१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रधानमन्त्री ओलीको प्रश्‍न- कहाँ भयो प्रतिगमन ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चेतनालाई केहीले प्रतिगमन भयो भन्दै स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण कार्यक्रम उद्घाटनपछि ओलीले प्रतिगमनको परिभाषा नबुझ्नेले प्रतिगमन भयो भनेर जनतालाई अलमल्याएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीको प्रश्‍न- कहाँ भयो प्रतिगमन ?

‘कतिपय कराउँदै गर्छन्, म निश्चिन्त रहन आग्रह गर्छु । जनताको जागेको चेतनालाई कसैले पनि प्रतिगमन भयो भन्ने स्याल हुइयाँ मच्चाए,’ ओलीले भने, ‘कहाँ भयो प्रतिगमन ? प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो । ख्यालठट्टा हो प्रतिगमन भनेको ? यति सारो जनता अलमल्याउने ?’

कोही प्रधानमन्त्री हुन पाए त्यो क्रान्ति हुने र नभए प्रतिगमन हुने ओलीको भनाइ छ । ‘कोही शासनमा पुग्न पायो भने क्रान्ति भइहाल्ने । कोही शासनमा पुग्न पाएन भने प्रतिगमन हुन्छ ? म प्रधानमन्त्री हुन पाउनु पर्छ भनेर कुद्ने, अवैध बाटोबाट, त्यो भएन भने प्रतिगमन भयो भन्ने गरेका छन्,’ ओलीले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो सरकार प्रतिगमनको बाटोमा हिँडेको आरोप लगाएका थिए । ओलीले त्यसको खण्डन गर्दै कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संघीयता, गणतन्त्र खतरामा रहेको अभिव्यक्ति दिने गरेको बताए । ‘संविधान मासियो, च्यातियो, मिचियो, गणतन्त्र खत्तम हुने भयो । लोकतन्त्र खत्तम हुने भयो । संघीयता त ध्वस्तै पार्न आँट्यो । यस्ता खालका कुराहरु व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि अभिव्यक्ति गर्ने कुरामात्र हुन् । देश अगाडि बढ्छ, विकासको क्रम अगाडि बढ्छ । सरकारको यसैमा ध्यान छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संसद्‌ पुनःस्थापना भएपछि पनि केही नेताको तानातानले काम अघि बढ्न नसकेको बताए । ‘संसद्‌ पुनःस्थापना त भयो । न काम अगाडि बढाउन सक्छ, न केही गर्न सक्छ,’ उनले भने, ‘त्यस्तो स्थितिमा संसद् तानातानको थलो भएको छ । संसद् केही बलिया हुँ भन्नेहरुको तानातानको थलो बनाउन हुँदैन ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेससहितका नेताहरुले सरकारले संसद्‌लाई विजनेस नदिएर बदला लिन खोजेको बताएका थिए । अहिले पनि सरकारलाई काम गर्न नदिएको ओलीको भनाइ छ । ‘सरकारलाई काम गर्न अहिले पनि दिइएको छैन । हामीले अन्योल अस्थिरतामा रुमल्लिइरहने हुँदैन । हामी विकासको बाटोमा अगाडि बढ्छौं,’ उनले भने ।

प्रकाशित : चैत्र २०, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?