१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मेलम्चीको पानी उपत्यकामा : तीन दशकदेखिको काम बल्ल पूरा

दिनहुँ साढे आठ करोड लिटर पानी वितरण, तीन वर्षपछि याङ्ग्री र लार्के खोलाको पानी पनि काठमाडौं आउने दाबी
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याई वितरण गर्ने प्रतिबद्धता जनाएपछि आयोजनाले थप महत्त्व र प्रचार पाएको हो ।– राष्ट्रपति भण्डारी 
मेलम्चीले आजको दिनसम्म आइपुग्न झन्डै तीन दशक लगायो, हामीले केही वर्षयता आयोजनालाई सफल पार्न कामलाई तीव्रता दिने प्रयास गर्‍यौं ।  – प्रधानमन्त्री ओली
विमल खतिवडा

काठमाडौँ — काठमाडौं ल्याइएको मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन शुक्रबार गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपस्थित धारा खोलेर यसको वितरणको औपचारिक शुभारम्भ गरिन् । राष्ट्रिय गौरवको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको प्रायः निर्माण कार्य सम्पन्न भई घरघरमा पानी वितरण भएकोमा खुसी लागेको राष्ट्रपति भण्डारीले बताइन् ।

मेलम्चीको पानी उपत्यकामा : तीन दशकदेखिको काम बल्ल पूरा

आयोजनाको परिकल्पना पाँच दशकअघि गरिएको भए पनि करिब तीन दशकअघि तत्कालीन सरकारले विस्तृत सम्भाव्यता अध्ययन गरेपछि आयोजनाको प्रारूप तयार गरेको उनको भनाइ छ । ‘यस अवसरमा आयोजनाका परिकल्पनाकारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘मुलुकमा प्रजातन्त्रको पुनःस्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजननिक रूपमा मेलम्चीको पानी उपत्यकामा ल्याई वितरण गर्ने प्रतिबद्धता जनाएपछि आयोजनाले थप महत्त्व र प्रचार पाएको हो ।’ यसबाट मुलुकको नेतृत्व तहलाई आयोजना ‘कार्यान्वयन गर्न प्रेरणा मिलेको उनको बुझाइ छ ।

‘परियोजना निर्माण ठोस रूपमा कार्यान्वयन हुन झन्डै एक दशक प्रतीक्षा गर्नुपरेको थियो,’ उनले भनिन्, ‘त्यसपछिका सरकारले विभिन्न चरणमा निर्माण कार्य अगाडि बढाए, केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा रहेको वर्तमान सरकारको तीव्र इच्छाशक्ति र तत्परताले आयोजना सम्पन्न भएको छ ।’

नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा उपत्यकावासीका लागि आयोजना एक उपहार हुन पुगेको उनले बताइन् । ‘यसबाट जनताको खुसी बढेको छ भन्ने लाग्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण एवं व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको दोहन जस्ता कारणले पानीका स्रोत प्रदूषित र संकटग्रस्त बनेको परिस्थितिमा मेलम्चीको शुद्ध पानी ल्याउन सरकार सफल भएको छ ।’ विकास निर्माणका कार्यमा यदाकदा अवरोध हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना साकार हुनु उपत्यकावासीका लागि खुसीको विषय भएको बताए । ‘यो लामो समयदेखिको प्रतीक्षाको विषय थियो,’ उनले भने, ‘यसको परिकल्पना धेरै अगाडि गरिएको थियो, झन्डै तीन दशक यसले आजको दिनसम्म आइपुग्न लगायो, हामीले केही वर्षयता आयोजनालाई सफल पार्न कामलाई तीव्रता दिने प्रयास गर्‍यौं ।’ प्राविधिक त्रुटिका कारण दुई जना कर्मचारीले ज्यान गुमाउनुपरेकोमा दुःख लागेको उनको भनाइ छ ।

अहिलेको क्षमता १७ करोड लिटर पानी रहेको उनको भनाइ छ । ‘याङ्ग्री र लार्केको पानी पनि यही सुरुङबाट आउने हो,’ उनले भने, ‘त्यसकारण अब लामो समय प्रतीक्षा गर्नुपर्दैन ।’ अबको तीन वर्षपछि याङ्ग्री र लार्केको पानी पनि काठमाडौं आइसक्ने उनको दाबी छ । त्यसपछि काठमाडौंको वितरण कार्य पूरा हुने उनको भनाइ छ । ‘मन्त्रालय र सम्बन्धित विभागलाई यस सम्बन्धमा तदारुकतासाथ काम अघि बढाउन निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘प्राविधिक हिसाबले कति लाग्छ, मैले हिसाब गरेको छैन, ढिलोमा पनि त्योभन्दा बढी समय लाग्नु हुँदैन ।’ कोभिड–१९ ले विश्व थला परिरहेका बेला विकास निर्माणका कामलाई लगातार अगाडि बढाएको उनको भनाइ छ ।

विकास निर्माणका कुरामा मन्त्रालय र विभागहरूबीच समन्वय हुन आवश्यक रहेको उनले बताए । ‘एउटाले बाटो बनाउँदै जान्छ, त्यसपछि अर्कोले फेरि भत्काउँदै जान्छ, एउटाले सफा गर्दै जान्छ, अर्कोले फेरि खाल्डो बनाउँदै जान्छ, एउटाले चिल्लो पार्दै जान्छ, अर्कोले उबडखाबड बनाउँदै जान्छ,’ उनले भने, ‘यो खालको असंयोजित सिलसिला अब अन्त्य गर्नुपर्छ ।’ यससम्बन्धमा विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिइसकेको उनले सुनाए ।

खानेपानीमन्त्री मणि थापा भने अस्वस्थ भएकाले कार्यक्रममा उपस्थित भएनन् । आम उपभोक्तालाई खानेपानी उपलब्ध गराउने, गुनासा सम्बोधन गर्ने र चुहावट नियन्त्रण गर्ने जस्ता चुनौती आफूहरूलाई थपिएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेको भनाइ छ । उपत्यकामा स्थापित वितरण प्रणालीको चरणबद्ध परीक्षण गरी त्यसमार्फत गुणस्तरीय पानी वितरण गर्ने अभियान आगामी दिनमा अझ तीव्र हुने विश्वास लिएको उनले बताए । काठमाडौंको बढ्दो जनसंख्यालाई मागअनुसार पानी आपूर्ति गर्न याङ्ग्री र लार्के खोलाको पानी पनि ल्याउन दोस्रो चरणको तयारीमा मन्त्रालय लागिसकेको उनको भनाइ छ ।

सुन्दरीजलमा हाल उपलब्ध हुने १७ करोड लिटर प्रशोधनका लागि साढे ८ करोड लिटर क्षमताका दुईवटा पानी प्रशोधन केन्द्र बनाइएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । ‘उपत्यकामा वितरणका लागि थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार र ९ वटा विभिन्न पानीपोखरी बनेका छन् । थप एक पोखरी निर्माणाधीन छ,’ उनले भने ।

पहिलो चरणअन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सेवा उपलब्ध गराइरहेको क्षेत्रमध्ये १ लाख १० हजार घरधुरीमा नयाँ प्रणालीमार्फत पानी आपूर्ति गर्ने योजना छ । जसमा ८० हजार घरधुरीमा धारा जडान गरिएको छ । १५ हजार धाराको परीक्षण भई क्रमिक रूपमा पानी आपूर्ति भइरहेको खत्रीले बताए । ‘केही महिनाभित्र सम्पूर्ण परीक्षण सम्पन्न गरी नयाँ पाइपलाइनबाट रिङरोडभित्र पानी वितरण गरिनेछ,’ उनले भने, ‘नयाँ संरचनाका अतिरिक्त पुरानै वितरण सञ्जालमार्फत मेलम्चीको पानी मौजुदा ६ वटा पानी पोखरी तथा ललितपुरको खुमलटार पोखरीबाट पानी वितरणको व्यवस्था मिलाइएको छ ।’

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी ल्याइने उनले जानकारी दिए । चैत १५ बाट उपत्यकामा मेलम्चीको पानी वितरण थालिएको थियो ।

प्रकाशित : चैत्र २१, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?