बाघको आनीबानी बुझ्न ‘रेडियो कलर’- समाचार - कान्तिपुर समाचार

बाघको आनीबानी बुझ्न ‘रेडियो कलर’

कमल पन्थी

बर्दिया — चहलपहल बढेपछि आनीबानी र आवागमन पहिचान गर्न बाँके, बर्दिया र पर्सा निकुञ्जका गरेर थप चारवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिने भएको छ ।

तस्बिर सौजन्य: चुङ्बा शेर्पा


बर्दिया राष्ट्रिय निकुञ्जले गत चैत १६ गते पूर्व–पश्चिम राजमार्गस्थित कौवाभारमा पाँच वर्षको बाघलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियो कलर जडान गरेर छाडेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय निकुञ्ज विभागले बर्दिया, बाँके, चितवन र पर्साको कम्प्लेक्समा ६ वटा बाघको अध्ययन गर्ने अनुमति पाएको थियो । पहिलो चरणमा बर्दियामा पाटेबाघमा स्याटेलाइट कलर जडान गरिएको निकुञ्जले जनाएको छ । पर्सा निकुञ्जमा एक महिनाअघि प्राविधिक टोलीले एउटा बाघलाई स्याटेलाइट कलर जडान गरिसकेको छ । अब चितवन र बाँकेमा एक/एक, बर्दियामा दुईवटा बाघमा रेडियो कलर जडान हुनेछ ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले चाँडै बाँके र बर्दिया निकुञ्जका थप तीनवटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गर्ने बताए । कलर जडान गरिएका बाघको अध्ययन भइरहेकाले व्यवहारका आधारमा विचरण क्षेत्र, आहारा जुटाउने तरिका र राजमार्गमा कसरी आउजाउ गर्छ भन्ने थाहा हुने उनले बताए ।

‘अध्ययन पूरा भएपछि धेरै कुरा थाहा हुनेछ,’ उनले भने । रेडियो कलर जडान गरिएका बाघको सबै गतिविधिको अनुगमन निकुञ्ज मुख्यालय ठाकुरद्वारामा यहाँ राखिएको प्रविधिबाट भइरहेको छ । रेडियो कलरबाट आएको सूचनाअनुसार फिल्ड अनुगमन भइरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जनाए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्सा, बाँके, चितवन र बर्दिया निकुञ्जमा सडक संरचना कस्तो बनाउने, मान्छेमाथि हुने आक्रमणका घटना कसरी रोक्नेलगायत विषयमा तय गर्न अध्ययनले सघाउने छ । बाघ कति आक्रामक छ, मानिसलाई कसरी आक्रमण गर्छ भन्ने विषयमा अध्ययन भएपछि यसैका आधारमा निकुञ्जले प्रतिवेदन सरकारलाई बुझाउनेछ । कलर जडान गरिएकाको अवस्था निगरानी गर्दा बाघलाई राजमार्ग वारपार गर्न गाह्रो परेको देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रविन कडरियाले बताए ।

बाघका आनीबानी अनुसन्धानका लागि राष्ट्रिय निकुञ्ज विभाग, विश्व सम्पदा संघ, मिचीगन स्टेट विश्वविद्यालय अमेरिका र राष्ट्रिय प्रकृति संरक्षण कोषले मिलेर काम गरिरहेका छन् । अनुसन्धान लामो समय चल्ने अनुमान छ । बर्दिया निकुञ्जमा यो मौसममा धेरैतिर बाघ देखिन थालेका छन् । राजमार्गमा बाघका आनीबानी अध्ययन थालिए पनि मध्यवर्ती क्षेत्रमा भने केही पछि गरिने निकुञ्जले जनाएको छ । सन् २०१८ को गणनाअनुसार बर्दियामा ८७ वटा बाघ रहेकामा अहिले बढेर १ सय २५ पुगेको अनुमान छ । दुई वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा १७ र बाँके निकुञ्जमा दुई गरी १९ जना मानिसको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र २२, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

आरसीटीको महत्त्वाकांक्षी योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिमान छ पल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता आरसीटीले फेरि एकपल्ट माथिल्लो डिभिजनमा उक्लने उद्देश्य राखेको छ, त्यो पनि पूर्ण तयारीसँगै ।

क्लब अहिले ‘बी’ डिभिजनमा छ । आरसीटीले ‘ए’ डिभिजनमा उक्लनु अगाडि आर्थिक र भौतिक रूपमा आफूलाई अझ बलियो बनाउने भएको छ ।

‘ए’ डिभिजनमा प्रवेश पाउनुअघि अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिले आफ्नै मैदान मैदान, एकेडेमी र होस्टेलका लागि प्रयास गर्नेछ । क्लबले शनिबार नयाँ कार्यसमिति पाएको हो र त्यसको नेतृत्वमा सुरेशकाजी शाक्यले फेरि निरन्तरता पाएका छन् ।

अध्यक्षमा शाक्यको यो तेस्रो कार्यकाल हुनेछ । कार्यसमिति उपाध्यक्षमा राजेश श्रेष्ठ र कुमार राजभण्डारी, सचिवमा राजु शाही, सहसचिवमा रविन महर्जन र कोषाध्यक्षमा सन्जीव तुलाधर छन् । सदस्यमा यज्ञरत्न तुलाधर, नरेश वैद्य, अमूल्य मानन्धर, चंगेजलाल श्रेष्ठ, रघुवरमान सिंह प्रधान र नरेन्द्र श्रेष्ठ छन् । कार्यसमिति पहिलो बैठकले मनोनीत दुई सदस्यमा अशोक मानन्धर र रामचन्द्र श्रेष्ठ छन् ।

क्लबले आफ्नै मैदानका लागि तयारी गरिरहेको छ र यो अन्तिम चरणमा पुगिसकेको छ । अध्यक्ष शाक्यले भने, ‘अहिले हाम्रो प्रमुख उद्देश्य आरसीटीलाई आर्थिक रूपमा बलियो बनाउनु हो र एएफसीले तोकेको क्लब मापदण्डसरह सक्षम बनाउनु हो ।’

प्रकाशित : चैत्र २२, २०७७ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×