सम्पदा अलपत्र

प्रशान्त माली

काठमाडौँ — बाहिर कलात्मक देखिए पनि पाटीभित्रको अवस्था लथालिंग छ । छेउमै रहेको धाराबाट पानी झर्छ तर निकास छैन । जमेको पानीमा फोहोर र लेउ देखिन्छ ।

सम्पदा अलपत्र

नारायणको मूर्ति जीर्ण छ भने हात्तीको सुँड, गोहीका आँखा, वरुण नागराजालगायत ६ वटा जनावरको मिश्रणबाट बनेको ढुंगेधारा फोहोर पानीमा डुबेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व–दक्षिणस्थित यो त्यही ठाउँ हो, जहाँ राष्ट्रिय विभूति शंखधर साख्वाका पालामा ढुंगेधारा निर्माण भएको विश्वास छ । विमानस्थल नागरिक उड्डयन कार्यालय र पुरातत्त्व विभागको बेवास्ताले ऐतिहासिक पुरातात्त्विक महत्त्वको क्षेत्र ओझेलमा परेको सम्पदाका जानकार बताउँछन् । साख्वाले ९३६ सालमा उपत्यकाका जनताको ऋण तिरेर नेपाल संवत्को थालनी गरेको ठाउँका रूपमा पनि यसलाई चिनिन्छ ।

‘काठमाडौंका राजा राघवदेवका पालामा यो ठाउँ काठमाडौं, ललितपुर र भक्तपुरको केन्द्रबिन्दु थियो,’ अधिकारकर्मी मल्ल के सुन्दर भन्छन्, ‘यहाँ शिलाको मुगल (स्तम्भ) थियो । पछि यो ठाउँलाई सिनामंगल भनियो । यहीं बसेर साख्वाले ऋणमा डुबेका जनताको उद्धार गरेको जनविश्वास छ ।’ उनका अनुसार उपत्यकाका नेवार समुदाय सिठी नखः (पानी दिवस) यहाँका इनार, ढुंगेधारा, कुवा, पोखरीलगायत खानेपानीका स्रोत सरसफाइ गरेर मनाउँथे ।

पछि हिटी विमानस्थलभित्र परेपछि प्रवेशमा रोक लगाइयो । सरसफाइ हुन छोड्यो । स्थानीयले यहाँको स्तम्भ पनि पेप्सीकोला चोकको मन्दिरमा ल्याए । यसलाई अहिले शिवलिंगका रूपमा पुज्ने गरिएको सुन्दर बताउँछन् । ‘यो कुनै जाति विशेषको नभई राष्ट्रको सम्पदा हो, सबै मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘स्तम्भलाई पहिलेकै अवस्थामा राख्नुपर्छ ।’

हिटी र पाटी गरी एक रोपनी १३ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । यहाँको सम्पदा स्थलमा सवारी पार्क बनाउन लागेको भन्दै सम्पदा अभियन्ताले आपत्ति जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिए । ढुंगेधारा र राष्ट्रिय गौरव बोकेको स्थानको संरक्षण र प्रवर्द्धन गर्न भन्दै यादवलाल कायस्थको टिम एक वर्षदेखि लागिपरेको छ ।

धेरै प्रयासमा नेपाली सेनाले प्रवेश दिएपछि पाटीको पश्चिमतर्फको ढुंगेधारा उत्खनन गरिएको कायस्थले बताए । ढुंगेधारालाई पुरानै अवस्थामा फर्काउन माग गर्दै १ सय १३ जनाको हस्ताक्षरसहित पुरातत्त्व विभागमा पत्र बुझाएको उनले बताए । विभागका प्रवक्ता रामबहादुर कुँवरले हिटी र पाटी संरक्षण गर्न विमानस्थल प्रशासनसँग छलफल गरिरहेको बताए ।

प्रकाशित : चैत्र २३, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?