‘डाकिनी’ निर्देशकको लिच्छवि हाउस सपना- समाचार - कान्तिपुर समाचार

‘डाकिनी’ निर्देशकको लिच्छवि हाउस सपना

नेपालीसँग अन्तर्राष्ट्रियस्तरमा देखाउन सक्ने मौलिक कथाहरु छन् । – जोङसार खिन्से रिम्पोछे, निर्देशक
जनकराज सापकोटा

काठमाडौँ — सबै ठीकठाक चलेको भए २०७५ असोजताका ललितपुरको पाटन र काभ्रेको पनौतीमा छायांकन भएको फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्यांग्स एन्ड अ मुस्टाच’ संसारभर प्रदर्शनमा आइसकेको हुने थियो ।

भारतीय, भुटानी र अमेरिकी ४३ कलाकारसहित एक सय ११ जनाको टोलीले नेपालभित्रै छायांकन गरेर बनाएको यो फिल्मको नेपाली नाम ‘डाकिनी’ हो । कोरोना कहरले तयारी नबिथोलेको भए डाकिनी नेपालभित्रै नेपाली भाषामा र अन्तर्राष्ट्रिय रूपमा अंग्रेजी र तिब्बती भाषामा प्रदर्शनमा आइसक्ने थियो ।

यही डाकिनीका निर्देशक जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) शुक्रबार मात्रै सिंगापुरबाट काठमाडौं ओर्लिए । यसपालाको काठमाडौं बसाइमा उनी तिब्बती र अंग्रेजी भाषाको उक्त फिल्मलाई नेपालीमा डबिङ गराउने र आफ्नै परिकल्पनामा बौद्धमा बन्न लागेको लिच्छवि हाउसको काम अघि बढाउने योजनामा छन् । कोरोना कहरपछि केही समय रोकिएर फेरि निर्माण प्रक्रिया सुरु भएको बौद्धको साढे तीन रोपनी क्षेत्रफलमा फैलिएको लिच्छवि हाउसको काम छिटो अघि बढाउने कार्यसूची पनि उनीसँग छ ।

बुद्ध धर्मका अग्रणी गुरु खिन्से नोर्बु रिम्पोछेको परिचय फिल्म निर्देशक र लेखकका रूपमा पनि संसारभर उत्तिकै प्रख्यात छ । सन् १९९९ मा उनले बनाएको पहिलो फिल्म ‘द कप’ भारतस्थित तिब्बती शरणार्थी शिविरमा रहेको बालभिक्षुमा केन्द्रित थियो, विश्व प्रसिद्ध फिल्म महोत्सव क्यान्समा देखाइएको थियो । त्यसपछि उनले ट्राभलर्स, म्याजिसियन, भारा जस्ता अन्तर्राष्ट्रियस्तरका फिल्महरू बनाए । उनले बनाएको फिल्म ‘हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आई वेट’ भने सन् २०१६ मा टोरन्टो र लोकार्नो जस्तो ख्याति प्राप्त अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा देखाइएको थियो । बौद्ध दर्शनबारे उनले लेखेको चर्चित पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ का अलावा अन्य आधा दर्जन पुस्तकहरू पनि छन् ।

जोङसार खिन्से रिम्पोछेले सन् २००६ मा भारतीय ज्ञान परम्पराको संवर्द्धन गर्न भारतको हिमाचलमा बुद्धिस्ट इन्स्टिच्युटलाई बदलेर डियर पार्क इन्स्टिच्युट स्थापना गरेका थिए । सन् २०२० मा भने उनले कालिम्पोङमा बुद्ध पादा नामक संस्था खोले । यी दुवै संस्थाले परम्परागत बौद्ध शिक्षा दिनेभन्दा फरक शैलीमा परम्परागत कला, परम्परा र प्रथालाई संवर्द्धन र त्यसको उन्नयनमा जोड दिइरहेका छन् । यिनै दुई संस्थाको सफलताबाट सिकेर बौद्धमा लिच्छवि हाउस बनाउने योजनामा उनी अघि बढिसकेका छन् ।

लिच्छविकालमा काठमाडौंमा बौद्ध परम्पराले व्यापकता पाएको र त्यही बेला बौद्ध दर्शन विस्तारित हुँदै तिब्बतदेखि मध्य एसियाभर फैलिएकाले उनले यो केन्द्रको नाम लिच्छवि राखेका हुन् । जहाँ चित्रकला, संगीत, फिल्मलगायत कला सिर्जना गर्ने, प्रदर्शन गर्ने मात्रै नभएर अन्तर्राष्ट्रिय फिल्म निर्माता, स्क्रिप्ट लेखक र क्यामेराम्यान आएर केही साताको कक्षा पनि लिन सक्नेछन् । अघिल्लो वर्ष नै बौद्ध परम्परासँग सम्बन्धित कलाहरूको प्रदर्शनी गर्ने अमेरिकाको रुबिन आर्ट म्युजियममा डाकिनीको सार्वजनिक प्रदर्शनी गर्ने कार्यक्रम थियो । तर कोरोना महामारीका कारण उक्त कार्यक्रम महिनौंपछि धकेलियो । अमेरिकाकै ट्राइबेका फिल्म फेस्टिभलमा प्रदर्शन गरिने कार्यक्रम पनि अनिश्चित समयका लागि पछि सर्‍यो । कोरोना कहरको अनिश्चितताका माझ रुबिन आर्ट म्युजियमले यो फिल्म आगामी बिहीबारदेखि भर्चुअल रूपमा देखाउँदै छ ।

भुटानमा जन्मिएका रिम्पोछेको परिचय बौद्ध गुरुका रूपमा भए पनि उनी आफूलाई गुरु भन्न उतिसारो रुचाउँदैनन् । उनले पाली र तिब्बतीयन भाषामा रहेका बौद्धका ८४ हजार सूक्तिहरूलाई एक सय वर्ष लगाएर अंग्रेजीमा अनुवाद गराउने परियोजना पनि सँगसँगै चलाइरहेका छन् । जसमा अहिले सयौं अनुवादकहरूले स्वयंसेवी रूपमा संलग्न भइरहेका छन् भने उनी आफैंले अनुवाद सिकाउने कक्षाहरूको पनि नेतृत्व गरिरहेका छन् ।

३० वर्षको उमेरमा पहिलो चोटि नेपाल आएका ५९ वर्षीय रिम्पोछेले कान्तिपुरसँगको कुराकानीमा भने, ‘म धेरै पहिला नेपाल आउन खोजेको थिएँ । बुद्धको जन्मभूमिमा कुन बुद्धिस्ट आइरहन नखोज्ला र ?’ उनले शाक्यमुनि बुद्ध अहिले पनि बाँचिरहेको भए नेपाली राहदानी बोकेर हिँडिरहेका हुने थिए भन्ने सम्झाउँदै नेपाली तन्नेरीलाई कलाका विभिन्न माध्यमबाट बौद्ध दर्शन परम्परा बुझाउने काम सुरु गर्न लागिपरेको बताए ।

खासगरी पश्चिमाहरूले बुद्धलाई धर्मका रूपमा व्याख्या गरेको बताउने उनले परम्परागत शैलीमा पूजा गर्ने, प्रार्थना गर्नेलगायत अनेकन विधिबाहेक पनि बुद्धिज्मका अरू पाटाहरू रहेको उनको मत छ । उनले भने, ‘बुद्धिज्मलाई कलाको माध्यमबाट फरक शैलीमा नेपालले बुझाउन सकोस् ।’

तन्नेरी पुस्तालाई परम्परागत कला, दर्शन र प्रथाको अभ्यास गर्न पुरानै समयमा फर्किनुपर्छ भनेर बताउनुभन्दा उनीहरूलाई संगीत, चित्रकला, फिल्म वा अन्य कला माध्यममार्फत त्यतातिर डोर्‍याउनुपर्छ भन्ने रिम्पोछेको बुझाइ देखिन्छ । उनले भने, ‘लिच्छवि हाउस यही सपनाको प्रतिरूप हो । जहाँ तन्नेरीहरू कलाका अनेकन माध्यममार्फत परम्परागत संगीत, दर्शन परम्परा र कलाको जर्गेना गर्न सकून् ।’

आफूलाई व्यावसायिक फिल्म निर्देशक नमान्ने र बौद्ध दर्शनको गहिरो ज्ञान राख्ने रिम्पोछेले कोरोना कहरले मानिसको परम्परागत जीवनशैलीलाई बदल्ने र एकै बसाइमा हेरिसक्ने फिल्मभन्दा सिरिजहरू हेर्नेतर्फ मानिसहरूको झुकाव बढ्न सक्ने आफ्नो अडकल सुनाए । उनले भने, ‘कोरोनाले मानिसका धेरै आनीबानीहरू बदलिदिएको छ ।’ तीव्र रफ्तारमा कुदिरहेका मानिसलाई कोराना कहरले टक्क रोकेर आफूबारे सोच्न बाध्य तुल्याएको बताए । भने, ‘कोरोनाको धेरै नकारात्मक कुरा पनि होलान् तर एउटा कुरामा भने फाइदा भयो । धेरै मान्छेले आफैंलाई नियाल्न पाए । हामीभित्रको लोभ र भौतिक स्रोतसाधनप्रतिको सम्मोहनबारे पनि सोच्न बाध्य बनायो होला ।’

रिम्पोछेसँगको संवाद बौद्ध दर्शन र परम्परामा मात्रै सीमित रहने कुरै भएन । अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा आफ्ना फिल्मका कारण ख्याति कमाएका उनले डाकिनीको छायांकनका क्रममा कैयन् दिन पनौती र पाटनमा बिताएका थिए । ती दिनहरू सम्झँदै उनले सुनाए, ‘नेपालमा फिल्म छायांकन गर्दाका केही क्रु मेम्बरको सक्रियता देखेर मलाई लाग्यो, उनीहरू ट्यालेन्ट छन् र प्रशस्त सम्भावना बोकेका छन् ।’

भनेर अथवा लेखेर व्यक्त गर्न नसकेका कुराहरू फिल्ममार्फत व्यक्त गर्न सकिने मान्यता राख्ने रिम्पोछेले आफूसँग फिल्म बनाउन लायक एउटा नेपाली कथा रहेको र त्यसमा सकेसम्म शतप्रतिशत नेपालीहरूकै संलग्नतामा फिल्म बनाउने चाहना राखेको सुनाए । उनले थपे, ‘शतप्रतिशत नै नभए पनि ८० प्रतिशत नेपालीको संलग्नतामा त्यो फिल्म बनाउनेछु ।’

बारम्बारको नेपाल भ्रमण गरे पनि उनले नेपाली फिल्म निर्माता र निर्देशकसँग लामो बसउठ गर्ने अवसर भने पाएका रहेनछन् । तर उनले नेपालसँगको लामो संगतलाई पर्गेल्दै भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा देखाइन लायक थुप्रै कथाहरू नेपाली समाजमा छन् । मात्रै तिनलाई नेपाली शैली र नेपाली स्वादमा देखाउन सक्नुपर्‍यो ।’

उनले हलिउड र बलिउडको फिल्म निर्माणको शैलीमा नेपाली कथा भन्न जरुरी नरहेको बताउँदै नाफा मात्रै गर्ने उद्देश्यले खर्चिलो फिल्म बनाउने होडमा भन्दा मौलिक कथा मौलिक शैलीमा भन्ने तरिका विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पैसा र प्रविधि मात्रै ठूलो कुरा होइन । संसारका कैयन् प्रसिद्ध फिल्म मोबाइल फोनबाटै खिचिएका छन् । मात्रै नयाँ कथा र कथा भन्ने मौलिक शैली जरुरी छ ।’

प्रकाशित : चैत्र २१, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

हचुवामा मुद्दा, अदालतद्वारा सफाइ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला विरोध प्रदर्शन गर्न खोज्दा पक्राउ परेका युवकको पक्षमा फैसला
विरोध गर्नका लागि अनुमति माग्ने कामलाई आधार बनाई पक्राउ गर्नु र मुद्दा चलाउनु न्यायको मान्य सिद्धान्त प्रतिकूल रहेको ठहर
जनकराज सापकोटा

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहार कसुरसम्बन्धी मुद्दाको पूर्ण पाठको फैसला सोमबार सार्वजनिक गर्‍यो । सार्वजनिक स्थानमा उभिएर विरोध प्रदर्शन गर्न पाउने सामान्य नागरिकको मौलिक हकविरुद्ध सरकारी संयन्त्र नै कसरी बाधक बन्छ भन्ने यो पाठले प्रमाणित गर्छ ।

प्रहरी र काठमाडौं जिल्ला प्रशासन कार्यालय एक युवाले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने हकविरुद्ध कसरी उभियो भन्ने बुझ्न गत वर्ष असोज २३ का दिन पुग्नुपर्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ आउनु दुई दिनअघि मानवअधिकार तथा शान्ति समाजमा समेत आबद्ध ३२ वर्षीय बीपी भनिने बलराम पौडेल जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । उनका साथमा चिनियाँ राष्ट्रपति आउने दिन जलवायु परिवर्तनमा कार्बन उत्सर्जन न्यूनीकरण गरी वातावरण संरक्षणमा योगदान गर्न आग्रहसहित विरोध गर्ने व्यहोराको निवेदन थियो । निवेदनमा परमाणु अस्त्र निःशस्त्रीकरणको बाटोमा लाग्न आग्रह तथा लिपुलेक उपयोग गर्ने गरी चीन–भारतले गरेको सम्झौताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाऊँ भन्ने पनि उल्लेख थियो ।

सुरुमा उनी साढे ११ बजेतिर जिल्ला प्रशासनको दर्ता शाखामा छिरे । कर्मचारीले ‘के विषयको निवेदन’ भनेर सोधेपछि उनले ‘चिनियाँ राष्ट्रपति आउने दिन आफूहरूले शान्तिपूर्ण रूपमा प्लेकार्ड देखाएर विरोध प्रदर्शन गर्न खोजेको’ बताए । कुरा सुन्नेबित्तिकै प्रशासनका कर्मचारीले उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको कोठामा पुर्‍याए ।

‘त्यो कोठामा राष्ट्रपतिको भ्रमण कार्यक्रमको सुरक्षासँग सम्बन्धित बैठक रहेछ । प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी उत्तमराज सुवेदीसहितका सुरक्षाकर्मीहरू थिए,’ बलरामले सुनाए । सुरुमा त उनका कुरा सुनेर प्रजिअ र सुरक्षा अधिकारीले मुखामुख गरे । उनका अनुसार निवेदनको व्यहोरा पढेपछि एसएसपी सुवेदीले मोबाइल खोसे । अनि त एकैछिनमा गाडीमा राखेर परिसरको टेकुस्थित हिरासतमा पुर्‍याए । परिसर काठमाडौंले उनलाई अभद्र व्यवहार कसुरमा मुद्दा प्रक्रिया अगाडि बढायो र जिल्ला अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लियो ।

पूर्ण पाठको फैसलामा प्रहरी कर्मचारीको कामकारबाहीमा बाधा अवरोध पुग्ने कार्य गरेको र चीनका महामहिमको नेपाल भ्रमणको विरोध प्रदर्शनसम्बन्धी एक थान पत्र बरामद भएको प्रतिवेदन अदालतमा पेस गरेको देखिन्छ । सात दिन थुनामा बसेपछि आठौं दिन बलरामलाई प्रहरीले छोडिदियो । तर जिल्ला प्रशासन कार्यालयले ‘आरोपितले कसुर अपराध गरेको होइन भन्न नसकिने मनासिव आधार नदेखिएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने’ भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार २ हजार रुपैयाँ जरिवाना गर्‍यो ।

थुनामुक्त भएपछिका ५ महिनासम्म पनि जिल्ला प्रशासन कार्यालयमा तारिख खेपिरहेको बलराम बताउँछन् । स्नातक तहको पढाइ सकेर वैदेशिक रोजगारीका लागि २ वर्ष साउदी अरब बसेर फर्केका उनी मानवअधिकारसम्बन्धी अभियानमा सक्रिय थिए । सीटीईभीटीमा तीनमहिने पाककलासम्बन्धी कक्षा लिएर जापान जाने तयारीमा रहेका उनले पक्राउ परेपछिका एक वर्ष थुना र अदालती कारबाहीकै क्रममा बिताए ।

थुनामुक्त भएपछि जिल्ला प्रशासन कार्यालयको फैसलाउपर उनी जिल्ला अदालत काठमाडौं पुगे । अदालतले फागुन १९ गते जिल्ला प्रशासनको निर्णयलाई उल्टाइदियो । अदालतले स्थानीय प्रशासनसम्बन्धी ऐन २०२८ अनुसार प्रशासनसमक्ष निवेदन दिई शान्तिपूर्ण तवरबाट विरोध गर्न पाउनुपर्छ भन्ने उल्लेख भएकाले उनको कार्यलाई अपराध भन्न नमिल्ने उल्लेख गरेको छ । विरोध गर्नका लागि अनुमति माग गर्ने कामलाई आधार बनाई पक्राउ गर्नु र मुद्दा चलाउनु न्यायको मान्य सिद्धान्तको प्रतिकूल रहेको ठहर पनि अदालतले गरेको छ ।

अदालतले प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर बलरामलाई पक्रिने कामलाई कानुनी रूपमा गलत भएको ठहर्‍याएको छ । यस्तै, जिल्ला प्रशासनको फैसलालाई उल्ट्याउँदै जरिवाना गरिएको २ हजार रुपैयाँसमेत फिर्ता गर्न अदालतले आदेश दिएको छ ।

बलरामले कान्तिपुरसँगको कुराकानीमा आफूले विधिसम्मत विरोध प्रदर्शन गर्न पाऊँ भनेर निवेदन दर्ता गराउन खोज्नुलाई नै अपराधी झैं व्यवहार गरेर प्रशासनले मानसिक यातना दिएको बताए । उनले भने, ‘प्रहरी प्रशासनकै कारण एक वर्ष तनावमा बिताएँ, अब प्रशासनविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गर्छु ।’

प्रकाशित : चैत्र १८, २०७७ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×