ओलीले राजीनामा नदिए कांग्रेसले संसद्‌मा अविश्वासको प्रस्ताव लैजान्छ : नेता पौडेल

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसद्‌मा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।

ओलीले राजीनामा नदिए कांग्रेसले संसद्‌मा अविश्वासको प्रस्ताव लैजान्छ : नेता पौडेल

नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसद्‌मा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसद्‌मा लैजाने बताए । उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’

सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलकोबीचमा वार्ता गरी समझदारी बनाइ सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसद्‌मा अविश्वासको प्रस्ताव लैजाने बताए । उनले भने,‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनस्थापनाका लागि आवाज उठाएका तीनवटा दलकोबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’ उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । तर यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताए । उनले भने, ‘महाधिवेशन हुन्छ, समयमै हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुन्छ, गर्नैपर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ ।’

जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न कांग्रेस प्रयासरत रहेको पनि उनले बताए । उनले भने,‘जनता समाजवादीका नेताहरुसँग हामी कुरा गर्छौं । उहाँहरुका माग पुरा गर्नलाई हामी प्रयास गर्छौं ।’

प्रकाशित : चैत्र २१, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?