कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ — संसदीय समितिले बजारमा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो । समितिले चारवटै विभागका महानिर्देशकहरुलाई बैठकमा बोलाई उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

नेपाली उपभोक्ताहरुको हकहितमा केन्द्रित हुन नेपालको कानुनबमोजिम आआफ्नो सीमाभित्र रही कालोबजारी गर्नेहरुलाई निरुत्साहित गर्न र सबै सम्बन्धित विभागले संवेदनशील हुनुपर्ने देखिन्छ । वर्तमान मार्केट गभर्नेन्सको व्यवस्था नियमित अनुगमन हुनुपर्दछ,' समिति सभापति तारादेवी भट्टले भनिन्, 'डाटाहरु सुव्यवस्थित राख्न, कृतिम अभाव सिर्जना गर्नेहरुलाई कडा कारबाही गर्न आज छलफल भएबमोजिम हाम्रो प्रणाली सुधारमा केन्द्रित हुन यो समिति नेपाल सरकार र सम्बन्धित सबै विभागहरुलाई निर्देशन दिन्छ ।’

यस्तै दर्ता भए पनि नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानुनी दायराभित्र ल्याई दण्ड र जरिमानासहित कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।'

समितिले बिल बिजक लिनुपर्छ भन्ने सम्बन्धमा बढीभन्दा बढी जनचेतना फैलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ ध्यान दिनसमेत विभागहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र २०, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?