२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जसपा अझै अनिर्णीत

जसपाको यादव–भट्टराई पक्ष नयाँ गठबन्धन बनाउने पक्षमा छ तर ठाकुर–महतो पक्ष आफ्ना माग पूरा गराउन सरकारसँग निरन्तर संवादमा छ 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्ने/नबन्ने अनिश्चित छ । 

जसपा अझै अनिर्णीत

अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ ।

प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले ओली र उनको विकल्पमा बन्ने सरकारलाई एउटै नजरले हेरेको छ । सरकारमा सहभागिता र समर्थन जनाउने विषयलाई यो समूहले निलम्बित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, उनीहरू विरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको सर्तसँग जोडेको छ ।

सरकारसँग यी माग पूरा गराउन ठाकुर पक्षले कार्यदल बनाएरै छलफल अघि बढाइरहेको छ । यी माग सरकारले पूरा गरेमा प्रधानमन्त्री ओलीलाई नै पनि निरन्तरता दिन सकिने यो पक्षको संकेत छ । ‘हामीले अघि सारेका सबै माग सरकारले पूरा गर्न सक्छ भन्ने लाग्दैन, राजनीतिमा कतिपय विषय रणनीतिक हिसाबले अघि बढाइएको हुन्छ, त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ,’ जसपाका एक नेताले भने, ‘पार्टी फुटाएर ओलीलाई साथ दिने कुरा धेरै कठिन छ ।’

जसपा नेता राजकिशोर यादवले भने कांग्रेसको निर्णयले राजनीतिक कोर्स एक कदम अघि बढेको बताए । ‘कांग्रेसको निर्णय अर्थपूर्ण छ, अब माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि लिँदैन हेर्न बाँकी छ, माओवादीले समर्थन फिर्ता लियो भने जसपाले पनि एक ठाउँमा रहेर जे निर्णय लिनुपर्ने हो लिन्छ,’ यादवले भने, ‘जसपा अहिले पनि एक ठाउँमै छ । भोलि पनि रहन्छ । जे निर्णय हुन्छ, एकमतका साथ हुन्छ ।’ अर्का नेता जितेन्द्र सोनलले पनि माओवादीले लिने निर्णयले अब कोर्स कता जान्छ भन्ने तय हुने बताए । ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने वैकल्पिक सरकारको कोर्स अघि बढ्छ,’ उनले भने, ‘जसपा त एजेन्डाकेन्द्रित पार्टी हो । हाम्रो एजेन्डालाई सम्बोधन गर्ने सुनिश्चित आधार भएपछि मात्रै सरकारको विषयमा कुरा गर्छौं ।’

जसपाको यादव–भट्टराई समूहले भने प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम उठाउने ओलीलाई कुनै पनि माग पूरा गरेका आधारमा समर्थन जनाउन नसकिने धारणा अघि सारिसकेको छ । ठाकुर समूहको फरक अडानका कारण जसपाले ठोस निर्णय गर्न सकिरहेको छैन । यादव–भट्टराई पक्षले भने निर्णय गराउन दबाब बढाइरहेको छ । फागुपूर्णिमालगत्तै केन्द्रीय कार्यकारिणी समिति बोलाएर औपचारिक निर्णय लिने बताइए पनि जसपाको बैठक बस्ने/नबस्ने टुंगो लागेको छैन । जसपा नेता भट्टराईले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नुपर्ने कर्तव्य नभुल्न ठाकुरसहितका नेताहरूको ध्यानाकर्षण गराएका छन् । ‘अन्ततः प्रमुख प्रतिपक्ष कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ, अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं, आ–आफ्ना दलका फरक एजेन्डा हुन्छन् तर ती सबैभन्दा माथि देश, जनता र लोकतन्त्रको आवश्यकता, प्राथमिकता हुन्छ,’ उनले

ट्वीट गर्दै भनेका छन्, ‘आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो ।’ नेता यादवले पनि अब केही दिन नेताहरूबीच अनौपचारिक संवाद हुने र त्यसपछि मात्रै बैठक बस्ने बताए ।

कांग्रेसको निर्णयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत उत्साही बनाएको छ । निर्णयको स्वागत गर्दै उनले शनिबारदेखि नै सत्ता समीकरण बदल्ने विषयमा समझदारी जुटाउन छलफल हुने बताएका छन् ।

कांग्रेसको निर्णयपछि दाहाल जसपाका नेताहरूसँग अनौपचारिक संवादमा जुटेको स्रोतले बतायो । जसपालाई अनौपचारिक रूपमा तयार पारेपछि सरकारले दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव सँगै प्रस्तुत गर्ने दाहालको रणनीति छ । कांग्रेस सभापति देउवाले पनि जसपालाई सहमतिमा ल्याउन दाहाललाई नै जिम्मेवारी दिएका छन् । वैकल्पिक सरकार सुनिश्चित नभईकनै सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीलाई फेरि संसद् विघटन गर्ने बाटो खुल्न सक्ने माओवादीको बुझाइ छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ओलीले राजीनामा नदिए उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने धारणा राखेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा पौडेलले अविश्वास प्रस्तावबाटै ओलीलाई हटाउनुपर्ने बताए । उनले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकबाट अविश्वास प्रस्ताव लैजाने निर्णयसमेत गराउन चाहेका थिए तर जसपाको प्रस्ट धारणा नआएसम्म देउवाले त्यस्तो निर्णय गर्न मानेनन् । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले कांग्रेस नेतृत्वमा सरकार बनाउन माओवादी र जसपाले निर्णय लिनुपर्ने बताए । ‘हामी पहिल्यैदेखि प्रस्ट थियौं, प्रस्ट नभएको संसद्को अंकगणितमात्रै हो, सरकार बनाउने भनेकै अंकगणितको खेल हो, अहिले पनि जसपाले निर्णय नगरेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना छैन, जसपाले गर्ने निर्णयले सरकार बन्ने वा नबन्ने तय हुन्छ,’ महतले भने ।

प्रधानमन्त्री ओलीको विकल्पमा गठबन्धन सरकार बन्न कांग्रेसको ६३ (कायम ६१), माओवादी केन्द्रको ५३ (हाल कायम ४९) र जसपाको ३४ (कायम ३२) सांसद भएको तीन दल एक ठाउँमा उभिनुपर्छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?