएको राजापुर सत्तार फारामका विष्णु रिजालले गुनासो गरे । भारतीय सुरक्षाकर्मीले बर्दियाको राजापुरस्थित मुख्य सीमास्तम्भ ९७ र ९८ बीचको करिब ५ बिघा नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ ।

तत्कालीन राजा महेन्द्रले भीम्मापुरका सत्तार मियाँलाई दिएको उक्त जग्गा बेचबिखन भएको थियो । उक्त जग्गा खरिद गरेका राजापुरका हर्कबहादुर शाही, जिनत सिद्दिकी, रेमण रेग्मी र शरदकुमारी उपाध्यायका नाममा छ । उपाध्यायको कित्ता नम्बर ५१३ को १ बिघा १२ कट्ठा १० धुर जग्गामध्ये करिब १ बिघा अतिक्रमण भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उक्त जग्गा भारतको भएको दाबी गर्दै जोतभोग गर्न नदिएको पीडितले बताए ।

गुलरिया नगरपालिका–१० का बन्धिया थारूसँग २ बिघा ७ कट्ठा र हैबु थारूसँग १ बिघा ७ कट्ठा जमिनको धनीपुर्जा छ तर उनीहरूले आफ्नो जमिनमा हकभोग गर्न नपाएको ११ वर्ष भयो । उनीहरूजस्तै महारजिया चौधरीले पनि आफ्नो १४ कट्ठा जग्गामा खेती गर्न पाएका छैनन् । उनीहरूको सबै जमिन एसएसबीको कब्जामा छ ।

त्यति मात्र होइन, जिरिया थारूको १० कट्ठा र खटिक थारूका नाममा रहेको ७ कट्ठा जग्गा पनि एसएसबीको नियन्त्रणमा छ । नेपाली किसानको जग्गा सीमास्थित भारतीय सुरक्षा निकायले नियन्त्रण गर्दासमेत प्रशासनले चासो नदिएपछि २०७२ मंसिर २७ गते गृह मन्त्रालयमा लिखित उजुरी गरेका थिए तर मन्त्रालयले अहिलेसम्म समस्या समाधानतर्फ चासो नदेखाएको किसानले गुनासो गरे ।

भारतीय घना जंगलसँगै जोडिएर २ सय ४५ वटा सीमास्तम्भ गाडिएका थिए । तीमध्ये मुख्य पाँचसहित ७२ वटा सीमास्तम्भ फेला नपरेको सशस्त्र सीमा प्रहरी बल ३१ नम्बर गणले जनाएको छ । मुख्य सीमास्तम्भमध्ये ६७१, ६७२, ६८१, ६९० र ६९३ फेला नपरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए । उनका अनुसार ९ सहायक सीमास्तम्भ फेला परेका छैनन् । त्यसैगरी साना सीमास्तम्भ ५८ वटा फेला नपरेको बताए । विगतमा सातवटा सहायक सीमास्तम्भ र २५ वटा साना सीमास्तम्भ खोलाले बगाएको थियो ।

२०६४ मा सशस्त्र प्रहरी बल स्थापना भएयता अतिक्रमणका घटना नभएको सहायक प्रहरी उपरीक्षक रावतले दाबी गरे । गत मंसिर १२ गते गुलरिया–१० मस्जिदियामा सानो सीमास्तम्भ ६७१/१ सशस्त्र प्रहरीले नियमित गस्तीका क्रममा फेला पारेको थियो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले अतिक्रमित सीमाका सम्बन्धमा भारतीय समकक्षीसँग हुने बैठकमा कुरा उठाउने बताए ।

प्रकाशित : चैत्र २४, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?