कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नयाँ गठबन्धन बनाउन गृहकार्य

बबिता शर्मा

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।

नयाँ गठबन्धन बनाउन गृहकार्य

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् ।

नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ । काठमाडौंबाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि भन्दै हतारहतार काठमाडौं आएका थिए । ‘४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठनबारे बैठक गर्नुछ, त्यसका लागि फर्कनुपर्नेछ, देशको राजनीतिले कोल्टे फेरेको छ, नयाँ परिस्थिति बन्नेछ, त्यही कामका निम्ति म छिटो जानुपरेको हो,’ कपिलवस्तुमा दाहालले भनेका थिए ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । ‘कांग्रेसको निर्णय सकारात्मक छ, अब हामी जसपासँग पनि छिटो त्यस प्रकारकै निर्णय लिन अनुरोध गर्छौं,’ उनले भने, ‘त्यसपछि सम्बन्धित सबै पार्टी बसेर फाइनल प्रक्रिया अगाडि बढाउँछौं ।’

माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताएको छ । माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको औपचारिक पत्र लेख्नमात्रै बाँकी रहेको बताएको छ । देउवासँगको भेट र पछिल्लो राजनीतिक अवस्थालाई लिएर आइतबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

कांग्रेसको निर्णयपछि उत्साही माओवादी केन्द्र जनता समाजवादी पार्टीको एउटा समूहसँग नियमित संवादमा छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम प्रतिगामी भएको भन्दै नयाँ सरकार बनाउने पक्षमा छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भने जसले आफ्ना माग पूरा गर्छ, उसैसँग सहकार्य गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग संवाद गरिरहेका छन् । कांग्रेसको निर्णयले ओलीको विकल्प खोज्न सहज बनाएको जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईले बताइसकेका छन् ।

एमाले र माओवादीको एकता भंग भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवालाई कांग्रेस नेतृत्वको सरकारको पहल थाल्न तीन पटक आग्रह गरिसकेका छन् । यसअघि दाहालले १७ चैतमा देउवालाई भेटेर कांग्रेस नेतृत्वको सरकारका लागि अग्रसरता र ठोस निर्णय लिन आग्रह गरेका थिए । दाहालले फागुन २३ मा नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पर्सिपल्ट फागुन २५ मा निवासमै पुगेर देउवासँग भेट गरेका थिए । त्यसलगत्तै देउवाले फागुन २८ मा जसपा नेताहरूसँग छलफल गरेका थिए । चैतको सुरुमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त बैठक बस्ने तयारी भए पनि रोकिएको थियो । जसपासँगको भेटपछि देउवाले फागुन २९ मा पार्टीको केन्द्रीय महिला विभागले आयोजना गरेको प्रशिक्षणमा देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको र परिस्थिति आइपरे जिम्मेवारी लिन आफू तयार रहेको बताएका थिए । आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि देउवा अझै जसपासँग ढुक्क छैनन् । जसपासँग सहकार्यका लागि रेशम चौधरीको रिहाइ प्रमुख मुद्दा हुने र त्यसले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको राजनीति प्रभावित हुन सक्ने उनको बुझाइ छ ।

यसअघि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले औपचारिक रूपमै चुनावको प्रस्ताव गरेका थिए ।

सम्भवतः छिट्टै नयाँ सरकार : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारबारे घनिभूत छलफल सुरु भएको बताएका छन् । कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनका लागि नयाँ परिस्थिति बनेको जानकारी दिए । ‘सम्भवतः छिट्टै नयाँ सरकार बन्छ,’ उनले भने ।

जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री ओलीसँग धेरै नटाँसिन आग्रह गर्दै दाहालले आफूहरूसँग नयाँ सरकारमा जान आग्रह गरे । ‘केपी ओली मधेसी र मुस्लिमका हकअधिकार दिन चाहँदैनन्,’ उनले भने, ‘त्यही भएर महन्थ ठाकुरलाई नयाँ मोर्चामा सामेल हुन सुझाएको हुँ ।’ दाहालले प्रमुख प्रतिपक्ष कांग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरे । आफू प्रधानमन्त्री हुनु/नहुनु ठूलो कुरा नभएको उल्लेख गर्दै उनले नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको खुलासा गरे ।

प्रकाशित : चैत्र २२, २०७७ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?